काठमाडाैं । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएका चार जनाको शव फेला परेको छ । नागपुजेमा चार जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए ।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा १७ घरका २८ जना बेपत्ता भएको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।
पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गरिसकेको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।
स्काभेटरको सहयोगले बेपत्ताको खोजी भैरहेको छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको छ ।