महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबारे छलफल गर्न आज पार्टीको पदाधिकारी बैठक बस्दैछ । कांग्रेसले अपराह्न ३ बजेका लागि बैठक बोलाएको छ । 

यसअघि हिजो बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्धारित मितिमा महाधिवेशन हुन नसक्ने निकर्ष निकालेको थियो । अधिवेशनका अधिकांश मितिहरु प्रभावित बनेको भन्दै यस्तो निष्कर्ष निकालेको थियो । हिजोको निर्णय पदाधिकारीहरुलाई जानकारी गराउन आज पदाधिकारी र निर्वाचन समितिको संयुक्त बैठक डाकिएको हो ।

 हिजोको बैठकको निष्कर्षबारे निर्वाचन समितिले मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउँदैछन् । आजको पदाधिकारीसँगको बैठकपछि महाधिवेशनका लागि नयाँ मिति तोकिएको समितिका संयोजक महादेवप्रसाद यादवले बताए । उनले कुनै पनि हालतमा तोकिएको समयमा महाधिवेशन हुन नसक्ने समितिको निष्कर्ष रहेको बताए । 

कांग्रेसले हालसम्म ७७ जिल्ला मध्ये ६४ जिल्लामा मात्रै वडा अधिवेशन गरेको छ । बाँकी १३ जिल्लामा अझै वडा अधिवेशन नै गरेको छैन । निर्वाचत समितिले तिहारअघि बाँकी रहेका ती वडाहरुमा अधिवेशन गर्न आग्रह गरेको छ भने कांग्रेस नेताहरु भने छठपछि मात्रै बाँकी वडा अधिवेशन गर्ने मनस्थितिमा छन् ।

कांग्रेसले गत ३० साउनमा ल्याएको कार्यतालिका अनुसार मंसिर ९ देखि १३ गतेसम्म १४औं महाधिवेशनको मिति तोकेको थियो । निर्धारित कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ–नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो ।
त्यस्र्त एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म हुनुपर्ने थियो । तर यीमध्ये धेरैजसो तालिका प्रभावित भएका छन् भने तोकिएको मितिमा महाधिवेशन गर्न सम्भव नै रहेको निर्वाचन समितिको ठहर छ ।