बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार : कसको भागमा कुन मन्त्रालय ?

बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार : कसको भागमा कुन मन्त्रालय ?

काठमाडौं । लामो समयदेखि भागवण्डामा रुमलिएको सत्तारूढ गठबन्धनको मन्त्रिपरिषद्ले आगामी बिहीबारसम्म पूर्णता पाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा चार पार्टीका शीर्ष नेतृत्वबीच आज भएको एक घण्टा लामो छलफलपछि मन्त्रालयको भागवण्डा मोटामोटी टुंगोमा पु¥याएपनि मन्त्रिपरिषद् विस्तार भने हुन नसकेको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो । 

छलफलबाट मन्त्रालय भागवण्डाको मोटामोटी सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । जसअनुसार कांग्रेसले सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने छ । यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री लिइसकेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने भएको छ । यसअघि अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ । 

नेकपा (एकीकृत समाजवादी)ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ । त्यस्तै जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने भएको छ । 
आज भएको छलफलले मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन नसकेपनि बिहीबारसम्म त्यसले पूर्ण पाउने तयारी गरिएको स्रोतले बतायो ।