काठमाडौं । प्रदेश ५ को प्रदेशसभाले प्रदेशको नाम लुम्बिनी कायम गरेको छ। प्रदेशसभामा मंगलबार भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएपछि प्रदेशको नाम लुम्बिनी कायम भएको हो। प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्तावका पक्षमा ७९ मत परेको थियो। विपक्षमा ४ मत परेको थियो।
प्रदेश ५ का ८७ सांसदमध्ये ८३ जना मतदानमा सहभागी थिए। यसअघि भएको मतदानले प्रदेशको राजधानी दाङको देउखुरीलाई कायम गरेको थियो। मंगलबार नै प्रदेशसभाको बैठकले प्रदेशको राजधानी देउखुरी बनाउने प्रस्ताव पारित गरेको हो।
प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावका पक्षमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो। प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।