कुलमानलाई देशनिकाला गरौं !!

कुलमानलाई देशनिकाला गरौं !!

एक समय देशमै बसेर यहाँको शिक्षाको विकासमा योगदान गर्छु भनेर डा. श्रीरामभक्त माथेमा कम्बोडियाबाट नेपाल आउनुभयो । केही वर्ष काठमाडौंमा बसेर केही शैक्षिक संस्थामा काम पनि गर्नुभयो । अन्तत: केही वर्ष अघि उहाँको चित्तदुख्दो अनि निराशाजनक अभिव्यक्ति आयो- 'म हारेँ । काम गर्ने कुनै सकारात्मक वातावरण भएन । म त्यसैले गह्रौं मन लिएर कम्बोडिया फर्कँदै छु ।'

अर्को एक प्रसङ्गमा ७४ सालतिर भर्खरै कार्यकारी प्रमुख भएका बेला कुलमान घिसिङसँग उहाँकै कार्यकक्षमा अन्तरवार्ता गर्दा उहाँले आफ्नो प्राधिकरणको जागिरको अनुभव सुनाउँदा दुई वर्ष बिना काम हाजिर गरेर तलब खानु परेको पीडा सुनाउनुभएको थियो । तिनै घिसिङ कार्यकारी प्रमुख भएसि भाद्रमा दैनिक ७ घण्टाको लोडसेडिङ तिहारको दीपावलीको दिन समेत देशमा लोडसेडिङ भएन । यो घटनाले पनि हामी कति प्रतिभा पारखी रहेछौं भन्ने देखाउँछ ।

अहिले गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । ती फकिरलाई कसले उचालिदियो र विगतमा सानो कुरा हुनासाथ पलेटी कसिहाल्थे, त्यसको समीक्षा पछि गरौँला तर उनका केही विषय त पुष्टि भएका छन् नि । स्वास्थ्य क्षेत्र माफियाको हातमा गयो भने जनताले दुख पाउँछन् भन्ने उनको बुझाइ त अहिले फैलिएर सरकार नै माफियाको हातमा गएको हैन र ?

जुम्लाजस्तो ठाउँमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र त्यसलाई सुबिधासम्पन्न बनाउने उहाँको मागमा सरकारलाई किन विमति ? प्रष्ट छ, मोफसलमा स्वास्थ्यका सुबिधा पुर्याउँदा शहरमा बसेर जनता मारेर नेता पोस्ने कसाहीहरुको सुसेधन्दा चौपट हुन्छ हो ?

कुलमानका विषयमा अहिले एकपछि अर्का जलमाफिया, जनमाफिया, राजनीतिक व्यापारी कम्मर कसेर लागेका छन् । यो मामिलामा सरकारमा बस्ने कतिले निर्लज्जताको पराकाष्ठा नाघेका छन् । नेता र मन्त्री हुनु भनेको झुट बोल्ने लाइसेन्स पाउनु हो भने ठिकै छ । हैन भने ऊर्जामन्त्रीले जनताका अघि सफेद झुट बोलेका छन् । मेरो जनतालाई चेतावनी छ- कहिलेसम्म विवेक बन्दकी राखेर राजनीतिक ब्यापारीलाई जनप्रतिनिधिको रुपमा जिताउँछौ हँ ? मन्त्रालयका तर्फबाट कुलमानको प्रस्ताव लैजान्छु भनेर मेरै कार्यक्रममा जनताका बीच बोलेका र प्रतिबद्धता गरेका ऊर्जामन्त्री वर्षमान पुनले जनतालाई झुटो बोले बापत राजीनामा दिनु पर्दैन ? कि प्रधानमन्त्रीले पुनको प्रस्ताव रोकेको हो भने जनतालाई प्रष्ट भन्नुपर्यो, हिसाब त्यतै मागौँला । कि लेनदेन नमिलेको ? कुलमानले गत चुनावमा चुनाव खर्च दिएनन्, हो ? पार्टी र नेता पाल्ने माफिया, बिचौलिया र इन्भर्टर ब्यापारीकै प्रभावमा कानुनको अड्चन निकालेको भए यसको मूल्य महङ्गो पर्नेछ, ढुक्क भए हुन्छ ।

अहिले सत्तामा बस्दा हामीलाई कस्ले के गर्न सक्छ भन्ने लाग्छ । यस्तै सोच्थे सद्दाम हुसेन, पर्भेज मुसरफ अनि हिटलर पनि । उनीहरुको नियति पढेको भए ठिकै छ, नत्र एकपल्ट पढेर ती मध्ये कसको नियति प्यारो छ,चिठ्ठा थुत्दा भैगो ।

कुलमानलाई पुनर्नियुक्ति नगर्नुको कारण जनतालाई बताउने हिम्मत छैन ? कानुनले मिल्दैन भने अहिलेसम्मका कति नियुक्ति कानुनसम्मत छन् ? सरकार स्वतन्त्र छानबिनका लागि तयार छ ? मन्त्री सरहको सुबिधा दिएर प्रमुख आर्थिक सल्लाहकार नियुक्त गर्ने कानुन चाहिँ कहाँ छ ? कि सल्लाहकारका भाइ, मन्त्रीका नातादार, घरमुलीका हुक्के बैठके र धन्दाता बिचौलिया नियुक्ति गर्दा कानुन चाहिँदैन ? कानुनले नमिलेको हो भने कानुन किन नसच्याएको ? जनताले चुनावमा लोप्पा खुवाएकालाई संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउन कार्यदल बनाउने नेकपाले कुलमानलाई कानुनको तगारो लगाउन खोजेको छ, जनताले आउँदो चुनावमा यस्ता दललाई गरालो लगाउनेछन् ।

कुर्सी र शक्तिले मैमत्तहरु विवेक बन्दकी राखेर अट्टहास गर्छन् । तिनैको फर्मानले पार्टीको प्रवक्तालाई कुलमानको पक्षमा बोल्न रोक लगाइएको छ । प्रवक्ता पनि कति निरीह, बच्चाले माथिबाट बारम्बार पिसाब गर्छ, अनि उनी टाउको सुम्सुम्याइरहने । केको लालसाले होला, त्यो दुर्गन्ध सहिरहनु परेको ?

अझ कुलमानलाई खुला प्रतिस्पर्धाबाट आउन समेत चुनौती दिइएको छ । आफूले जिन्दगीमा कहिल्यै प्रतिस्पर्धा नदेखेका, राज्यकोषबाट चाकडीका भरमा घर चलाएकाहरुले प्रतिस्पर्धाको कुरा गरेको सुहाउँदैन । २०४८ सालपछि पालैपालो सरकार र ढुकुटीमा रजाइँ गरेका अनि नातालाई पालो पुगेर नियुक्ति बिक्रीमा दलाल खरिद गरेकाले खुला प्रतिस्पर्धाको कुरा गर्दा प्रतिस्पर्धा भन्ने शब्द नै लजाउला ।

कुलमानले गल्ती नै गरेका छैनन् भन्ने होइन, गरे होलान् तर तिमीहरुको अघि त्यो निकै कम होला । कुलमानले घोटाला गरेकै छैनन् भन्ने होइन, तर तिमीहरुले त घप्लक्कै पो गरेका छौ त । कुलमानले सबै गरे भन्ने हैन, गर्न बाँकी होला या सकेनन्, तिमीहरुले त गर्दा पनि गरेनौ र गर्दा पनि गर्दैनौ नि । कुलमानले तिमीहरुलाई टेरेनन् होला, तिमीहरुले चाहिँ जनतालाई टेरेका छौ र ? अनि नियम जति जनताका नायक कुलमानले मात्र मान्न पर्ने हो र ? कुलमान कसैका कुरा सुन्दैनन् निरंकुश र अधिनायक भए भन्ने लागेको भए, तिमीहरु भन्दा ठूलो अधिनायक को पो होला र ?

हैन, कुलमानले गरेका राम्रा कामले पोलेकै हो र ? उनकै कारण आफ्नो मान्छे नियुक्त गर्न गाह्रो भएको नै हो भने कुलमान घिसिङलाई देश निकाला गरौं । बत्ती दिन र जनतालाई उज्यालो दिनु उनको गल्ती थियो भने कानुन बनाएर मृत्युदण्ड दिँदा नि भयो । न रहे बाँस, न बजे बाँसुरी ।