मन्त्री मनाङेद्वारा विपक्षमा मत दिने घोषणा, फेरिने भए मुख्यमन्त्री

मन्त्री मनाङेद्वारा विपक्षमा मत दिने घोषणा, फेरिने भए मुख्यमन्त्री

पाेखरा । गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनले बहुमत पुर्‍याउने देखिएको छ। मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले कित्ता परिवर्तन गरेपछि प्रदेश सभा विघटनबाट बच्ने सम्भावना बढेको हो।

आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै छन्। त्यसको पूर्वसन्ध्यामा गुरुङ नेतृत्वकै सरकारमा खेलकुदमन्त्री रहेका मनाङेले प्रदेश सभा विघटन हुन नदिन भन्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरेका हुन्।

विश्वासको मत लिनुअघि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा समेत उनी उपस्थित भएनन्। मन्त्री मनाङेले सरकारलाई समर्थन गरेका खण्डमा विपक्षीतर्फ पनि बहुमत नपुग्ने र प्रदेश सभा नै विघटन हुने सम्भावना थियो।

किनकि संविधानको धारा १६८ उपधारा ३ अनुसार सरकारले विश्वासको मत ९बहुमत० प्राप्त गर्न नसके उपधारा ५ आकृष्ट हुने र कतै पनि बहुमत नपुगे उपधारा ७ अनुसार प्रदेश सभा नै विघटन गरी चुनाव घोषणा गर्नुपर्ने हुन्छ। तर मन्त्री मनाङेले पक्ष परिवर्तन गरेसँगै अब विपक्षतर्फ बहुमत आउने र प्रदेश सभा बच्ने सम्भावना बढेको हो।

गण्डकी प्रदेश सभाको कूल सदस्य संख्या ६० हो। यसको बहुमत ३१ हुन्छ। प्रदेश सभामा मुख्यमन्त्री गुरुङको पार्टी एमालेका जम्मा २७ सांसद छन्। सर्वोच्च अदालतको फैसलाबाट पुनर्बहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले मत दिँदा पनि उनका पक्षमा जम्मा २८ मत पुग्छ। अर्थात् बुहमत पुग्दैन।

उता विपक्षी गठबन्धनतर्फ नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसमेत), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ (कृष्ण थापा सरकारतिर) गरी कूल सांसदको संख्या ३१ हुन्छ। त्यसमा पनि सभामुखले मतदान गर्न नपाउने भएकाले ३० मत मात्र हुन्छ। तर मन्त्री मनाङले साथ दिँदा विपक्षीतर्फ ३१ मत अर्थात् बहुमत पुग्ने भएको हो।

यसरी मुख्यमन्त्री गुरुङको पद जाने र प्रदेश सभा पनि विघटन नहुने लगभग निश्चित देखिन्छ। यसअघि आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदा मतदान हुनुभन्दा एक दिनअघि पदबाट राजीनामा दिएका गुरुङ प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतामा पुनः मुख्यमन्त्री बनेका थिए।

त्यसको ३० दिनपछि उनले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। तर उनले आजै विश्वासको मत लिन लागेका हुन्।