अस्ट्रेलिया आगमनबारे गलत सूचना नदिन सञ्चार माध्यमलाई एकाको आग्रह

अस्ट्रेलिया आगमनबारे गलत सूचना नदिन सञ्चार माध्यमलाई एकाको आग्रह

सिड्नी । अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्स (एका) ले विभिन्न सञ्चार माध्यममा अस्ट्रेलियाको सीमा प्रतिवन्ध र विद्यार्थी आगमनबारे गलत सूचना दिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । केही अनलाइन सन्चारमाध्यमले भ्रामक तथा आधारविहिन समाचार प्रकाशित गरी विध्यार्थी तथा अभिभावकलाई समेत भ्रममा पारेकोको भन्दै  मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै एकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

अस्ट्रेलियाको केन्द्रीय सरकारको आधिकारीक निर्णय अनुसार विशेष परिस्थितिबाहेक आगामी सन् २०२१ को जुन १७  सम्मका लागि मात्र अस्ट्रेलिया प्रवेशमा रोक लगाएको स्पष्ट पार्दै यसबाहेक अस्ट्रेलिया प्रवेश र आगमनका सम्वन्धमा सरकारको कुनै अर्को निर्णय बाहिर नआएको बताएको छ। भ्रामक समाचारले अभिभावक तथा विद्यार्थीमा अन्यौलता छाएको एकाले जनाएको छ । 

‘अस्ट्रेलियन सरकारको आधिकारीक निर्णय नआइसकेको अवस्थामै यसको अपब्याख्या गरेर सन् २०२४ सम्म अस्ट्रेलियन बोर्डर नखुल्ने र विद्यार्थी आगमनमासमेत रोक लाग्ने जस्ता समाचार आउनुमा कुनै आधार नरहेको एकाले स्पष्ट पार्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ।

कोरोनाको मारबाट प्रभावित विश्व बिस्तारै सहज अवस्थामा जादै गर्दा अस्ट्रेलियाले पनि आफ्नो दरिलो आर्थिक श्रोतका रुपमा रहेको शैक्षिक उद्योगलाई सहजसाथ अगाडि बढाउन आवश्यक गृहकार्य गरिरहेको एकाले जनाएको छ।

स्मरण रहोस् अस्ट्रेलियाले आफ्नो जनजीवन सामान्य बनाउने क्रममा यही सोमबारदेखि बिना क्वारेन्टाईन न्युजिल्यान्डसँगको सीमा खुला गरिसकेको छ। यसै क्रममा पहिलो दिनमा १ सय २२ उडान भइसकेको छन्। यसैगरी सुरक्षीत तबरले क्वारेन्टाईन सर्त सहित अन्य मुलुकमा उड़ान थाल्ने तयारी गरेको अध्यक्ष भुपाल सिटौला र महासचिव कोमलराज पाठकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।