काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताएका छन् ।
प्रतिनिधिसभाको विघटनको भोलिपल्ट आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष ओलीले निर्वाचनपछि नै राष्ट्रिय राजनीतिलाई विसङ्गत र अस्थिर बनाउने काम भएको र जनअपेक्षानुरुप सरकारले काम गर्न थाले पनि केही नेताहरुले निरन्तर अस्थिरताका लागि प्रयास गरेको आरोप लगाए ।
नेकपाका अध्यक्ष ओलीले विपक्षी नेतालाई पनि उछिनेर आफ्नो पार्टीभित्रका केही नेताहरु पद र प्रतिष्ठामा मात्र केन्द्रित रहेको पनि जिकिर गरे ।
जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनतासमक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृतिम न्यारेटिभ खडा गर्ने प्रयास भएको पनि बताए । ‘अप्ठेरोमा जनतासमक्ष जानुलाई निरंकुश कदम भन्ने न्यारेटिभ चलाइएको छ, त्यो गलत छ’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘जनताले जुन आदेश दिएर पठाएका थिए, त्यसलाई पूरा गर्न अवरोध खडा गरेपछि जनतामा जानु उच्च लोकतान्त्रिक कदम हो ।’
उनले सरकार गठन भएको केही समयदेखि नै मुलुकलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने हरेक कदममा ब्यक्तिगत स्वार्थ तेस्र्याएर पाइला छेक्ने प्रयास भएको बताए । ‘एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए, कुनै बैठकमा पनि देश, जनतासँग सम्बन्धित विषयमा छलफल गर्न उहाँहरु कहिल्यै राजी हुनु भएन, मेरा मान्छेलाई खोई, मलाई खोई, उधारो होइन हाताहाती चाहिन्छ भन्ने उहाँहरुको स्वार्थपूर्तिले घेरिनु पर्यो’ प्रधानमन्त्री ओलीले भने, ‘जस्तोसुकै दुश्प्रचारको सहारा लिए पनि जनताले यो कुरा बुझेका छन् ।’
प्रधानमन्त्री ओलीले लामो समयदेखि लथालिङ्ग रहेको मुलुकको अवस्था सुधार्न गरिएका कामहरुलाई ओझेलल पार्न तिनै बेथितिका झिल्काहरु टिपेर मुलुक बर्बाद भएको भन्दै दुश्प्रचार भइरहेको बताए । ‘साढे दुई वर्षमा यतिधेरै अवरोधका बीच पनि विकास र समृद्धिका सुस्पष्ट योजनासाथ अघि बढ्यौं र यसमा सफलता पनि पाएका छौं । वर्षौंदेखि पछौटे रहेको देश एकै पटक बनिसकेको हुँदैन, त्यही क्रममा बेथितिका झिल्का देखाएर केही नगरेको भन्ने प्रचारबाजी भए,’ प्रधानमन्त्रीले भने, ‘सरकारले के गरिरहेको छ र त्यसलाई बदनाम गर्न के प्रचार भइरहेको छ जनताले बुझेका छन् ।’
प्रधानमन्त्री ओलीले बिघटित प्रतिनिधिसभाका सदस्यहरुलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन दिनु भयो । ‘तपाईंहरु अब निर्वाचन क्षेत्र जानुहोस्, हामीले गरेका अभूतपूर्व कामहरुलाई रोक्न भएका षडयन्त्रबारे जनतालाई बुझाउनुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘कसले काम गर्यो, कसले काम गर्न अवरोध गरेर षडयन्त्र तिकडम मात्र गर्यो, जनतालाई बुझाउनु पर्छ ।’