पूर्वकथाः एउटा मध्यरातमा पहिलोपल्ट स्वप्नदोष हुँदा उसले सपनीमै एकप्रकारको काउकुतीयुक्त रमाइलो मान्यो । स्खलनले आनान्दानुभूति बनायो । तर तुरुन्त आफ्नो अवस्थामा घिन पनि लाग्यो उसलाई । धोयो, पखाल्यो । तर पनि केही दिनको अन्तरालमा स्वप्नदोष भइरह्यो । भइरह्यो । अनवरत अनवरत । सपनीमै रमाइलो भइरह्यो । कुतकुती लागिरह्यो । घिन पनि लागिरह्यो । अप्ठ्यारो पनि भइरह्यो ।
तर खासमा स्वप्नदोषभित्रका पीडाहरू मनग्गे थिए । कपडा पछार्न ऊ पँधेरातिर लाग्थ्यो । सपनाको मैथुन पार्टनरलाई एकाबिहानै पँधेरामा देख्थ्यो । ऊ लाजले भुतुक्क हुन्थ्यो । कुत्कुतिन्थ्यो । पार्टनर फेरिन्थे । तर मजा उस्तै थियो । कुतकुती उस्तै थियो । घिन उस्तै थियो । लाज उस्तै थियो । समय बित्थ्यो, तर उसको स्वप्नदोष देखा परिहाल्थ्यो । कल्पना मीठामीठा आइरहन्थे । अनवरत, अनवरत । कल्पना मिठो थियो जीवनको । कुतूहलमय थियो जीवन । सस्पेन्स थियो जीवनको स्वप्नदोषको भोगीय कथा ।
पटकथाः ऊ सम्झिँदै छ । मान्छेहरूले उसलाई पनि अमेरिकाका गुड्डीहरू खुब सुनाएका थिए । उसले तन्मयका साथ सुनेको थियो । डलरका कथा । स्वतन्त्रताका कथा । कामका कथा । विकासका कथा । गोरीकालीका कथा । ऊ सायद एकोहोरिएको थियो । उसलाई अमेरिका छिर्ने जब्बर लालसा पलाएको थियो । भौतिक जीवन उकास्ने मनसुबा भएको थियो ।
र, संयोगले उसले एउटा गायक कम्पनी फेला पार्यो । बाउले आर्जेको घडेरी बेचेर तीस लाख रुपियाँ सो गायक कम्पनीलाई बुझाएर बाँसुरी बजाउने कामका लागि अमेरिका छिर्ने योजना बनायो । हुन त यसअघि उसले राम्रो बाँसुरी छोएको पनि थिएन । मेलाका पिरपिरे बाँसुरीको त के कुरा भयो र ! न सुर, न ताल, न भाका ।
उसले सौभाग्य ठान्यो कि उसलाई भिसा लाग्यो । आफ्नी अठार वर्षे श्रीमती र एक वर्षे छोरो छोडी ऊ अमेरिका भासियो । गर्व गरेर भासियो । समाजमा डुक्राँ गरेरै छिर्यो । साथीभाइसँग होक्काँ गरेरै आयो । एउटा स्वप्नदोषको झैँ मजा मानेर छिर्यो । विछोडको रात श्रीमती बेस्सरी रोई । सायद श्रीमतीलाई लागेको थियो होला कि अमेरिका पुगेपछि लोग्ने गोरीकालीसँग बिग्रने होला । माया मार्ने होला । त्यसैले उसले श्रीमतीको पोटिलो शरीर बेस्सरी सुम्सुम्यायो । बेस्सरी टाँसियो । कपाल पन्छाइदियो । आँसु पुछिदियो । र, बाचा गर्यो, “एकाध वर्ष त हो काली, म पेपर बनाएर तिमीहरू सबैलाई लगिहाल्छु नि ।”
सायद श्रीमतीले पत्याई । नपत्याए पनि विकल्प थिएन । श्रीमतीका मनमा पनि अमेरिकी वैभवको आकर्षण थियो होला । किनकि उसको कोठाका भित्ताभरि अमेरिकी डाउनटाउनका गगनचुम्बी महलका तस्बिर टाँसिएका थिए । छटाँडे सडकमा गाडीहरू सरर कुदेका भिडियोहरू तन्मयका साथ हेरिएका थिए । ऊ अबिर र माला लगाएर घरबाट हिँड्यो । सबै छिमेकी, आफन्त, इस्टमित्र भन्दै थिए, “हरि भाग्यमानी रहेछ, कस्ता कस्तालाई अमेरिका जाने भिसा लागेको छैन, यो पिउसोलाई त चिट्ठै पर्यो ।”
वर्षीको छोरो भने निर्विकल्प मस्तले सुतेको थियो ।
०००००
डालस एयरपोर्टमा झर्दा रातको ८ बजेको थियो । बाहिर सिमसिम पानी परिरहेको थियो । टाँडे एयरपोर्ट रहेछ त्यो । टाँडमाथि पनि सार्वजनिक र निजी सवारीहरू गुडिरहेका थिए । उसलाई उसकै गाउँको सुब्बा साहेबको छोरो मित्रप्रसाद तिवारी लिन आउने भएको थियो । नेपालमा छँदा हाइस्कुलको क्लास फ्रेन्ड थियो मित्र । त्यसैले ऊ पर्खेर बस्यो । एक घन्टाको पर्खाइपछि बल्ल मित्र देखा पर्यो । नत्र त उसको हंसले ठाउँ छाडिसकेको थियो । लगलग काम्न थालेको थियो । कहाँ जाने ? कता जाने ? बहुत ठूलो चिन्तामा थियो ।
मित्रप्रसादले उसलाई आफ्नो घर लिएर गयो । दुःखसुख सुनायो । खान दियो । बैठकमा भए पनि सुत्न दियो । अमेरिकामा यत्तिको खातिरदारी कमै मान्छेले मात्र गर्छन् । यसरी मित्रले आफ्नो साथी हुनुको दायित्व पूरा गर्यो ।
एक दिन मित्रले उसलाई भन्यो, “हेर यार, अब यो अमेरिका हो । सधैँ बसेर खाने कुरा पनि आउँदैन । के गर्छस्, नेपाल फर्कने कि यतै लुकेर काम गर्ने ?”
“त्यत्रो खर्च गरेर अमेरिका आएको के नेपाल फर्कनलाई हो त ?” उसले जवाफ फर्काएथ्यो ।
“त्यसो भए यो डालस सहरमा बसेर हुन्न । यहाँ पुलिसको नजर ज्यादै तीव्र हुन्छ । गाउँमा जा । मैले एउटा पाकिस्तानीसँग कुरा गरेको छु । सायद मिल्छ होला ।”
०००००
उसले पञ्जा लगाएर पहिले ट्वाइलेट सफा गर्न सिक्यो । पार्किङ् लट सफा गर्न सिक्यो । फ्रिजरमा पसेर सामान हाल्न सिक्यो । चुरोटका नाम सिक्यो । अहा ! मार्लबोरो सिगरेटकै ३५ थरि । ऊ अचम्म मान्थ्यो । एक महिना खान–बस्न दिएर फ्रीमा काममा लगायो पाकिस्तानीले ।
अझ उफ अङ्ग्रेजी ! उसले बीए पास त गरेको हो नि नेपालमा । पाएको भए शाखा अधिकृत भएर तगझग गर्दो हो । उसले अङ्ग्रेजी पनि नेपालीमा पढेको हो । र, यहाँका मान्छेले बोलेको अङ्ग्रेजी बुझ्न पनि निकै गाह्रो भएको छ उसलाई । झन् कालाले बोलेको त एक शब्द बुझे मारिदिनु । एकातिर पेपर छैन उसको । अर्कोतिर सीप पनि त रहेनछ । धन्न ! यो पाकिस्तानी छ र जागिर दिएको छ । उसले सम्झ्यो यो पाकिस्तानी भावी हो उसको । धन्न ! उसले आफ्नो छोरालाई इम्प्लोइ बनाएर मलाई काममा लगाएको छ । तर पनि पेपर नभएकाले पुलिस देख्नेबित्तिकै उसको हंसले ठाउँ छोड्छ ।
ऊ उहिले खाएको थालमा चुठ्थ्यो । अहिले ऊ स्टोरभित्रको ‘ब्लिम्पी’ रेस्टुरेन्टका भाँडा माझ्दैछ । उहिले ऊ मान्छेलाई काममा लाउँथ्यो । अहिले ऊ साहुको कडा बोली चुपचाप सहन्छ । आज्ञाकारी बालकझैँ शिरोपर गरिरहन्छ । स्टोरको धूलो बढार्छ । मपिङ गर्छ । पुछ्छ । ठूला ट्रकमा आएका सामानहरू मिलाउँछ । सधैँ कृत्रिम बोल्छ । उही भाषा, उही भेष । हरेक दिन काम गर्दछ । न दसैँ, न तिहार । यसरी नै कैयौँ दसैँ–तिहारहरू गएका छन् । ऊ एकछिन बस्न पाउन्न । क्यामराले निरीक्षण गरिरहन्छ । साहुनी छे कर्कशा । साहु छ चेपारे । उसलाई यति रिस उठ्छ कि ‘यिनीहरूलाई गिँडेर फालिदिऊँ ।’
तर उफ, ऊसँग पेपर छैन । पेपर भएको भए त जानेको थियो नि । तर फेरि आश गर्छ ऊ कि सरकारले यस्ता इलिगल इमिग्रेन्टहरूलाई ‘पेपर’ दिने हल्ला फेरि चलेको छ ।
ऊ हेरिरहेको छ । परबाट साहुनी आई । स्टोरभित्र पसी । सरासर ट्वाइलेट पसी । बाहिर निस्किएर कराई, “अरे ह्यारिस, आज तुमने अच्छा से रेस्टरुम साफ नही किया है । पार्किङ लट् भी साफ नहीँ किया है । कितना बार कहुँ तुझे । तुम आदमी हो कि जानवर हो ?”
उसले मुख फर्काएन । उसले थाहा पाएको छ कि योभन्दा पहिलेका धेरै कामदारहरू साहुनीसँग मुख फर्काएकै कारण जागिरबाट निकालिएका हुन् । यो कुरा मित्रले उसलाई बेस्सरी सम्झाएको छ । त्यसैले ऊ दाइएको बहरझैँ लगातार मेलोमा हिँडिरहेछ । देब्रे भने देब्रे, दाहिने भने दाहिने । बरु नारिएको गोरु या त देब्रे हिँड्छ, या त दाहिने मात्र । ऊ आफूलाई नारिएको गोरुभन्दा बदत्तर ठान्छ । त्यसैले ऊ रेस्टरुम सफा गर्न पस्छ । रेस्टरुमबाट निस्कन पाएको छैन, साहुनी पसलको र्याकमा लागेको धूलो चोरी औँलाले देखाएर भन्छे, “अरे ओ ह्यारिस, तुम्हारा आँख नहीँ है क्या ? देखो तो कितना गन्दा है यहाँ पर ? बैठ के खाते हो क्या ? काम धाम कुछ नहीँ करते हो ?”
ऊ सफा गर्न थाल्छ । काउन्टरमा गोरे उभिएको हुन्छ । साहुनी कराउन थाल्छे, “अरे ओ ह्यारिस, अन्धा हो क्या ? देखता नहीँ है, काउन्टर पे कस्टमर है ।”
दिनहरू बितेकै छन् । दिनदिन मरेको छ । छिनछिन मरेकै छ । नेपालमा पैसा पठाएकै छ । खर्चपानी राम्रोसँग चलेकै छ । कहिलेकाहीँ ऊ नेपाल फर्कने कुरा गर्छ । उसकी श्रीमती भन्छिन्, “यो छोराको पढाइ नसकी त के गर्नु ? अचेल पढाइ कति महँगो छ । यहाँ आएपछि कमाइ हुने होइन ।”
अहो ! मेरी बुढी मजाले आफ्नो बैँस कुर्वान गर्न तयार छे । हे अचम्म ! कस्तो हुन्छ हगि आमाको मन । आफू मर्न तयार हुन्छन् तर सन्तानको भविष्यमा कुृनै सम्झौता गर्दैनन् ।
तर बुढी भएकी आमाले भने दुःखी भएर भन्नुहुन्छ, “बाबु, कति बस्छस् अर्काको नोकर भएर । आइज यहाँ पुर्खाको छाला छ । मान्छे लगाएरै खान पुग्छ । यो कर्कलाको पानीजस्तो जीवन कति दिन रहने हो र ? आइज अब । भन् तँ कहिले आउँछस् ?”
लाठे छोरो भन्छ, “बाबा, आइ फोन टेन प्लस निस्किएको छ रे, पठाइदिनु न ।”
अहो ! छोराको एक लाखको फोन बोक्ने रहर देखेर ऊ निकै विरक्तिन्छ ।
ऊ सम्झिरहेको छ, पोहोर साल उसलाई बन्दुक देखाएर स्टोर लुटेको दिन । त्यो बन्दुकबाट एउटा गोली फ्याँकिदिएको भए उसको इहलीला समाप्त हुने थियो । पुर्खाको धर्म थियो, जो ऊ त्यसबाट बाँच्यो ।
उसको मन विदीर्ण भएर आउँछ । यो अमेरिकी जीवन, यो ग्यास स्टोर र त्यो सडक पारिपट्टिको चर्चमा बज्ने घन्टी एकैपल्ट उसलाई चिथोर्न आइपुग्छन् । र, पनि चल्दै छ जीवन । अब त यो जीवनबाट स्वप्नदोषको मजा पनि हराइसकेको छ ।
ऊ सम्झन्छ र छिटोछिटो मपिङ गर्दै हुन्छ अनवरत, अनवरत ।
०००००
एउटी क्लाउडिया छे, उसको दुःख साँच्चीकै बुझ्छे । क्लाउडिया हरेक दिन उसले काम गर्ने स्टोर आउँछे । कसिलो हग गर्छे । हग गर्दा क्लाउडियाका वक्षस्थलले धसासिएर एउटा मीठो झङ्कार उत्पन्न हुन्छ । रोमाञ्चित हुन्छ ऊ । क्लाउडियाले कहिलेकाहीँ उसलाई खानेकुरा पकाएर ल्याइदिन्छे । मीठो मायालु नजरले हेर्छे र भन्ने गर्छे, “ह्यारिस, किन उदास देखिन्छौ ? जिन्दगी उदासीका लागि होइन, खुसियालीका लागि हो । जिन्दगी इत्तफाकमा कुदेको हुन्छ । हेर त तिम्रो र मेरो भेट पनि इत्तफाक त हो नि । नत्र त तिमी नेपालको, म होन्डुरसकी । कस्तो माया लाग्छ मलाई तिम्रो । के मैल ेझैँ तिमी मलाई साँच्ची माया गर्छौ त ?”
उसले क्लाउडियालाई मीठो हग गरेको थियो । र, उसका सेता सङ्मरमरजस्ता श्वेत गालामा किस गरेको थियो ।
उसले एक दिन क्लाउडियालाई भनेको थियो, “म तिमीलाई अघोरै माया गर्छु क्लाउडिया, तर तिमीलाई थाहा छ कि म विवाहित हुँ । नेपालमा मेरो एउटा छोरा र श्रीमती छन् । उनीहरूलाई म खर्चपानी पठाइरहन्छु । यस्तो अवस्था छ मेरो भने तिम्रो र मेरो रिलेसन कसरी सम्भव होला ?”
क्लाउडिया मजाले हाँसेकी थिई ।
अनि मैले नै उसलाई सोधेको थिएँ, “किन यस्तो हाँसेकी क्लाउडिया ?”
उसले जवाफ दिएकी थिई, “मैले सुनेको थिएँ कि लोग्नेमान्छेहरू बेवकुफ र मूर्ख हुन्छन् रे । आज पक्का भयो कि साँच्चै बेवकुफ हुँदा रहेछन् ।”
“किन त्यसो भन्यौ क्लाउडिया ?”
“भन त तिमी नेपाल नगएको कति वर्ष भयो ?”
“तिमीलाई थाहा छ, म पेपर पर्खेर बसेको छु । दस वर्ष भयो नि ।”
“अनि तिमी पत्याउँछौ कि तिम्री स्वास्नी तिमीलाई नै पर्खेर बसेकी छे ? मूर्ख ।”
“पक्का पर्खिन्छे । यो हाम्रो संस्कार हो ।”
“भो पत्याएँ, तिमीहरू मान्छे होइनौ ? मान्छेमा हुने संवेदना तिमीहरूमा हुन्न ? उच्छवास हुन्न ? चाहना हुन्न ? कसरी मान्छेले वर्षौंवर्ष यसरी पर्खिन सक्छ ? असम्भव !”
“हाम्रो नेपालमा त जिन्दगीभरि पर्खिन्छन् । जिन्दगीपछि पनि पर्खिन्छन् ।”
“अवैज्ञानिक कुरा नगर । के मैले नेपालमा भएका श्रीमतीहरूको कथा सुनेको छैन र ? समाचार पढेको छैन र ? लोग्नेले विदेशबाट कमाएर पठाएको पैसामा मोज गरी अर्कै टिपेर फरार भएको कुरो मलाई थाहा छैन र ?”
क्लाउडिया राम्री छे । उसको सुन्दर गोरो गालामा पर्ने खोपिल्टा निकै सुन्दर देखिन्छन् । उसलाई ती खोपिल्टाहरू खुबै मन पर्छन् । क्लाउडिया खासमा उसलाई प्रेम गर्छे । उसको प्रेमको अर्थ जुनीजुनीको होइन । ऊ यसै जुनीमा, अहिले नै प्रेम भोग गर्न चाहन्छे । भोग नगरिएको प्रेम, सम्पत्ति, इज्जत, सान सौकत सबै बेकार हुन् भन्छे ऊ । बैँस पनि क्षणिक हो भन्छे ऊ । सम्पत्ति पनि क्षणिक हो भन्छे ऊ । इज्जत, सान सौकत पनि टेम्पोररी हुन् भन्छे ऊ । उसले आफ्नो जीवनमा पाँचौँ ब्वाइफ्रेन्ड छाडेर उसलाई बनाउन चाहन्छे । बिहे नै गर्न चाहन्छे । उसलाई पक्का थाहा छ कि क्लाउडिया उसलाई उसकी श्रीमतीले जस्तो सदा पर्खेर बस्दिन ।
एक दिन क्लाउडियाले उसलाई भनी, “पेपरको कुरामा किन त्यति धेरै चिन्ता लिन्छौ ह्यारिस, तिम्री सोकल्ड श्रीमतीलाई डिभोर्स गर । मसँग बिहे गर । तिम्रो पेपर भइहाल्छ नि ।”
एक झ्वाँक चल्छ कि ठीकै त भनी क्लाउडियाले । ऊ क्लाउडियाका कुरा सुनेर मन्त्रमुग्ध भएको छ । ऊ पनि सोचिरहेको छ कि नभोगेको जीवन पनि के जीवन ? यो जीवन भन्ने कुरा पनि चेतनाको कुरा रहेछ ।
ऊ नेपाल सम्झिन्छ । देख्न थाल्छ । बालविधवाहरू आफ्नो ८० वर्षे जीवनमा कतै रातो पर्यो कि भन्ने चिन्ताले ग्रस्त हुन्छन् । उनीहरूको जमीरले भन्छ कि वैधव्यलाई रातो वर्जित छ । त्यो पाप हो । त्यो अकर्म हो । त्यो अधार्मिक हो । तर आफ्नो वयस्क जीवनमा लोग्ने मरेको विधवाले रातो लगाएको उसले कैयौँपल्ट देखेको छ । कतिपयले त पुनर्विवाह गरेका, पारपाचुके गरेका, वैवाहिक अवस्थामा धन्दा चलाएका कैयौँ कुरा उसलाई थाहा छ । यो नेपालको कुरा हो ।
र, ऊ जीवनलाई निकै नजिकबाट चियाउँछ । क्लाउडिया उसको जीवनमा भोगवादी भएर देखा परेकी छे । क्लाउडिया उसलाई अघोरै प्रेम गर्छे । तर ऊ पर्खिन्न । किनकि जीवनले पर्खेर बस्दैन । बैँसका उमङ्गहरूले पर्खेर बस्दैनन् । जन्मँदा एक्लै जन्मने हो । मर्दा एक्लै मर्ने हो । यो बीचका जिजीविषाहरू त सापेक्ष छन् । हुन्छन् । त्यसैले ऊ एकछिन सोच्छ कि उसकी स्वास्नीले पनि त नाठा खेलाएकी होली नि । कसलाई थाहा ? केको विश्वास ? केको ग्यारेन्टी ? फेरि तत्क्षण ऊ सोच्छ– भो, उसकी स्वास्नी त्यस्ती हुनै सक्दिन । ऊ रुन्छे बरु । मर्छे बरु । तर ऊ त्यस्ती हुनै सक्दिन । यसरी अनायास एउटा विश्वास प्रबल भएर आइदिन्छ । उसलाई अबोध श्रीमतीको माया उर्लेर आउँछ ।
र क्लाउडियालाई भन्छ, “भो क्लाउडिया, हामी बेस्ट फ्रेन्ड मात्र होऔँ । साँच्ची भन्छु रिलेसन सम्भव छैन ।”
ऊ जाँदाजाँदै भन्छे, “ठीक छ, तर पैसा आफैँसँग राख, तिम्री स्वास्नीले नाठा खेलाएर तिमीलाई बिल्लिबाँठ पारेकी पनि हुन सक्छे, मूर्ख मान्छे !”
०००००
अन्त्य कथाः आफ्नो कन्डो एपार्टमेन्टमा आएर डङरङ्ग ओछ्यानमा पल्टियो ऊ । जनवरीको महिना बाहिर हिउँ जमेको थियो । ओछ्यान चिसो थियो । एक बोतल वाइन घुट्क्यायो । उसका दिमागभरि क्लाउडियाका चुम्बनहरू सलल बगेर आए । उसलाई क्लाउडियाले ‘नपुङ्सक कायर’ भनेर छोडिदिएकी पनि सम्झ्यो । क्लाउडियाले एउटा मेक्सिकन लाठेलाई लिएर आएकी र ऊसँग ‘माई न्यू ब्वाइफ्रेन्ड’ भनेर चिनाएको पनि सम्झ्यो । त्यो दिन उसलाई मरेको न बाँचेको अनुभूति भयो । एकप्रकारले विभिन्न उच्छ्वासमा आएको स्वप्नदोषजस्तै भई क्लाउडिया उसका लागि । ऊ जीवन भोग्न लागिपरी । जाँदाजाँदै उसले कसिलो अँगालो हाली । मेरो गालामा किस गरी । उसको ब्वाइफ्रेन्डले फोटो खिचिदियो । र, उसले भनी, “एनिवे, आई लभ यू ह्यारिस । वी ह्याड अ नाइस टाइम ।”
त्यसपछि क्लाउडिया बेगले हिँडी । यसरी बतासिई कि पश्चिमा हावाले उसलाई उडाएर धेरै पर पुर्यायो । तर पूर्वी हावाले क्लाउडियालाई कहिले पनि ऊनजिक ल्याइदिएन ।
र, तत्क्षण घरमा श्रीमतीले हरेक साल स्वस्थानीको व्रत लिएर आठ रोटी कोसीमा बगाँउदै गरेको तस्बिर फेसबुक वालमा हेर्दै भावुक भयो । श्रीमतीको चाउरीउन्मुख अनुहारलाई डेन्टिङ् पेन्टिङ्ले पनि नछोपेकोझैँ लाग्यो उसलाई । श्रीमतीको झर्दै गरेको बैँस हेरेर उसको एक मनले ठान्यो कि ऊ पापी हो । ऊ कल्पियो, श्रीमतीको सुक्दै गएको बैँसको क्षतिपूर्ति के दिनु र ? पैसाले हुने भए त ऊ धनी बाउकै छोरी हो नि । के पैसा बैँसको क्षतिपूर्ति हुन सक्छ ?
वर्षीको छोरो छाडेर आएको ऊ अहिले लाठे भएको तस्बिरमै हेरिरहेथ्यो । छोरो पनि सायद केटी साथीहरूबाट आउने भुइँचम्पे सुगन्ध मन पराउन थालेझैँ लाग्यो उसलाई । अति वृद्ध भइसकेका बाबुआमालाई सम्झ्यो । आमाको काख सम्झ्यो । छोरो हुुनुको कर्तव्य पनि सम्झ्यो । भावविह्वल भयो । आँखाका डिलहरू ओभानिएनन् । मुटुको धड्कन तेज भयो ।
चुरेपहाडमा सलक्क परेका अग्ला अग्ला सालका रुख सम्झ्यो । दुई चम्के पहाडलाई सम्झ्यो । दसैँ–तिहार र चाडपर्व सम्झ्यो । साहिँली–माइली सम्झ्यो । जुटशीतलको मेलामा भेटिएका थरुनीहरूलाई दिमागभरि खियायो । थरुनीलाई तात्तातो जिलेबी किनेर खुवाउनुको मजा नै केही विशिष्ट थियो । चलानी मुरलीको एकसुरे धून र मुखमा राताम्य बनाउने चलानी पानी बरफ खाँदै खुसी भएका दिनहरू सम्झ्यो । अनि ऊ निदाउन सकेन । एक बोतल वाइनले पनि झ्याप्प निद्रा लगाएन । त्यसैले बिहान अबेलासम्म सुत्यो । एक्कासि मोबाइलमा घन्टी बज्यो । त्यो घन्टीले उसलाई ब्युँझाइदियो । घन्टी साहुको थियो । साहु भन्दै थियो, “अरे ह्यारिस, आज् एक घन्टा पहले आ जाओ । ठीक है ।”
उसले ब्याग बोक्यो र गाडी स्टार्ट गर्यो । इनर्जी ड्रिङ्क रेडबुल नखाई उसको निद्राको आलस्य बीसको उन्नाइस भएन । यसरी राती वाइन र दिउँसो रेडबुलले उसको दैनन्दिनी धानिएको छ । स्टोरमा आउने दिव्य सुन्दरीको कसिलो हगबाट मर्माहत हुन्छ । र, ऊ फेरि स्वप्नदोषको आनन्दमा पुग्छ ।
उसले सोच्न थाल्यो, अहा ! जीवन कति मीठो स्वप्नदोषको स्खलनजस्तै । र, जीवन कति घिनलाग्दो स्वप्नदोषपछिको भित्री कपडाजस्तो । यथार्थ कहरजस्तो ।
फेरि ऊ काममा पुगेको छ । र, आकाशतिर हेरेर आश गर्दै छ अनवरत अनवरत । कसो एक दिन अमेरिकी सरकारले ‘पेपर’ नदेला त !