प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाउँदा झोक्किए प्रधानन्यायाधीश

प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाउँदा झोक्किए प्रधानन्यायाधीश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा बहस जारी छ। बहस सुरु भएसँगै प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीबीच सवाल जवाफ नै चल्यो। अधिवक्ता त्रिपाठीले भने, ‘प्रधानमन्त्रीले जे जस्ता कुरा गर्नुभएको छ, त्यसले अदालतको अवहेलना गरेको छ।’ त्रिपाठीले यति भन्नासाथ प्रधानन्यायाधीश जबराले बजारको कुरा सुन्ने भन्दै प्रश्न गरे। 

प्रधानन्यायधीश जबराले, ‘हामीले बजारको कुरा सुन्नेरु पूर्वहरूको कुरा पनि छ, बहालवालाको कुरा पनि छ। यी कुरा छाड्नुस् विषय वस्तुतिर प्रवेश गर्नुस्।’ सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्धका १३ थान निवेदन रहेका छन्। ती निवेदनमा पक्षका कानुन व्यवसायीले संविधानले नदिएको अधिकार प्रयोग गरी विघटन गरेको दाबी पेश गरिरहेका छन्।

निवेदकका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरुले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको दावी पेश गरेका छन्।  झण्डै तीन सय अधिवक्ताहरूले बहसका लागि निवेदन दिएका छन्। त्यसैगरी, सर्वोच्च बार  र नेपाल बार एशोसियसनबाट मगाइएका पाँच जना एमिकस क्युरी र महान्यायाधिवक्ता अग्नि खरेलले पनि बहस गर्नेछन्।