नेपालमा हालसम्म १५ लाखले लगाए कोरोनाविरुद्धको खोप

नेपालमा हालसम्म १५ लाखले लगाए कोरोनाविरुद्धको खोप

काठमाडाैं । नेपालमा हालसम्म कुल जनसंख्याको करिब पाँच प्रतिशतले कोराना भाइरसविरुद्धको खोप लगाएका छन् । दोस्रो चरणअन्तर्गत शनिबारसम्म १० लाख ३९ हजार ६ सय ५९ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुबै चरण गरेर खोप लगाउनेको संख्या १४ लाख ७८ हजार ५ सय ३८ रहेको छ । यो कुल जनसंख्याको ४ दमलब ९ प्रतिशत हो । मुलुकमा ६५ वर्षमाथिका मानिसको संख्या करिब १७ लाख ९२ हजार छ । ६५ वर्षमाथिकालाई खोप लगाइसकेपछि दोस्रो प्राथमिकताको दोस्रो चरणअन्तर्गत ५५ वर्षमाथिकालाई लगाउने प्रक्रिया शुरु गर्ने तयारी छ ।

मुलुकमा गत माघ १४ गतेदेखि खोप अभियान सुरु भएको हो । पहिलो र दोस्रो चरणमा प्राथमिकताको निर्धारित लक्ष्यको ५३ प्रतिशतले मात्रै अहिलेसम्म खोप लगाएका छन् ।

नेपालमा हालसम्म अनुदानबाट १० लाख र किनेर थप १० लाख मात्रा खोप भित्रिएको छ । कोभाक्स सुविधाअन्तर्गत थप ३ लाख ४८ हजार मात्रा खोप आएको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरिएकोमध्ये बाँकी १० लाख मात्रा खोप सोमबार आइपुग्ने बताइएको छ ।