भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको हरेक पार्टीभित्र समस्या हुने गरेको भन्दै त्यस्ता समस्या समाधान माओवादी केन्द्रले गर्ने बताएका छन् ।
माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्य विनायकमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी पार्टीलाई क्रान्तिकारी रूपान्तरण गरिने बताए । उनले आगामी निर्वाचन माओवादी नै पहिलो हुने भन्दै भने, ‘देशको सबै समस्या हल गर्ने पार्टी माओवादी केन्द्र बन्दै गएको छ ।’
अध्यक्ष प्रचण्डले अरु पार्टीसँगको एकतालाई जोड दिएर जाँदा समस्या आएको चर्चा गर्दै अब आफ्नै जनमत बनाउन बैचारिक, राजनीतिक र साङ्गठानिक रुपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै पहिलाको जस्तै जनताको माया पाएर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले भने, ‘गणतन्त्र र लोकतन्त्र हाम्रो पार्टीको एजेण्डा हो, त्यहीँ एजेण्डको फाइदा अहिले अरु पार्टीले लिइरहेका छन् ।’
पछिल्लो समयमा जनताको मुद्दा उठाउने पार्टी माओवादी केन्द्रमात्रै हो भन्ने बुझेको भन्दै त्यसैले अब सङ्गठनलाई मजबुत बनाउन लाग्नुपर्ने र पार्टीलाई फेरि एक नम्बरमा ल्याउने दावी गरे ।
जनताको मुद्दा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेपनि पछिल्लो समयमा प्रतिमगन विरुद्धको आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेपछि जनताले फेरि देश र जनताको लागि लड्ने एक मात्रै पार्टी माओवादी भएको दावी गरे ।