नयाँ प्रकारको कोरोना भाइरसका कारण २०२१ झन् कठिन हुने डब्लुएचओको चेतावनी

नयाँ प्रकारको कोरोना भाइरसका कारण २०२१ झन् कठिन हुने डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले नयाँ प्रकारको कोरोना भाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ । कोरोना भाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै संक्रामक रहेको विवरणका बीच डब्लुएचओको यस्तो चेतावनी आएको हो ।

उच्च संक्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ । सुरुमा बेलायतमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने क्षमता रहेको छ । जापानमा पत्ता लगाएको अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपेको छ । जापानमा चारजनामा त्यस्तो किसिमको भाइरसको संक्रमण पहिचान भएको छ । ती मानिसहरू ब्रजिलमा संक्रमित भएको बताइएको छ ।

स्पेनमा पनि भाइरसको नयाँ प्रकार देखिएको बताइएको छ । नयाँ प्रकारको भाइरसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ । साथै यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ ।

साथै प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही परिवर्तनले मानवको शरीरमा हुने कोषमा संक्रमण गराउन भाइरसलाई थप सहज हुने समेत देखिएको छ । विज्ञहरुले हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने बताएका छन ।