बुटवलको कोरोना अस्पतालमा उपचार गराइरहेका ३ जना  कोरोना संक्रमितको मृत्यु

बुटवलको कोरोना अस्पतालमा उपचार गराइरहेका ३ जना  कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् ।
 
तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो । तिलोत्तमाकी महिलामा चैत २१ गते कोरोना संक्रमण देखिएकोमा २३ गते अस्पताल भर्ना भएकी थिइन् । उनको सोमबार बिहान ७ :२७ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको उनले बताए ।

यस्तै अर्घाखाँचीकी महिलामा चैत २७ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९ :५० बजे मृत्यु भएका प्रवक्ता गौतमले बताए । उनमा पनि ज्वरो, दम, निमोनियाको समस्या रहेको डा गौतमले बताए ।

कपिलवस्तुका पुरुषमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ७ : १४ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए ।संक्रमित पुरुषमा मधुमेह, ज्वरो, दम, निमोनियाको समस्या रहेको उनले बताए ।