प्रतिनिधिसभा बैठक : कांग्रेस, माओवादी र जसपा संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोधमा उभिने

प्रतिनिधिसभा बैठक : कांग्रेस, माओवादी र जसपा संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोधमा उभिने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । यसअघि गएको फागुन २३ गतेको बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलका सांसदले विरोध जनाएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो ।

यस्तै कांग्रेस, माओवादी केन्द्र र जसपालगायत दलका सांसदहरुले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै हिजो संसद सचिवालयमा विरोधको सूचना दर्ता गराएका छन् । हिउँदे अधिवेशन सुरु भएपछिको पहिलो बैठक नै प्रभावित भएकोले आजको बैठक पनि त्यस्तै हुने सम्भावना बढेको छ ।

यस्तै दलहरूबीच विवाद बढ्ने सम्भावना भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठक नबसे पनि विवरणलाई केही हेरफेर गरेर बैठकको सम्भावित सूची सार्वजनिक गरिएको छ । सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेका अनुसार अस्तिको बैठकको विषयबस्तु नै आजको बैठकको एजेण्डाको रुपमा सार्वजनिक गरिएको बताए ।