कथा

जीवनको अर्थ खोज्दै

जीवनको अर्थ खोज्दै

आकाशमा कपासका डल्लाजस्ता सेता बादलहरू उडिरहेका थिए । म ती बादल देखेर लोभिएँ । मलाई तिनीहरूलाई छुन मन लाग्यो । खोई कसरी हो कुन्नि दुई टुक्रा सेता बादल मेरो कोखामा गाँसिए । ममा पखेटा लागे । म पनि तिनै सेता बादलहरूसँग आकाशमै लुकामारी खेल्न थालेँ । यत्तिकैमा बादलमा सुमधुर घन्टीको मीठो टनटन सुनियो ।

नृत्यमग्न म...। आकाश .....सेता हलुका बादलहरू......स्वर्गीय अनुभूति....त्यस्तोमा बजेको सुमधुर घन्टी....। आखिर कसले बजायो घन्टी ?

घन्टी थामिएन । निरन्तर बजि नै रह्यो । बेहोसीको अवस्था । कतै गहिरो रहस्य र अन्धकारको स्थितिमा पुगेको चेतना बिस्तारै बौरिंदै आयो । अचेतनबाट अवचेतनको बाटो हुँदै बिस्तारै चेतनाको संवेग पहिल्याउन थाल्यो । हात अनायासै स्वचालित भइदियो सिरानीमा राखेको मोबाइल उठाउन ।

"हलो...," अवचेतनाको कालो अँध्यारो, गहिरो सुरुंगबाट सुस्तरी बाहिर आउँदै गरेको मेरो 'स्व' अलमलिन्छ । रेडियमको हरियो उज्यालोमा झलल्ल बलेको नारी घडीमा दुवै सियो एकअर्को बलियो अँगालोमा कहिले पनि नछुट्टिने गरी बाँधिएका रहेछन् । आह ! यो पल कति अनमोल छ तिनीहरूका लागि । सके तिनीहरू जीवनभर यसैगरी आपसमा एक भएर कहिले पनि नछुट्टिने वाचा गर्दैछन् । तर समय कति निष्ठुर भइदिन्छ । अहिले यसरी एकआपसमा गाढा आलिंगनबद्ध जोडी अर्को पल आगतमा आउने लामो समयसम्म छुट्टिनका लागि अभिशापित छन् ।

"यस्तो यो आधा रातमा कसले फोन गरेको होला ?"  कुबेलामा आउने यस्ता फोनकलले सुखद सन्देश पक्कै पनि ल्याउँदैन । कति नै भयो र !  आधा रातमा आएको यस्तै फोनले मलाई मात्र होइन । नेपालमा मात्र होइन, सारा संसारलाई नै स्तव्ध तुल्याइदिएको थियो । विश्वमै यदाकदामात्र भएको घटनाको पुनरावृति नेपालमा हुन पुगेको त्यो अस्वाभाविक घटनाले संसारमै सरल नेपाली जातिको परिभाषालाई गलत साबित गराइदिएको थियो ।

त्यसपछि सुधीरका फोनहरूले यसैगरी आधा रातमै मलाई विथोल्थे । विचलित विचलित तुल्याउँथे । त्यसैले डर लाग्छ मलाई यी बेला न कुबेला बज्ने फोनका घन्टीदेखि ।

"महारानी, तिमीले मानेकी भए यतिखेर म तिम्रो छोरोको बाबु बन्ने थिएँ ।"

फोन सम्राटको रहेछ । झनक्क रिस उठछ मलाई ।

"के ताल हो तिम्रो ? यसरी आधा रातमा फोन गरेर मलाई दुःख दिन तिमीलाई लाज पनि लाग्दैन हगि ? जुन कुरा हुन सक्दैन, त्यही कुरा दोहोर्याई तेहेर्याई गर्नुको अर्थ के हो ? तिमी के अहिलेसम्म रक्सी खाएर बसिरहेको हो ? किन तिम्री पत्नी कहाँ गइन् ? माइत गाको हो ? तिमीहरूले फेरि झगडा गर्यौ ?" रिस अनि क्षोभको संवेग एक्कासि मेरो सम्पूर्ण शरीरभरि बिजुलीजस्तो गरी फैलियो ।

"म अहिले पोखरा आएको कुरा तिमीलाई थाहा छैन ? भोलिको लागि सम्पूर्ण व्यवस्था गरेर म अहिले भर्खर निदाएकी थिएँ भन्ने कुरा तिमीलाई के पत्तो ! तिमीलाई यी सबै कुराको के वास्ता र ! रक्सी खाँदाखाँदै मलाई डिस्टर्ब गर्न मन लाग्यो गरिदियौ । अरूलाई जेसुकै होस् । कोही थाकोस् कि कोही मरोस् के मतलब !"

"महारानी, नरिसाऊ न । कुरो त्यसो होइन । तिमी नै भनन, यस्तो खुसीको कुरो यो आधा रातमा म अरू कोसँग नै सेयर गर्न सक्छु र ! म अहिले भर्खर छोरीको बाबु भएँ नि । हेर न यो खबर यति आनन्दकारी ! यति आल्हादकारी लाग्यो कि मैले तिमीलाई नसुनाई सक्दै सकिनँ । प्लिज मेरो मनस्थिति बुझिदेऊ अनि नरिसाऊ ।"

"महारानी, तिमीलाई खुसी लाग्यो ?"

"ए सम्राटले छोरी पाएछ ! खोई के भनूँ म ? म खुसी छु कि दुःखी छु ।"

के भनुँ म ? मनमा कता कता खुसी लागेको जस्तो भयो । सायद यो खबर मेरो लागि सुख अथवा दुःखको भन्दा पनि केही राहतको खबर पो हो कि ? सम्राटको जीवनमा आउन लागेको स्थिरताको संकेत पो हो कि ? म ऊप्रति ढुक्क हुन सक्ने भविष्योक्ति पो हो कि ?

वास्तवमा सम्राट को हो मेरो लागि ? अनि मैले उसको लागि खुसी हुनुपर्ने हो कि होइन ? मैले अझै बुझ्न सकेकी छैन । उसको छोरी जन्मेको खबर मेरो लागि सुखको कारक हो कि दुःखको, मैले ठम्याउन सकेकी छैन ।

सम्राट मेरो मित्र...., मेरो प्रेमी....., को हो मेरो ?

ऊ त्यतिखेर मेरो जीवनमा आएको थियो जतिखेर सुधीरसँगको मेरो असफल दाम्पत्य जीवनलाई पारपाचुकेको कालो ग्रहणले निल्दै थियो । भर्खरै भोगेको त्यो भयानक दुर्घटनाबाट उब्जिएको निस्सारताबोधबाट म विचलित विचलित भैरहेकी थिएँ । जीवन कालो रातजस्तो दिशाहीन र लक्ष्यविहीनजस्तो भइरहेको थियो । त्यही बेला निष्पट्ट अँध्यारो रातमा दियोको मधुरो उज्यालो बनेर उपस्थित भइदिएको थियो ऊ मेरो जीवनमा ।

भर्खरै सुधीरसँग छुट्टिएको आलो पीडा ! पारपाचुकेले बनाएको आलो घाउ । एक्लोपनको भयावह अनुभूतिसँगै घुर्मैलिएको मेरो जीवनमा घामको उज्यालो बनेर आउन खोजेको थियो ऊ । तर भर्खरै पाएको आफ्नो भनिने पुरुषले समाजको अघिल्तिर मलाई अक्षम तुल्याइदिएको ग्लानिले खर्लप्पै निलेको थियो । त्यतिखेर पुरुष जातिको छायासँग पनि म डराउने गर्थेँ । त्यसैले त्यो पीडाको पहिरोले मलाई अझै पुरेको थियो । मेरो जीवनमा सम्राटको उपस्थिति मेरो लागि खासै सुखद र महत्वपूर्ण हुने गरेको थिएन । म वास्तवमा सम्पूर्ण पुरुषसँगै सशंकित हुने गरेकी थिएँ । उनीहरूप्रति मेरो विश्वास मरेको थियो । सुधीरको व्यवहारले ।

सुधीर नै त हुन् मेरो जीवनको सबैभन्दा ठूलो पीडा ! पहिले तिनी मेरो लागि सुधीर सर थिए मेरा गुरु ! ती पछि मेरा पतिदेवको रूपमा परिणत भएका थिए । जे केही कालपछि नै भूतपूर्व पतिमा बदलिए ।

आफ्ना जीवनका सम्पूर्ण चाहना र सम्भावनालाई झन्डै तिरोहित गर्नुपरेको थियो मैले । आफ्ना भविष्यका सबै रङ्गीन सपनाहरूलाई झन्डै बिर्सिनुपरेको थियो मैले । बाआमाको करले दाम्पत्य जीवनको बन्धनमा झन्डै बाँधिनु परेको थियो । हुन त सत्र वर्षे उमेरमा घरगृहस्थीको चौघेरोमा बाँधिनबाट मलाई सुधीरले नै बचाएका थिए । उनले आँट नगरेको भए त्यतिखेर

म खुला आकाशमा मुक्त भई उडन चाहन्थेँ । तर बाबाआमालाई मेरो निस्सीम आकाशमा उड्ने रहरको कुनै मतलब थिन । मेरो सोच र आकाङ्क्षाको उहाँहरूलाई कुनै कदर थिएन । उहाँहरूलाई त मात्र कर्तव्यबाट उम्किनु थियो । जसरी भए पनि मलाई उमेरमै अर्काको जिम्मा लाउनु थियो । सके उहाँहरूले मेरा महत्त्वाकांक्षाका पखेटा पलाएको अनुभूत गर्नुभएको थियो । त्यसैले त होला, त्यो पखेटा लाएर म हावामा उड्नुभन्दा पहिले नै मेरा आकांक्षाका पखेटा काट्न तम्सिनुभएको थियो । त्यही भएर मेरो प्रतिभाको एकरत्ति पनि कदर नगरी उहाँहरूले सत्रै वर्षको उमेरमा मभन्दा आठ वर्ष जेठो केटोसँग मेरो बिहे गर्न तम्सिनुभएको थियो ।

सुधीर त्यतिखेर मेरा प्रेमी होइन, मेरा गुरुमात्र थिए । अनि म उनकी प्रतिभाशाली चेली । मेरो बिलौना सुनेर मलाई त्यस परिस्थितिबाट जोगाउने आश्वासन दिएका थिए उनले । पाणिग्रहणको अघिल्लो रात उनी मेरा लागि देवदूत भएर प्रकट भइदिए । उनैले आधा रातमा घरबाट भगाएर मलाई भविष्यमा पसल्नी भएर बस्नबाट जोगाएका थिए ।

आखिर ममा महत्वाकाङ्क्षाको बीज रोप्ने पनि त उनै थिए–  "महालक्ष्मी, काठमाडौं जान पाए तिम्रो कला निखारिने थियो । तिमी भविष्यमा सफल र ठूलो कलाकार बन्ने थियौ । तिम्रो प्रतिभाको मूल्य हुनेथियो । हजारौं हजार रुपियाँ पर्ने चित्र बनाउने तिमी चित्रकार बन्ने थियौं । तिम्रो ठूलो नाम हुनेथियो । अनि तिमीले दाम पनि कुस्त कमाउने थियौ ।" उनैद्वारा बारम्बार उद्घोषित वाक्यहरू थिए ती ।

कहाँ त्यत्रो सम्भावना ... कहाँ झन्डै बाबाआमाद्वारा दालचामलको पसल रूङ्नुपर्ने बन्न लागेको मेरो नियति ! सुधीर सरप्रति म कृतकृत्य हुन पुगेकी थिएँ । तर मेरो उन्मुक्तिको मूल्यपछि मेरो अस्मिताले चुकाउनुपर्नेछ भन्ने कुरा त्यो रात मैले कसै गरी पनि सोच्न सकेकी थिइनँ । कलिलो उमेर, कच्चा मन । सोचेकी थिइनँ, मुक्तिको बदलामा उनलाई मेरो देह नै सुम्पिनुपर्नेछ भन्ने कुरो । मेरो उन्नत भविष्यको सेतु बनिदिन्छु भन्ने उनले आफ्नो एक्लोपन मेट्ने वस्तुका रूपमा मेरै तनको प्रयोग गर्नेछन् भन्ने कुरो ।

धेरै अन्तर थियो उनको र मेरो उमेरमा । म मात्र सत्र वर्षकी, अनि उनी अठ्ठाइस वर्षे जवान ।

लगत्तै पछिका रातहरू सुधीर सर मेरो गुरुको रूपमा नभै मेरो प्रेमीको रूपमा प्रकट हुन पुगे । अनि मेरो सम्बोधनबाट पनि सर भन्ने शब्द ओरालो लाग्दै कुन सड्को हराएछ, मैले हेक्कै पाइनँ । सम्झना रह्यो त मात्र रूप परिवर्तनको । अनि त्यही अप्रत्यासित रूपले गाँसिएको सम्बन्धलाई वैधानिकता दिन त्यही साँघुरो कोठामा, त्यही एक्लो कोठामा एक धर्को सिन्दुरले मेरो सिउँदो रङ्गाएर हामीले विधिवत बिहे गरेको विश्वासको ।

सम्बन्धको बन्धनमा पारेपछि सुधीर पनि उही परम्परागत लोग्नेमानिसभन्दा बढी अरू केही बन्न सकेनन् । मेरो प्रेमी त उनी कहिले पो थिए र ! मात्र एउटा भोक रहेछ मेरो तनको उनको मनमा । तनले गाँसिएको थियो सम्बन्ध । त्यसैले त उनी मेरो मनको प्रेमी पटक्कै भएनन् । पढाइलाई अघि बढाउनै मैले कसरी सकेँ र ! पिँजडामा पालेको पन्छीको उन्मुक्त उडान कसले पो चाहेको हुन्छ र ! त्यसैले न त बाबाआमाले नै मेरो स्वतन्त्रता स्वीकारेका थिए, न त सुधीरले नै स्वीकार गरे । आखिर स्वतन्त्र भएर कलेज जान फेरि मैले कहाँ पाएँ र ! निर्बाध रूपमा आफ्नो नियन्त्रणमा राखे । शारीरिक ... अनि मानसिक । मप्रति असुरक्षाको भावना अनि आफूप्रति हीन भावना उनको व्यक्तित्वको अंश नै बन्न पुग्यो । डेरा ... साँघुरो कोठा ... असीमित असजिलाहरू ... । आफन्तको नाममा त्यही एउटा श्रीमान्, जो पहिले मेरा गुरु थिए, पछि मेरा पतिदेव भए । गुरुको रूपमा उनीप्रतिको मेरो मनको धकलाई उनले मनग्ये उपभोग गरे । मलाई सधैं

तिनै भावना र संवेगले उनमा कटुताको रङ्ग गहिरो पार्दै लगिरहेको थियो । त्यसले उनलाई मप्रति झन कठोर बनाइरह्यो । अनि मेरो जीवनलाई उनको साथले रङ्गहीन तुल्याउँदै लगेको थियो ।

जीवन बेरङ्ग हुँदै गइरहेको थियो । तर मभित्रका रङ्गहरू झन् प्रखर हुँदै जान थालेका थिए । सुधीर घरमा नभएका समयमा मेरा समय रङ्गसँगै खेल्न थालेका थिए । रङ्ग मेरो अस्तित्व अनि मेरो अनुभूति ... । त्यही रङ्गको लागि मैले निश्चित भविष्य छोडेर अनिश्चित भविष्यलाई अँगालेको । गुरु र चेलीको सम्बन्धको विघटनलाई स्वीकारेको ।

जति नै खुसी छु भने तापनि म चर्चित बनेको सुधीरलाई सहन गाह्रै भयो । लोग्नेमान्छेको अहम् आफू दोस्रो तहमा झर्दै गएको अनुभूत गर्न थाल्यो । बिस्तारै मेरो चित्रहरू प्रदर्शनीका भित्तामा झुन्डिन थाले । अखबार अनि पत्रपत्रिकाहरूमा मेरा विषयमा र मेरा चित्रका विषयमा धेरै कुरा छापिन लागे । म सप्तरङ्गी आकाशमा उड्न थालेकी थिएँ । मेरो समय पनि घरको चौघेरा नाघेर बाहिरको संसारमा विचरण गर्ने भइसकेको थियो ।

दुवै सिर्जनाहरूबाट म असीम आनन्द पाउने गर्थेँ । जीवनको रङ्ग बेरङ्गमात्रै छैन । मेरै सिर्जनाहरू मेरो जीवनमा प्रखर र चहकिलो रङ्ग बनेर आएका छन् भन्ने अनुभूत गर्थेँ ।त्यतिले नपुगी मेरो नारीत्वलाई सार्थक पार्दै, जीवनको खुसीलाई द्वीगुणित पार्दै बेनाम सम्बन्धको परिणति मेरो छोरी मेरो काखमा थिई ।

तर सुधीरसँगको मेरो सम्बन्धमा अनगन्ती धाँजा पर्न थालिसकेका थिए । उसो त सम्बन्ध दरिलो पो कहिले थियो र ! मनको सम्बन्ध भए पो ! मात्र तनको सम्बन्धमा चिरा पर्नु कुनै नौलो कुरै भएन ।

खुसीहरू छताछुल्ल पार्न थालेँ । चित्रहरूको एकल प्रदर्शनीको तयारीमा जीउज्यानले लागेकी थिएँ । शरद्ऋतुको बेला । भर्खरै सिनित्त पखालिएर स्वच्छ भएको परिवेश । चहकिलो नीलो आकाश ! प्रफुल्लित भएर खेलिरहेका झैं लाग्ने सेता बादलका टुक्राहरू ! मन किन हो कुन्नि, त्यतिकै आनन्दित थियो । मनको आनन्द रङ्ग भएर पोखिन खोज्यो । म क्यानभासम त्यतिखेर म रङ्गसँग खेलिरहेका मेरा हात । मन आनन्दको अनुभूतिमा कावा खाँदै गरेको पन्छीसरह भइरहेको थियो । पाँच कक्षामा पढने छोरी छेउमै बसेर गृहकार्य गरिरहेकी थिई । त्यतिकैमा सुधीर हुर्रिएर आए । उनी सँगै डोरिँदै एउटा आतङ्क पनि कोठाभित्रै आइपुगेको थियो । टाढैबाट अनुभूत गर्न सकिन्थ्यो, त्यतिखेर उनमा रिसको बेताल चढेको थियो ।

त्यो दिन सुधीरले मानवताको संघार नाघ्न केमात्रै गरेनन् ! कोठा बन्द गरेर बालख छोरीकै अघिल्तिर मलाई पिट्न थाले । डर र त्रासले आतङ्कित हुँदै कङ्कला शब्द गर्दै छोरी रोइरहेकी उनलाई कुनै वास्तै भएन । सम्बन्धलाई धूलोपिठो पार्न हात र गोडालेमात्र नपुगी हातमा जे आयो त्यसैले हिर्काएर मेरो शरीरलाई आघात पारे । त्यसैगरी ममाथि अनेक अपशब्दको विशेषणको प्रयोग गर्दै मेरो अनेक पुरुषसँग शारीरिक सम्बन्ध रहेको लान्छना लगाए । उनले मेरो जीउलाई मात्र थिलथिलो पारेनन्, मेरो मनलाई वचनको वाणले छियाछिया पारे । तन घाइते भयो भयो तर मन त फेरि समालिनै नसक्ने गरी ध्वस्त भइदियो । जोडिनै नसक्ने गरी चुरचुर भइदियो ।

ना चित्र र रङ्गहरू बोकेर म निस्किएँ । छोरीको हात समाउन खोज्दा उनले दिएनन् ।

"तँ अर्को लोग्ने खोजेर जानेले मेरी छोरी लिएर जान पाउन्नस्"– हिँड्दा हिँड्दै उनले मेरो आलो घाउले चहर्याएको मनमा नुनचुक छर्किएका थिए । उनका घृणाका ठोक्राबाट मप्रति वचनका वाणहरू निरन्तर बर्सिई नै रहे । आरोप, अपमान, लाञ्छना अनि बदमामी पछिल्ला दिनहरूमा उनीबाट पाउँदै आएका भावनाका उपहारले मेरो उनीसंगको सम्बन्धलाई जमिनमुनि पुगि नै सकेको घोषणा गरिरहेका थिए । आफ्नो मनबाट त्यो दिन सुधीरले मलाई ठाडै निकालिदिए, चरित्रहीनताको आरोपमा ।

त्यसपछिका अनगिन्ति पलहरूले आफूलाई सिङ्गो समयमा रूपान्तर गरे । तर सुधीरसँग टुक्रिएको मेरो मन फेरि जोडिन सकेन । मायाले गाँसिएको भए त्यो सम्बन्ध सके केही कालको बिछोडपछि स्वतः मिलनमा टुङ्गिन्थ्यो । तर प्रेमबिनाको सम्बन्ध सके यस्तै नियति भोग्न विवश हुन्छ । सायद मायाबिनाको सम्बन्ध एउटा पीडा बनेर बसिदिन्छ दुवैको बीचमा । सुधीरसँग बिताएका केही वर्षको साथको जीवनले मलाई यही निष्कर्षमा पुर्याएको थियो ।

दुई भिन्न मानसिक धरातलका हामी खोलाका दुई किनारजस्तै भयौं, आपसमा केही गरी पनि जोडिन नसक्ने । अहँ ! हाम्रो सम्बन्ध जोडिनका लागि हामीबीच कुनै सेतु बन्न सकेन । त्यही भएर नै होला हामी फेरि मिल्न सकेनौं । हाम्रो सम्बन्ध लगभग मरी नै सकेको थियो ।

त्यसैले हाम्रो सम्बन्ध मरेको यथार्थलाई पारपाचुकेको लालमोहर अत्यावश्यक थियो ।

पारपाचुकेपछि पनि कम्ती रुवाएनन्, कम्ती तर्साएनन् । आधा आधा रातमा फोन गरेर कम्ती सताएनन् सुधीरले । छोरीको एक झल्को पनि हेर्न नदिएर कम्ती छटपटिने पारेनन् । आखिर त्यतिखेर छुटाइएकी छोरीसँग मेरो आजपर्यन्ट भेट भएको छैन । कति कुरा सुनाएका होलान् उनले मविरूद्ध । त्यसैले त होला नि छोरीले पनि मसंग आजसम्म पनि भेट गर्न खोजेकी छैन ।

सुधीरसँग बिताएको जीवनको यही एक टुक्रो भोगाइले सारा लोग्नेमानिसप्रति मेरो आस्था मर्यो । मेरो विश्वास हरायो ।

अनपेक्षित घटनाहरूको संयोजन नै पो सके जीवन हो कि ! त्यसैले त होला केही समयपछि नै अनायासै मेरो कलाको, मेरो रङ्गको, मेरो व्यक्तित्वको प्रशंसक बनेर मेरो जीवनमा झुल्किएको थियो सम्राट् । मलाई देख्दै नदेखी मेरो अनुरागी बन्न पुगेको थियो । मैले वास्ता नगर्दा नगर्दै पनि मेरो अनुचर बन्दै आइरहेको थियो । म गर्दिनँ भन्दाभन्दै पनि जबरजस्ती मसँग प्रेम गर्न तम्सिएको थियो । मैले नचाहँदा नचाहँदै पनि मेरो प्रेमी बन्न खोज्दै थियो ऊ ।

तर लोग्नेमानिससँगको सम्बन्धले आहत म फेरि अर्को लोग्नेमानिससँग सम्बन्धमा गाँसिन कसै गरी पनि इच्छुक थिइनँ । उता सम्राट् भने मबाट टाढा जान पटक्कै तयार भएन । तैपनि यो तथ्यसत्य हो, मेरो अँध्यारो जीवनमा घमाइलो दिन बनेर आएको थियो ऊ । मेरो उदासीमा मुस्कान बनेर आएको थियो ऊ । अत्यासलाग्दो जीवनको एक्लो उजाड गोरेटोमा ढकमक्क फूल बनेर फुल्न आइपुगेको थियो ऊ । छोरीको बिछोडको पीडा गहिरो गरी बिझेको मेरो मनमा सान्त्वनाको शीतल मलम लगाइदिएको थियो उसले ।

ऊ आफैं पनि एउटा रङ्गशिल्पी अनि कलाको गहिरो समझ भएको एउटा कलासमीक्षक रहेछ । त्यही भएर मेरो सिर्जनाबाट प्रभावित भएको रहेछ । अनि मसित नजिकिने प्रयत्न गरेको रहेछ ।

मेरो जीवनकथा थाहा पाएर ऊ दुःखी भएको थियो । ऊ मेरो जीवन बदल्न चाहन्थ्यो । आफूले पनि जीवनमा चोट पाएको हुनाले मेरो चोटमा मलम लाएर ऊ हामी दुवैको आहत अस्तित्वलाई खुसी र सन्तुष्टिले भर्न चाहन्थ्यो । तर जीवन सोचेजस्तो सजिलो कहाँ हुन्छ र ! यो एउटा कला मात्र कहाँ हो र जसको समीक्षा गर्न सकियोस् । जीवनको सबैभन्दा गाह्रो पक्ष नै आपसी सम्बन्धको निर्वाह नै रहेछ ।

सम्राट् मेरो जीवनमा एउटा सपनासरी आइपुगेको थियो । मलाई भने त्यो सपनै स्वीकार्य कहाँ थियो र ! उसले मेरो सान्न्ध्यिमा पाएको आत्मसन्तुष्टि मैले उसको उपस्थितिमा कहिल्यै अनुभूत गर्नै सकिनँ । मलाई ऊ मन नपर्ने त होइन नि ! तर पनि किन हो कुन्नि उसको व्यक्तित्वले मेरो मनमा खुसी, उमङ्गको कुनै तरङ्ग नै फैलाएन । उसको साथले ममा नजानिँदो काउकुती लाग्दै लागेन । अहँ, मलाई उससँग प्रेम नै भएन । प्रेमीको रूपमा अनुभूत गर्नै सकेन । ऊ मलाई भाइजस्तो लागिरह्यो । आफू उसको अभिभावकजस्तो अनुभूत भइरह्यो । कैयौं साँझ ऊसँग सँगै बिताएँ । धेरै दिन सँगसँगै घुमफिर गरेँ । रेस्टुरेन्ट गएँ । सिनेमा हेर्न गएँ । तर उसप्रति मेरो मनमा सम्बन्धको रोमाञ्च केही गरी पनि पलाएन । त्यसो हुनुमा पहिलो सम्बन्धको विफलता अनि सम्पूर्ण लोग्नेमानिसप्रति मेरो मनमा पलाएको अनास्था कारक हुन सक्छ । त्यस्तै ऊ मभन्दा कान्छो छ भन्ने मनस्थितिले पनि काम गरेको हुन सक्छ । त्यसै कारणले नै त होला मेरो मनले उसलाई आ तैपनि मनमा केही भाव पलाई पो हाल्छ कि भनेर मैले आफ्ना चाहनाविपरितका पुरूष अरूलाई जीवनमा स्वीकार्नु परेको थियो । एउटा पुरुष जबर्जस्ती मेरो लोग्ने बनेको थियो । अर्को जबर्जस्ती मेरो प्रेमी बन्न चाहन्छ । मेरो स्वप्नपुरुष त कोही अर्कै हुने थियो । तर आफूले नचाहिकनै कस्तो बिडम्बना ! मेरो जीवनमा दुई जना पुरुष आए । तर ती दुवै पुरुषको उपस्थिति मैले आफ्नो मन बाँड्न सक्छु, मात्र तन बाँड्न सक्तिनँ । आफ्ना सबै संवेग र संवेदना बाँड्न सक्छु । तर पनि सम्राट्सँगको सम्बन्ध मेरा लागि एउटा स्त्री र पुरुषको सम्बन्ध होइन । सम्राट्ले जेसुकै सोचोस् तर मेरो लागि ऊ एउटा असल मित्रबाहेक अरू केही होइन । त्यसैले उससँगको सम्बन्धलाई एउटा निष्कर्षमा पुर्याउनका लागि नै त हो नि मैले उससँग आफूले बिहे गर्नुको साटो अरू कसैसँग उसको बिहे गरिदिने कुरा सोच्नु परेको । सम्राट्ले बिहे गरोस् भन्ने मेरो आन्तरिक चाहना थियो । अनि उसको बिहे गराउन म लागिपरेकी थिएँ ।

नै वरिपरि भइरहुँ भन्ने चाहना हुन्छ । तर पनि यो निकटताको चाहमा तिम्रो शरीरको निकटता मैले पटक्कै चाहेकी छैन । मलाई त्यसको कल्पना पनि छैन । आखिर एउटा लोग्नेमानिस र एउटी स्वास्नीमानिसको बीचको निकट सम्बन्ध सधैं शरीरमै गएर टुङ्गिनुपर्छ भन्ने छ र सम्राट् !

"नढाँटी भन्ने भने मलाई पनि तिम्रो साथ निकै मन पर्छ ।"

मेरो कुरा सुनेर ऊ निराश भएको थियो । ऊसँग वैवाहिक सम्बन्धमा गाँसिने कुरो मेरो अस्तित्वले स्वीकार्नै सकेन । यो कुरो उसको लागि कम्ती हतोत्साही थिएन । म ऊसित बिहे गर्न केही गरी पनि इच्छुक छैन भन्ने सत्य आत्मसात् गर्न करै लाग्यो । धेरै फकाउनुपरेको थियो मैले, उसलाई बिहे गर्नको लागि । अन्त्यमा मैले नै केटी खोजिदिनुपर्ने शर्तमा ऊ अरूसँग बिहे गर्न राजी भएको थियो । अनि मैले उसलाई आफू सधैंभरि उसको अभिभावकको भूमिकामा रहिरहनेछु भनेर वाचा पनि गर्नुपरेको थियो ।

नितान्त व्यक्तिगत खुसी पनि किन मैसँग बाँडनुपरेको हँ ? अझै पनि किन मेरो निकटता आवश्यक मानिरहेको छ ! बिहेपछि सम्राट् खुसी नै देखिन्छ । श्रीमतीलाई मन पराएकै देखिन्छ । श्रीमती निकै राम्री छन् । सबैले उनलाई असल छिन् भन्छन् । त्यस्ती श्रीमती पाएकोमा सबैले सम्राट्लाई भाग्यमानी मानेकै पनि छन् । तर मेरो मनको कुनो कताकता आशङ्कित छ । हृदयको अन्तरमा कता कता एउटा त्रास लुकेको छ । सम्राट् श्रीमतीसँग साँच्चै खुसी त छ ? तिनीहरूको व्यक्तित्व एकअर्काका पूरक हुन पुगेका त छन् ? उनीहरूको मानसिक सोच मिलेको त छ ?

मनमा उब्जिएका यिनै अनेक प्रश्नहरूले थाहा छैन किन हो कुन्नि, बेलाबखत मन आशङ्कित भइरहन्छ । उनीहरू दुवैको आगतप्रति चिन्तित भइरहन्छ ।

सम्राट्ले छोरी पाएछ । मनमा नजानिँदो आनन्द भरिएर आएको छ । उसको जीवनले पूर्णता पाउने एउटा बलियो सङ्केत हो उसको छोरीको जन्म । उसको जीवनले एउटा गोरेटो समात्छ होला अब । मैले उसको जीवनको स्थिरताको लागि अब चिन्ता लिनुपर्ने छैन । पत्नी र छोरीको मायाको बीचमा अल्झिएपछि सके उसलाई पनि मेरोबारे सोच्ने आवश्यकता नहोला । आकाशमा काटिएर उड्दै गरेको चङ्गासरी लक्ष्यविहीन जीवन एउटा निश्चित बाटोमा हिँड्न थाल्यो अब । सके उसलाई मेरो मानसिक निकटता पनि आवश्यक नहोला ।

आफ्नो थुप्रै खुसीहरू अरूको खुसीको लागि बलिदान गरेकी थिएँ । पीडालाई जीवनको अङ्गको रूपमा अपनाएकी थिएँ । आखिर जीवन एउटा सम्झौतै त थियो । नै स्वतन्त्र आत्माको आवाज सुन्ने । जीवनमा खुसी हुन त मैले पनि चाहेकी थिएँ । त्यही खुसी पाउनका लागि नै त हो नि मैले नचाहँदा नचाहँदै पनि कति कुरामा जीवनसँग सम्झौता गरेकी थिएँ । अनि मेरो जीवन पनि त मैले रोजी नै सकेकी छु ।

आफ्नो आत्माको मृत्युलाई भोगी पनि सकेँ । अब अरूको इच्छामा निर्देशित हुने छैन म । अरूले चाहेको भरमा खुसी हुने अनि उसले चाहेकै भरमा आफू दुःखी हुन अब मलाई मन्जुर छैन । जीवनको यही खुसी खोज्ने क्रममा म धेरै धेरै चोइटिसकेँ, धेरै धेरै टुक्रिइसकेँ । अनि बाँचिरहेछु भन्ने भ्रममा पटक पटक आफ्नो अस्तित्व खोज्नुपर्नेछ । यही रङ्गको लागि मैले बाँकी जीवन बाँच्नुपर्छ यो रङ्नै नै मेरो जीवन, अनि मेरो आत्मा हो । यही रङ्ग नै मेरो उद्देश्य पनि हो । यही रङ्गभित्र मैले मेरो जीवनको अर्थ खोज्नुपर्नेछ । जीवन खोज्नुपर्नेछ ।

प्रकृति हेर्न पनि सके मनकै आँखा पो चहिँदो रहेछ कि ! विचारमा अल्झिएको मेरो मन यथार्थको धरातलमा ओर्लिन्छ । गर्मी महिनाको यो रात, जुनेली रात पो रहेछ । चाँदीसरी उज्यालो जून चारैतिर पोखिएको छ । आकाशमा देखिएको पूर्णचन्द्रले, ज्योत्स्नाको उज्यालोमा छपक्कै भिजेको बाहिरको शीतल परिवेशले मनमा एउटा सुखद शीतलता उमारिदियो । किन हो कुन्नि मन त्यसै त्यसै खुसी भएको छ । कताबाट कुन्नि उब्जिएर आएको आनन्दले मुटु लफ्रक्कै भिजाउँछ । मलाई के गरुँ कसो गरुँ हुन्छ । अनायासै मोबाइल समाउँछु र टेक्स्ट् मेसेज लेख्छु–

"सम्राट् तिम्रो यो उपलब्धिमा म धेरै खुसी छु । छोरी पाएकोमा तिमीहरू दुवै जनालाई धेरै धेरै बधाई छ !"