काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले भारतीय शैक्षिक संस्थाहरुले सामाजिक सञ्जालमार्फत, अनौपचारिक वा व्यक्तिगत सम्पर्कका आधारमा गैरकानुनी रुपले विद्यार्थी भर्ना लिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले कोरोना महामारीको कठिन परिस्थितिमा पनि भारतस्थित केही शैक्षिक संस्था, कलेज र तिनका प्रतिनिधिहरुले सामाजिक सञ्जाल लगायतका माध्यमबाट नेपाली परामर्शदाताहरुलाई सम्पर्कमा लिंदै तथा व्यक्तिगत सम्पर्कको आधारमा समेत सिधा भर्ना तथा छात्रवृत्ति लगायतको प्रलोभनपुर्ण क्रियाकलापहरु सञ्चालन गरिरहेकाले त्यस्तो प्रलोभनमा नपर्न अभिभावक तथा विद्यार्थीलाई आग्रह गरेका छन् ।
नेपालमा प्रचलित ऐन कानून तथा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा जारी गरिएको शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्वन्धि निर्देशिका २०७२ का विरुद्ध रहेर गतिविधि गरिहेको हुँदा यस्ता कृयाकलाप प्रति गम्भिर ध्यानाकर्षण भएको ईक्यानले जनाएको छ ।
‘हाम्रो तर्फबाट यस्ता गैह्र कानूनी कृयाकलापमा संलग्न नहुन, नेपाल सरकार शिक्षा मन्त्रालयको स्विकृती एवम् प्रचलित ऐन कानून र निर्देशिकाको व्यवस्था भन्दा बाहिर गएर नेपाली विद्यार्थीहरुलाई भर्ना तथा छात्रवृत्ति लगायतका सुविधाको प्रलोभन नदेखाउन, त्यस्ता भ्रामक विज्ञापन प्रकाशित र प्रसारीत नगर्न समेत सम्वन्धित सबैमा आग्रह गर्दछौं’ ईक्यानका महासचिव दिपकराज भुसालद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ । महामारीका बेला विभिन्न माध्यमबाट भर्ना लिने प्रलोभनपुर्ण कार्यहरु गैह्रकानुनी भएकोले यस्ता कृयाकलापबाट सचेत रहन पनि ईक्यानले विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको हो ।
त्यस्तै भारतीय शैक्षिक संस्थाहरुले विभिन्न माध्यमबाट गैरकानुनी रुपमा विद्यार्थीलाई प्रलोभनमा पारेर भर्ना लिने गरेको भन्दै त्यस्ता संस्थाहरुलाई आवश्यक कानूनी कारबाही गर्न शिक्षा मन्त्रालयसँग अनुरोध गरेको इक्यान कार्यसमिति सदस्य एवं भारतीय शिक्षा विभागका प्रमुख आर्यन उप्रेतीले जानकारी दिए । ‘हामीले गैरकानुनी रुपमा विज्ञापन तथा विद्यार्थी भर्ना सम्वन्धि कृयाकलापहरु बन्द गराउन प्रमाणसहित शिक्षा मन्त्रालयसँग आाग्रह गरेका छौं’ उनले भने– ‘इक्यानले उपलब्ध गराएको प्रमाण र आग्रहलाई मन्त्रालयले सकारात्मक रुपमा लिंदै आवश्यक कार्वाहीको प्रक्रिया अगाडी बढाउने भएको छ ।’