सरकारले कोरोना संक्रमितको उपचार नगर्ने बताएपछि माधव नेपालले निकाले कडा विज्ञप्ति

सरकारले कोरोना संक्रमितको उपचार नगर्ने बताएपछि माधव नेपालले निकाले कडा विज्ञप्ति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको उनले बताए । मंगलबार विज्ञप्ति जारी गर्दै नेता नेपालले कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन् ।

'संक्रामक रोगसम्बन्धी  विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु', नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  


मुलुक कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् ।

संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो । संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।

माधवकुमार नेपाल
पूर्वप्रधानन्त्री तथा वरिष्ठ नेता
नेकपा