सेयर बजारमा ६३ अंकको गिरावट

सेयर बजारमा ६३ अंकको गिरावट

काठमाडौं । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजारमा दोहोरो अंकको गिरावट आएको छ।  आज बजारमा ६३.११ अंकले गिरावट आउँदा नेप्से परिसूचक २९०५.३२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.५७ अंकले घटेर ५२८.५५ को विन्दुमा झरेको छ। आज पौने १२ अर्ब बढीको सेयर किनबेच भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमा रातो पोतिएको छ। जलविद्युत समूह सर्वाधिक ३.३९ प्रतिशतले ओरालो लागेको आज बैंकिङ समूहमा १.७८ प्रतिशत, विकास बैंक समूहमा ३.३७ प्रतिशत, वित्त समूहमा ३.३३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.३८ प्रतिशत, लगानी समूहमा २.०७ प्रतिशत, जीवन बीमा समूहमा १.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.८३ प्रतिशत, अन्य समूहमा २.१५ प्रतिशत र व्यापार समूहमा २.४० प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८८.५ रुपैयाँमा किनबेच भएका छन्। यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८० करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नेपाल इन्स्योरेन्सको ४३ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोपावरको ३३ करोड ७३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २८ करोड २ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २४ करोड ६६ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको २० करोड ५१ लाख रुपैयाँ, निफ्राको २० करोड ३८ लाख रुपैयाँ, माथिल्ला तामाकोशीको १९ करोड ९० लाख रुपैयाँ, अपी पावरको १९ करोड ३८ लाख रुपैयाँ र ज्योति विकास बैंकको १९ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज गोर्खाज फाइनान्सका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन युनियन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लाग्यो। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) को पछिल्लो वक्तव्यले बजारमा प्रभाव परेको देखिन्छ। सेबोनले ‘जोखिमयुक्त’ भन्दै खुलेआम ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि यसले नकरात्मक असर परेको सेयर बजारका जानकारहरु बताउछन्।