देशभक्तिमा कहिल्यै सम्झौता गर्दिन : सभामुख सापकोटा

देशभक्तिमा कहिल्यै सम्झौता गर्दिन : सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले अरु सबै कुरालाई गौण बनाएर आफूले देशको सेवा गरिरहेको जिकिर गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोक पुगेका उनले देशको व्यवस्था, संविधान र प्रतिनिधिसभाको रक्षाका लागि सबैभन्दा बढी समय दिएको दावी गरे ।

सभामुख सापकोटाले आफ्नो बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म २४ सै घण्टा जनताको सेवामा समर्पित हुने प्रतिबद्धता जनाए । उनले भने ‘म जनताको शीर झुक्ने कुरा कहिल्यै गर्ने छैन, देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्ने छैन, मातृभूमिका खातिर जीवनको अन्तिम घडीसम्म कसैसँग झुक्ने छैन ।’

भारतीय देशभक्त भगतसिंङको स्मरण गर्दै उनले देशभक्तिभन्दा ठूलो केही नहुने बताए । सभामुख सापकोटाले भने, ‘नेपाल आमाभन्दा ठूलो यो दुनियाँमा हाम्रा लागि केही पनि छैन ।’

दुई वर्षदेखि मुलुकले कोरोना, राजनैतिक र प्राकृतिक प्रकोप बेहोरेर ती संकट पार हुँदै गएको बताउँदै उनले अब समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिए । सभामुख सापकोटाले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा(४ मा आज फ्याफुल्ला युवा क्लबको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।