राष्ट्रपतिले बाेलाएकाे सर्वदलीय बैठकमा को को भए सहभागी ?

राष्ट्रपतिले बाेलाएकाे सर्वदलीय बैठकमा को को भए सहभागी ?

काठमाडाैं । सरकार परिवर्तनलाई लिएर राजनीतिक दलहरूबीच दौडधुप जारी रहेकै वेला राष्ट्रपति भवनमा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा एमाले अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेमकिपाका सांसद प्रेम सुवाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी छन् । एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने बैठकमा सहभागी भएका छैनन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी हुन् । संसदमा रहेका सबै दलका प्रमुख नेताहरूसहित पूर्वप्रधानमन्त्रीहरूलाई बैठकमा बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न भण्डारीले दलका नेताहरूलाई बोलाएको राष्ट्रपति कार्यालयका परराष्ट्र सल्लाहकार टीका ढकालले बताए ।  बैठकमा संसदमा रहेका सबै दल र पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको छ । हाल संसदमा  एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, राप्रपा, नेमकिपा र राजमो छन् । 

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गत ५ पुसमा प्रतिनिधिसभा विघटनलाई सदर गरेपछि राष्ट्रपति भण्डारीको व्यापक आलोचना भएको थियो । उक्त विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले निर्णयलाई बदर गरेर संसद् पुनस्र्थापना गरेपछि ओली सरकार संकटमा परिरहेका वेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकी हुन्  ।