विद्यालय एक महिना बन्द गर्ने सरकारको तयारी

विद्यालय एक महिना बन्द गर्ने सरकारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिए ।

यसैबीच मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा सङ्क्रमण बढदै गएर असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । “अहिले सङ्क्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको छ,’ मन्त्री त्रिपाठीको भनाई थियो । उनले नेपाल भारतको मुख्य सीमा नाकामा एक हजार अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने कार्य भइरहेको जानकारी दिए ।

मन्त्री त्रिपाठीले सङ्क्रमणको दर बढ्दै गएकाले काठमाडौं उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिँदै पहिलेको भाइरसले एक जनाबाट ६ जनामा सङ्क्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा सङ्क्रमण सार्न सक्ने बताए ।