सरकारको लोकप्रियता देखेर आत्तिएकाहरुले सरकार परिवर्तनको हल्ला फैलाए : प्रधानमन्त्री ओली

सरकारको लोकप्रियता देखेर आत्तिएकाहरुले सरकार परिवर्तनको हल्ला फैलाए : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे ।

फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमवार उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरूपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए ।

‘हामी समृद्धिका लागि अघि बढिरहेका छौं । तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो,’ प्रधानमन्त्री ओलीले भने । अर्को प्रसंगमा उनले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको बताए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो । 

उनले घुन्सा जस्तो दुर्गम गाउँ आगामी ३ वर्षमा नै सुगममा परिणत हुने बताउँदै यस क्षेत्रको विकासका लागि यातायातलगायत पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता सुवास नेम्बाङ लगायतको सहभागिता थियो ।