काठमाडौं । माओवादी केन्द्र परित्याग गरेका प्रभु साह एमालेसँग पनि रुष्ट हुन पुगेका छन् । उनी एमालेको बैठकमा बिरलै सहभागी हुन्छन्। सहभागी भए पनि हस्ताक्षर गर्दैनन्। उनले आफूलाई सार्वजनिक रूपमा एमाले नेताको हैसियतमा कतै चिनाएका छैनन्।
कुनै न कुनै खालको सहमति नगरिकन पार्टीमा बस्न नसकिने निष्कर्षमा साह पुगेका छन्। एमाले होइन पनि कसरी भन्नु मिडियाले एमाले लेखेको पनि मन पर्दैन भन्दै साहले आफूनिकटसँग गुनासो गर्ने गरेका छन्।
माओवादी परित्याग गरेका टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, गौरीशकंर चौधरीलगायतको उस्तै मत छ भने बादल यस विषयमा समेत मौन छन्। माओवादीमा रहँदा पनि बादल र उनीहरूबीच कहिल्यै पनि एक मत थिएन। माओवादीको भद्रगोल संगठनमा रहेका नेताहरू एमालेको व्यवस्थित संगठनमा घुलमिल हुन केही समय लाग्ने प्रधानमन्त्री निकट एक नेताले दाबी गरे।
'उहाँहरूको संगठनको कुनै विधि,पद्धति र नियम थिएन। एमालेमा वर्षौंदेखि चलेको एउटा संगठन छ। त्यसमा घुलमिल हुन केही समय लाग्नु स्वभाविक हो,' ती नेताले भने,'प्रभुजीको पनि त्यस्तो ठूलो असहमति केही पनि छैन। संगठनको विषयमा केही मतभेद होलान् ती सबै मिलिहाल्छ। कुनै बैठकमा हस्ताक्षर नगर्नुभएको होला। तर सबै बैठकमा हस्ताक्षर नगरेको भन्ने सत्य होइन।'
सर्वोच्चको आदेशसँगै गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा तामाङको मन्त्री पद खारेज भयो।
आफूहरूको नियुक्ति बदर भएपछि प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओली भ्याकेटमा जाने उनीहरूको आशा थियो। ओली भ्याकेटमा गएनन्। बरू उनले मन्त्रिपरिषदको विस्तार गरे। त्यहिबाट उनीसँग पूर्वमाओवादीहरु रुष्ट छन् ।