राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, बिदाईका लागि विमानस्थल पुगे प्रधानमन्त्री

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, बिदाईका लागि विमानस्थल पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने भ्रमणका लागि प्रस्थान गरेकी छन्। नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत आज बिहान ८:३० बजे उनी बङ्गलादेश उडेकी हुन्।

बंगलादेशका राष्ट्रपति मोहम्मद अबदुल हमिदको निमन्त्रणमा चैत ९ र १० गते दिने राजकीय भ्रमणका लागि चार्टड उडान मार्फत उनी केही बेरमै ढाका पुग्नेछिन्। राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयका अधिकारीहरु समेत गरी भ्रमण टोलीमा ५४ जना रहेका छन्।

राष्ट्रपतिलाई विदाई गर्न उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री इश्वर पोखरेललगायत एमाले नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

राष्ट्रपति भण्डारी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने कार्यक्रम रहेको छ। राष्ट्रपतिलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले स्वागत गर्नेछन्। राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ। त्यसपछि पश्चात् भण्डारी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्नेछिन्। सोही दिन उहाँका समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।