कथा

सासू-बुहारी

सासू-बुहारी

असियाको घरमा बुहारी आएदेखि असियालाई छोरो जितु उनीभन्दा टाढा भएको अनुभव हुन्छ । पहिला छोरो नुहाएर आएपछि असियाले जितुको कपालमा नरिवल तेल घसिदिन्थन् । अब ठ्याक्कै उल्टो भएको छ । छोरोको जिम्मा बुहारी जमुनाले लिएकी छिन् । जितुको कपालमा तेल घस्नेदेखि मालिस गर्ने काम पनि जमुनाले गर्छिन् । जितु सधैँ आमा असियाले पकाएको आलु दमको प्रशंसा गर्थे । आजभोलि स्वास्नी जमुनाले पकाएको आलु दम उनलाई मिठो लाग्छ । जमुना बिहानदेखि गुइँठा बनाउने काममा व्यस्त थिइन् ।

असिया भात पकाइन् आज । आलु दम, भेन्टाको तरुवा र पोरो सागको भुजिया । खाना खानेवेलामा जितुले भने, ‘छि ! आमाले कस्तो पिरो पकाउनुहुन्छ । म खानै सक्दिनँ ।’ जमुनातिर हेर्दै उनी फेरि थप्छन्, ‘तैँले किन खाना पकाइनस् आज ?’ जितुको कुरा सुनेर असिया सारै दुखि भइन् । आमाले पकाएको त्यही खाना पहिला जितुलाई मिठो लाग्थ्यो तर अब उनलाई जमुनाको हातको खाना मात्र मिठो लाग्न थालेको छ । छोरोको कुरा सुनेर असिया उदास भइन् । तर जमुना जितुको कुरा सुनेर खुसी भइन् ।

बेलुकी असियासँग बसेर सधैँ घर व्यवहारको कुरा गर्ने जितु बिहे भएदेखि बेलुकीको खाना खाएर सुत्न कोठामा जान हतारिएका हुन्छन् । पहिला जस्तो जितु आफूसँग कुरा नगरेको देखेर असिया सारै उदास हुन्छिन् । उनलाई छोरोको व्यवहार मन पर्दैन् । उनलाई बुहारीदेखि रिस उठ्छ तर भन्न सक्दिननँ । जतिखेर पनि काममा व्यस्त राख्न चाहन्छिन् बुहारीलाई । भोलिपल्ट बेलुकी जब जमुनाले सासूलाई सोध्न आइन्, ‘आमा, आज बेलुकीको खानामा के पकाऊँ ?’ असिया बोल्नुभन्दा अगाडि नन्द रुबिले, ‘मलाई समोसा खान मन लागिरहेको छ’ भनिन् । देवर चतुरले, ‘मलाई दही र रोटी खान मन लागिरहेको छ’ भने । जितुले, ‘मलाई आलुको भुजिया र भुजा (खट्टे) खान मन लागिरहेको छ’ भने । असियाले, ‘मलाई रुघा लाग्ला जस्तै भइरहेको छ । नाकबाट पानी बगिरहेको छ । अदुवा हालेर परेवाको मासुको पिरो झोल र भात खान मन लागिरहेको छ ।’ भन्दै असियाले बुहारी जमुनालाई अराइन्, ‘जसलाई जे खान मन लागेको छ त्यही पकाई दे न ।’

कति सजिलै उनले बुहारीलाई अराइन् । जमुना उनको घरमा काम गर्ने भान्से हुन् जस्तो । जमुना केही बोलिनन् तर कुरा सुनेर भान्सा घर छिर्दै रिसले अनुहार कालो, निलो परिन् । असिया छोरीलाई अराउँदै भनिन्, ‘रुबि जा, टोङमा (परेवा राख्ने काठको घर) हेर् त । परेवाको बच्चा छ भने एकजोर लिएर आ ।’ रुबिले असियालाई जवाफ फर्काइन्, ‘मलाई अल्छी लाग्छ मासु पकाउन । कसले मासु पकाउँछ, आमा ?’ असियाले रुबिलाई निर्धक्क जवाफ दिइन्, ‘ तेरो भाउजूले पकाउँछे । जा खुरुक्क परेवा झिकेर ल्या ।’ रुबि परेवा ल्याउन गइन् । सबैले अराएको काम गर्न जमुना तयार भइन् । उनलाई सबैले आफ्नो इच्छा लागेको खानेकुराको नाम बताए । पकाउन पनि अराए तर तँलाई के खान मन लागेको छ भनेर कसैले उनलाई सोधेनन् । उनको पनि थरि थरिको खाना खाने इच्छा हुँदो हो तर उनले सबै इच्छा मारेर अरुको इच्छा पूरा गर्न तयार भइन् । बुहारीको कर्तव्य पूरा गर्ने चक्करमा उनले आफ्ना सबै चाहनालाई बली चढाइन् । उनी बोल्न पनि सकिनन् । बोले भने बुहारी मुखमुखै लाग्छे भन्ने कुरा सुन्न नपरोस् भनेर उनी चुप लागिन् तर मनमनै भनिन्, कस्तो संस्कारै नसिकाइएका नन्द र देवर । जतिखेर पनि प्याच्चप्याच्च बोल्छन् । मलाई मनै पर्दैन यस्ता बोल्ने मान्छेहरु ।

उनी राति देवरको लागि रोटी, लोग्नेको लागि भुजा र आलुको भुजिया, नन्दको लागि समोसाको सट्टा आलुको चोखा र सासूको लागि भात र परेवाको पिरो मासु पकाइन् । आफ्ना लागि छुट्टै केही पकाइनन् । सबैको लागि परिकारहरु पकाउँदा दिक्क लागेर उनले सासूको लागि पकाउन लागेको भातमा बढी चामल थपेर आफ्नो लागि पनि भात पकाइन् । सबैजनाले राति आफूले खान खोजेको खानाको परिकार आफ्नो अगाडि देखेर खुसी हुँदै खाए । नन्द, देवर र लोग्ने आफ्नो मन परेको खाना खाएर पनि भात र मासु थपिथपि खाए ।

जब जमुना खान गइन् उनको भागमा थोरै भात थियो । आधा डाँडु आलुको भुजिया र दुईओटा परेवाको चोक्टा र थोरै झोल बाँकी थियो । सबैजना खाना खाएर टिभी हेर्न व्यस्त भए । उनलाई पुग्ने खाना छ कि छैन भनेर कसैले एकपटक भान्सामा हेर्न आएनन् । आफ्नो पेट भरेको मान्छेले सबैको पेट भरेको ठान्छ । सबैको पेट भरिएको हुनाले भोकै खाना पकाएकी जमुनाको पेट पनि भरिएकै होला ठानेर कसैले उनको भोकको वास्ता गरेनन् । उनी एक्लै भान्सामा भात खान बसिन् । भात छ, सात गास मात्र भयो । उनको पेट भरेन् । उनलाई अझैँ मासु, भात खाने इच्छा भइरहेको थियो तर माइतीमा आमालाई खानाको लागि झगडा गरे जस्तो सासू, नन्द र देवरसँग झगडा गर्न सकिनन् ।

भान्सामा धमामा (काँसले बनाइएको टोकरी) चिउरा थियो । उनले दुई, मुठ्ठी चिउरा थालमा हालिन् । नुन र खुर्सानीको धुलो हालेर चिउरामा पानी हालेर मुसिन् । मुसेको चिउरा खान थालिन् । चिउरा खाँदै गर्दा उनको आँखा आँसुले भरिए । तन र मन लगाएर खाना पकाएकी थिइन् तर पकाउने मान्छेले खाना खाइन् कि खाइनन् भनेर कोही हेर्न आएनन् । उनी सारीको सप्कोले आँसु पुछ्दै नुन चिउरा खाइन् । खाइसकेपछि लोटाको पानी पिइन् । उनको पेट बल्ल भरियो । पेट भरिएपछि उनको मन शान्त भयो । मन शान्त भएपछि आँखाको आँसु पनि सुक्दै गयो । उनी सबै कुरा बिर्सिन् । भाँडा माझेर सुत्न गइन् ।

सुत्ने वेलामा लोग्नेलाई भनिन्, ‘भात नपुगेर मेरो पेट नै भरेन ।’ उनको कुरा सुनेर जितु मोबाइल चलाउँदै वेवास्ता गर्दै जवाफ फर्काए, ‘जा भान्सामा जे छ त्यही खा ।’ कति सजिलो जवाफ थियो, भान्सामा जे छ त्यही खा । उनले भान्सामा पकाएर राखिदिए जस्तो । जमुनाले जवाफ फर्काइन्, ‘मैले चिउरा खाइसके ।’ जितुले, ‘अब सुत् ।’ भनेर जमुनालाई भने र आफू सुते । जमुनाको भोक लाग्ने पेट र अनुभूति गर्न सक्ने मन नै नभए जस्तो । जितु एकछिनमै घुर्दै निदाए ।

बिहान असियालाई सन्चो हुनुको सट्टा झनै रुघा बल्झियो । उनलाई ज्वरो आएको थियो । जमुनाको देवर चतुर एक आरी लुगा सरफमा बोरेर धुनको लागि पम्पमा राखेका थिए । चतुर असियालाई, ‘आमा मेरो लुगा धोइदिनु है । म बजारतिर घुम्न जानु छ ।’ भन्दै बजारतिर घुम्न गए । असियाले जमुनालाई अराउँदै भनिन्, ‘मलाई ज्वरो लागेको छ । म धुन सक्दिनँ । बुहारी जा त्यो केटोको लुगा धोइ दे ।’ उताबाट जितुले ‘मेरो गोडा कस्तो दुखिराछ मिचिदिनु न आमा ।’ भनेर असियालाई भने । उनको कुरा सुनेर असियाले भनिन्, ‘बुहारीले मिचिदिन्छे । मलाई सन्चो छैन् ।’ उताबाट रुबिले ‘बारीमा गोबरको थुप्रो लागिसकेको छ । गुइँठा कहिले बनाउँनुहुन्छ आमा ।’ भनेर असियालाई भनिन् । रुबिको जवाफमा असियाले, ‘ त्यो केटोको लुगा धोएर तेरो भाउजू गुइँठा बनाउन जान्छे ।’ असियाको कुरा सुनेर जमुना मनमनै रिसाइन् । भित्रभित्रै मुखको दाँत किटकिटाइन् । अनुहार रिसले कालो, निलो पारिन् तर जवाफ फर्काउन सकिनन् । उनलाई लाग्यो उनी घरको काम गर्न मात्र राखिएकी गुलाम हुन् । उनी त्यो घरकी बुहारी हुँदै होइनन् । जसले नि चारैतिरबाट जतिखेर पनि उनलाई काम अराउन सक्थे । उनी मनमनै सिसाउँदै देवरको लुगा धोइन् । लुगा धोएर लोग्नेको गोडा मिचिदिइन् । त्यसपछि गुइँठा बनाउँन गइनँ । गुइठा बनाएर फर्किँदा झमक्क साँझ परिसकेको थियो । घर, आँगनको सबै काम गर्न बाँकी थियो । उनी दिनभरि काममा व्यस्त भएकीले उनलाई असाध्यै भोक लागिरहेको थियो तर उनी घर, आँगनको काम लथालिङ्ग देखेर खानुको सट्टा आँगन बढार्न व्यस्त भइन् । भोक बिर्सिन् । सासू, नन्द , देवर र लोग्ने उनलाई सबैले काम अराउँथे तर उनलाई कसैले सोध्दैनथे, ‘थकाइ लागेको छ भने आराम गर् । भोक लागेको छ भने खा ।’

। असियालाई दुल्की (तपनी) ज्वरो आएको थियो । । थारु महिलाहरुको विशेष चाड जितिया आइसकेको थियो । रुबि मामाघर जितिया गर्न गइन् । तर सासूलाई सन्चो नभएको कारण घरमा काम गर्ने मान्छे कोही नभएर जमुना जितिया गर्न माइती गइनन् । जितिया गर्न माइतीबाट लिन आएका भाइलाई जमुना रित्तै हात फर्काइन् । उनी असियाको हेरचाह गर्न व्यस्त भइन् । भात पकाएर जमुना सासूलाई खाना खुवाएर औषधी खुवाइन् । औषधी खुवाएर खुट्टामा मालिस गर्दै असियाको छेउमा बसिरहिन् । दिनभरि निधार र गोडा मालिस गर्दै बिरामी सासूको सेवा गरिरहिन् ।

एक हप्तादेखि जमुना एक्लै घर र बाहिरको काम र ज्वरो लागेको सासूको हेरचाह गरिरहेकी थिइन् । काम गर्दागर्दा ज्वरो आउला जस्तै जमुनाको हात, खुट्टा कटकटी दुुखिरहेको थियो तर कसैलाई केही भनिनन् । एक्लै धेरै काम गरेर हात खुट्टा दुखेकाले उनी सासूको गोडा मालिस गर्न छोडिन् । दुई दिन भइसकेको थियो उनले असियाको गोडामा मालिस गरिदिएकी थिइनन् ।

असिलाई मालिस गराउँन मन लागिरहेको थियो । दुई दिनदेखि मालिस नगरिदिएको देखेर असियाले जमुनालाई भनिन्, ‘खुट्टा दुखिरहेको छ मेरो । मालिस गरी दे बुहारी ।’ कहिले जवाफ नफर्काउने जमुना सासूको कुरा सुनेर अचानक जवाफ फर्काइन्, ‘मेरो हात, खुट्टा दुखिरहेको छ आमा । म मालिस गर्न सक्दिनँ । हजुरलाई मालिस गर्दा गर्दा मलाई नै ज्वरो आउला जस्तो भइसकेको छ ।’ त्यति भनेर जमुना आफ्नो कोठा गइन् । उनकी बुहारी उनलाई धेरै हेरचाह गरुन, यस्तो वेलामा सधैँ तेल लगाएर उनको गोडा मिचिदिऊन्, दुई शब्द मिठो बोलिदिऊन् भन्ने असिया चाहन्थिन् तर आफूले आसा गरेको जस्तै स्याहार बुहारीलाई पनि गर्नुपर्छ भनेर एकपटक सोचिनन् । बुहारीबाट स्याहार नपाउँदा असियाका आँखाबाट आँसु बग्न थाल्यो । बुहारी मुखमुखै लागेको, अटेर गरेको र नटेरेको देखेर असिया रिसाइन् । रिसले उनको आँखामा आँसु आयो । उनी एक्लै रुँदै आँसु पुछिन् । उनी छोरी रुबिलाई सम्झिन् । रुबि मुखमुखै लागे पनि उनलाई बुहारी भन्दा छोरी प्यारी र स्निग्ध लागिन् । उनले मनमनै सम्झिन्, रुबि मामाघर नगइदिएकी भए मलाई मालिस् गरिदिन्थिन् । मेरो छेउमा बसिरहन्थिन् । निधार मिचिदिन्थिन् । मलाई जे खान मन लागेको कुरा पकाइदिन्थिन् । उनी छोरीलाई सम्झेर रोइन् । तर बुहारीले गरेको स्याहार उनले एकपटक देखिनन् । सम्झिन पनि खोजिनन् । जमुना उनकै लागि जितिया गर्न समेत माइती नगएको पिडा उनले अनुभव गर्न सकिनन् । उनी जमुनाको आमा बनेर जमुनाको मन बुझेकी भए उनलाई रुबिभन्दा बढी हेरचाह जमुनाले गरेकी देख्थिन् तर यहाँ उनी रुबिकी आमा र जमुनाकी सासू बनेर सोच्दै थिइन् । त्यसैले उनले जमुनालाई छोरी होइन बुहारीको रुपमा देखिन् ।

बेलुकी जितु खेतबाट फर्किँदा असियाको निधार छामेर, ‘दबाइ खानुभो ?’ भनेर सोधे । ‘खाएँ’ भनेर असिया टाउको मात्र हल्लाइन् । टाउको हल्लाएपछि जितु त्यहाँबाट गए । असियाको चाहना थियो बुहारी आफ्नो छेउमा नबसे पनि छोरो बसोस् तर उनको छेउमा छोरो पनि बसेनन् । उनी निरास भइन् । छोरो, बुहारी कोही पनि आफ्ना हुँदा रहेनछन् भनेर उनका आँखा भावनामा बगेर फेरि रसाए । उता जमुनाको टाउको सारै दुखिरहेको थियो । दुःख परेको वेलामा आमालाई सबैले सम्झन्छन् जमुनाले पनि सम्झिन्, ‘आमा, आमा ... मर्न लागेको छु टाउको दुखेर ।’ भन्दै उनी सकिनसकि आफैँले भिक्स लगाइन् । भिक्स लगाउँदै भनिन्, ‘हे भगवान् यस्तो दुख दिनुभन्दा मृत्यु देऊ ।’ जितु जमुनाको जिउ छाम्दै ज्वरो आएको छ भन्दै निधारमा भिक्स दलिदिएर सिटामोल खुवाएर उनलाई जवरजस्ती सुत्न लगाए । बिहान उठ्दा जमुनाको ज्वरो सन्चो भइसकेको थियो तर सधैँझै उनी फेरि दिनभरि घरको काममा व्यस्त भइन् । असिया एक हप्तापछि पूर्ण रुपमा निको भइन् ।

एक महिनापछि जमुनालाई पखाला लाग्यो । जमुना दिनभरि पखाला गर्दा गर्दा कमजोर भइसकेकी थिइन् । उनलाई सन्चो नहुँदा घरमा मिठो खाना पाकेन । दाल, भात र आलुको सनुवा (बेक्रा सहित आलुको झोल) रुबिले रिसाउँदै भाँडाकुडामा रिस पोख्दै पकाइन् । जमुनाको लागि विशेष खालको जाउलो पाकेन । सबैले खाने भात नै उनको लागि पनि पाक्यो । उनले त्यही भातमा नुन र पानी मुछेर खाइन । दिनभरि जीवनजल पिइन् । उनी उठ बस गर्ने अवस्थामा थिइनन् । असिया भान्साको काममा व्यस्त हुन्थिन् । जमुना धेरै कमजोर भइसकेकीले उनको खुट्टा दुख्थ्यो । सासूले तेल खुट्टामा घसिदिऊन्, छेउमा बसिराखून् र धेरै हेरचाह गरुन् भनेर जमुनालाई लाग्थ्यो तर असिया भान्सा र खेतको काममा व्यस्त भएकीले उनले जमुनाको हेरचाह गर्न सकेकी थिइनन् । त्यसमाथि जमुना बुहारी थिइन् । जमुना आफ्नो माइती र आमालाई धेरै सम्झिन्थिन् । उनलाई सासू आफ्नी आमा जस्तो लाग्दैन्थ्यो । उनलाई आमाजस्तो माया सासूले नगरेको देखेर उनी आमालाई धेरै सम्झिन्थिन् । उनी भित्रभित्रै आमालाई सम्झेर रुन्थिन् ।

दिउँसो असिया खाना लिएर जमुनाको कोठा जाँदा जमुना रोइरहेकी थिइन् । जमुना रोेएको देखेर उनले जमुनालाई सोधिन्, ‘किन रोएकी बुहारी ? के भयो तँलाई भन् ?’ जमुनाले जवाफ फर्काइन्, ‘खुट्टा दुखिरहेको छ ।’ जमुनाको कुरा सुनेर असिया आफूलाई ज्वरो लागेको वेलाको कुरा सम्झिन् । जमुनाले उनको सेवा, हेरचाह र दिनभरि उनलाई रुगेर बसेको कुरा सम्झिन् । उनी पनि आमा थिइन् । आज, उनी सासूको होइन आमाको भावनामा बगिन् । उनी बुहारीलाई निरास बनाउन खोजिनन् । उनी जमुनाको अनुहारमा हेरिन् । उनले जमुनाको जिउ कमजोर र सुख्खा अनुहार देखिन् । उनी जमुनालाई बुहारी होइन छोरी देखिन् ।

असिया भान्साबाट तेल ल्याइन् । तेल घस्दै असिया जमुनाको हात, गोडा र जिउमा मालिस गर्न थालिन् । उनको छेउमा दिनभरि बसिरहिन् । बेलुकी असियाले रुबिलाई जाउलो पकाउन अराइन् । जमुनालाई आफ्नो हातले जाउलो खुवाइन् । असिया जमुनाको अनुहारमा हेरिन् उनलाई जमुनाको अनुहार निर्दोष लाग्यो । जमुनाको अनुहारमा आमाको मायाको खाँचो उनले छर्लङ्ग देखिन् । उनी बुहारीको अनुहार पढिन् । बुहारीको भावना बुझिन् । उनको त्याग सम्झिन् । उनी जमुनालाई आफ्नी छोरी रुबिजस्तै देखिन् । अर्को दिन पनि जमुनाको छेउमा बसेर असिया उनको कपाल र निधार दिनभरि सुम्सुम्याइरहिन् । जमुनालाई सासूको स्याहार र हेरचाह आमाको जस्तै लाग्यो । उनले आमालाई बिर्सिन् । सासूमा आमाको रुप देखिन् । जमुनालाई राम्ररी सन्चो नभएसम्म असियाया घरको सबै काम आफैँ गर्न थालिन् । जमुनाको पनि छोरी जस्तै हेरचाह गर्न थालिन् । जमुनाको लुगा धुनेदेखि नुहाइधुवाइ दिन समेत सहयोग गर्न थालिन् । असियाको हेरचाहले जमुना चाँडै निको भइन् ।

एक महिनापछि असियाको पाखुरा दुख्न थाल्यो । त्यतिवेला जमुना असियालाई सासू होइन आमा सम्झेर असियाको हेरचाह गर्न थालिन् । असियाले आफ्नो हेरचाह गरेको सम्झेर जमुना असियाको पाखुरा बिहान, बेलुकी मालिस् गरिदिन्थिन् । गह्रौं सामान उचाल्न दिँदैनथिइन् । बिहान, बेलुकी सधैँ असियाको छेउमा बस्थिन् । छोरी जस्तै व्यवहार असिया जमुनालाई गर्न थालिन् । सासू, बुहारी घरको सबै कुरा सधैँ एकअर्कासँग साटासाट गर्न थाले । असिया छोरी रुबिलाई र छोराहरुलाई आफ्नो काम आफै गर् भनेर अराउन थालिन् । जमुनालाई दवाव दिँदै काम अराउँन छोडिन् । सक्ने जति काम मात्र जमुनाले गर्थिन् । थकाइ लागेको वेलामा असिया बुहारीलाई आराम गर्न अराउँथिन् । भोक लागेको वेलामा खाना खान भन्थिन् । असिया घरको काम गर्न जमुनालाई सघाउँथिन् । सबैजना साँगै खाना खान बस्थे । खाना बढी भएको खण्डमा बासी राख्छन् वा बाख्रा र कुकुरलाई खुवाउँथे । खाना थोरै भएको खण्डमा सबै जना बाँडीचुडी खान्थे ।

खाना खाइसकेपछि प्रत्येक दिन जितु र जमुना बेलुकी असियाको कोठामा बसेर घरव्यवहारबारे सल्लाह गर्न थाले । छोरा, बुहारीको त्यस्तो व्यवहार देखेर असिया धेरै खुसी भइन् । छोरा बुहारीको उनलाई धेरै माया लाग्थ्यो । त्यतिकै माया जितु र जमुनालाई पनि असियाको लाग्थ्यो ।