उजुरीकर्ता नआएपछि प्रस्तावित राजदूत खतिवडा र रेग्मीको सुनवाइ सर्यो

उजुरीकर्ता नआएपछि प्रस्तावित राजदूत खतिवडा र रेग्मीको सुनवाइ सर्यो

काठमाडौं । अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि आगामी २७ गते सुनुवाइ गर्ने संसदीय सुनुवाइ समितिले निर्णय गरेको छ । गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाए पनि उनीहरु उपस्थित नभएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । उजुरीकर्तालाई पटक पटक फोन गरेर सूचित गर्दा र गोरखापत्रमा सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिए पनि उनीहरु नआएको सभापति कर्णले बताए ।

संसदीय सुनुवाइ समितिका अनुसार खतिवडाविरुद्ध ३ वटा र रेग्मीविरुद्ध एउटा उजुरी तोकिएको समयभित्र परेका थिए । अर्को एउटा उजुरी तोकिएको समयपछि मात्र आएको थियो । तर उजुरीकर्ताहरु सम्पर्कविहीन थिए ।

यसअघि उजुरीकर्ता सम्पर्कमा नआएपछि समितिले यही कात्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर सम्पर्कमा आउन भनेको थियो । तर आज समितिको बैठकमा पनि उजुरीकर्ता सम्पर्कमा नआएपछि २७ गतेको बैठकमा प्रस्तावित राजदूतहरुमाथि सुनुवाइ हुने निर्णय बैठकले गरेको छ ।

राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।