प्रतिनिधिसभा बैठक आज बस्दै, प्रधानमन्त्रीले पेश गर्दैछन् यस्तो प्रतिवेदन

प्रतिनिधिसभा बैठक आज बस्दै, प्रधानमन्त्रीले पेश गर्दैछन् यस्तो प्रतिवेदन

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । संघीय संसद सचिवालयले  सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानवअधिकार आयोगको आ.व. २०७६-७७ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी दिए ।

अन्य कार्यसूचीमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम (४) बमोजिम प्रतिनिधिसभा सदस्यहरुबाट प्राप्त अनुपस्थितिको सूचनाहरु स्वीकृतिका लागि बैठकमा प्रस्तुत गर्नेछन् ।

सोहीअनुसार सभामुख सापकोटाले राष्ट्रिय सभाका पूर्व सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुने कार्यसूची तय गरिएको छ । कोइराला २०५८ सालको राष्ट्रिय सभा सदस्य, २०६३ को पुनस्र्थापित प्रतिनिधिसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्य रहेका थिए।

नेपाली काँग्रेसको तर्फबाट उनी संविधानसभामा समानुपातिक सदस्य रहेका थिए । कोइरालाको चैत ४ गते राती उपचारकै क्रममा ७१ वर्षको उमेरमा निधन भएको थियो ।