भुपाल सिटौलाको अध्यक्षतामा 'एका'को नयाँ कार्यसमिति चयन

भुपाल सिटौलाको अध्यक्षतामा 'एका'को नयाँ कार्यसमिति चयन

मेल्बर्न । अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स अलायन्स (एका)को अधिवेशनले भुपाल सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । डिसेम्बर १० मा भएको अधिवेशनले विभिन्न प्रतिवेदनहरू पारित गर्नुका साथै दुई वर्षको लागि नयाँ कार्यसमिति पनि गठन गरेको हो । 

नयाँ कार्यसमितिको उपाअध्यक्षमा राम चन्द्र पौडल, मोहन ढुंगाना र आषिश भण्डारी, महासचिवमा कोमल पाठक, सहसचिवमा दिनेश खनाल र जनसम्पर्क अधिकृतमा चुडामणी सिलवाल निर्वाचित भएका छन्। त्यस्तै कोषाध्यक्षमा योगेन्द्र पौडल र सदस्यहरूमा सूर्य खनाल, भुमी सुबेदी, सृष्टी शाह, भुवनहरी पाण्डे र बिकाश भुजेल रहेका छन् । 

निर्वाचन आयुक्त भवानी ओली र बद्री अर्याल र संजीव पाण्डे सदस्य रहेको समितिले नव निर्वाचित पदाधिकारीहरुको नाम सार्वजनिक गरेको थियो । नवनिर्वाचित अध्यक्ष भुपाल सिटौलाले आफूलाई अध्यक्ष पदमा निर्वाचित गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै संस्थाको उद्देश्यप्राप्तिमा नयाँ कार्यसमिति लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

त्यसैगरी एकाका पूर्वअध्यक्ष पर्शुराम अधिकारिले  यसअघि पनि जिम्मेवारीमा रहिसकेका सिटौलाको नेतृत्व  संस्थाले थप उचाइ चुम्नेमा आफू विश्वस्त रहेको बताए ।