राष्ट्रपतिलाई महाभियोग र प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन माग

राष्ट्रपतिलाई महाभियोग र प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन माग

काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपतिको भूमिका विवादास्पद भएको भन्दै उनलाई महाभियोग लगाउन माग गरेको छ ।  अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै संवैधानिक राष्ट्रपति प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकको जस्तो देखिएको भन्दै राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका छन् ।

प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला प्रधानमन्त्री केपी ओलीले अध्यादेश ल्याएर एकलौटी ढंगबाट अघि बढ्न खोजेको भन्दै तरुण दलले विरोध जनाएको हो । तरुणदलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग र प्रधानमन्त्री  ओलीलाई अविश्वास प्रस्ताव ल्याएर हटाउनु पर्ने बताएको छ । 

उपसभामुख पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अलोकतान्त्रिक, संविधानको मर्म र भावनाविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै तरुण दलले अध्यादेश फिर्ता लिन र अध्यादेशका आधारमा कुनै निर्णय नगर्न पनि सरकारलाई सचेत गराएको छ ।