कोरोना जोखिम नभएका क्षेत्रमा विद्यालय खोलिने

कोरोना जोखिम नभएका क्षेत्रमा विद्यालय खोलिने

काठमाडौं । सरकारले कोरोनाको जोखिम कम भएका क्षेत्रहरूमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थीहरूले पठनपाठनबाट वञ्चित हुनुपरेकाले सरकार विद्यालय सञ्‍चालनको तयारीमा जुटेको हो।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्,‘लामो समयदेखि विद्यालय बन्द अवस्थामै छन्। यातायात, होटललगायत खुल्दै आएका छन्। त्यसैले अब कोरोनाको कम जोखिम भएका ठाउँको विद्यालय सञ्चालन गर्न दिने तयारी सरकारले थालेको छ।’

उनका अनुसार विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरूपमा लागू गर्नुपर्ने छ। ‘भिडभाड गर्न पाइने छैन,’उनले भने,‘मास्क,सेनिटाइजर सबैको प्रयोग गर्नुपर्ने छ। सामाजिक दूरी अनिवार्य कायम गर्नुपर्ने छ।’

स्कुल सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्य सजकता अपनाउने मुख्य जिम्मा विद्यालयको रहने उनले बताए। कोभिड–१९ का कारण चैतयता विद्यालय र विश्वविद्यालयहरू सञ्चालनमा आउन सकेको छैनन्।

सञ्चालनमा आएका विद्यालय पनि बन्द भएका छन्। जसले गर्दा विद्यार्थीले भौतिक उपस्थितमा पढ्न पाएका छैनन्। सरकारले वैकल्पिक प्रणालीबाट शिक्षणसिकाइ अगाडि बढाए पनि प्रभावकारी हुन सकेको छैन।