कथा

छिनिएको त्यान्द्रो

छिनिएको त्यान्द्रो

मिली सरासर मूलढोकाबाट भित्र पसी ।

मैले सदाझैँ अभिवादन गरेँ, “हाय मिली !” 

यो पटक अचम्मै भो । मेरो अभिवादन सुनेर पनि मिलीले कुनै प्रत्युत्तर दिइन ।

नजिकै आएपछि देखेँ, उसको अनुहार मलिनो थियो । मलाई उसको यो व्यवहार अचम्म लाग्यो र खसखस पनि ।

“के भो मिली ?” मैले सोधेँ ।

म उसको जवाफको प्रतीक्षामा थिएँ । एकछिन त बोल्नै सकिन तर बिस्तारै मुख खोली र भनी, “डेनी अब यो संसारमा छैन । उसले मलाई छाडेर गयो ।” मोतीका दानाजस्ता देखिने आँसु आँखाको मूलबाट बग्दै बग्दै आएर चिउँडोमा एकछिन हल्लियो र उसको सुकेको छातीमा टप्प झ¥यो ।

मलाई चक्कर आएजस्तो भयो । डेनीको अनुहार र डम्म परेको शरीर मेरो आँखा अगाडि नाच्न थाल्यो । मिलीको अनुहार पङ्खाजस्तो घुमेको देखेँ । एकाएक आफूलाई सम्हालेँ र उसलाई सान्त्वना दिँदै भनेँ, “ओ माई गड... आई एम सरी ।”

मिली सधैँ आउँथी तर यस पटक एक हप्तापछि मात्र आएकी थिई । उसका आँखा रसिला थिए । मुखमा आवाज धसिएको थियो । आँखाहरु चिम्सा थिए । कलेटी परेको ओठ र चाउरी परेका गालाको मुजाबाट आँसु तप्पतप्प भुइँमा झरिरहेका थिए । उसको लोग्ने सात महिनादेखि नर्सिङ होमको शय्यामा छ भन्ने मलाई थाहा थियो । उसैले मलाई एकपटक टाउको हल्लाउँदै भनेकी थिई, “क्रिस, डेनी नर्सिङ होमको शय्यामा नाजुक हालतमा छ । आई डोन्ट नो... ।”

त्यतिबेला पनि मैले सान्त्वना दिँदै भनेको थिएँ, “भगवान्को कृपाले उसलाई ठीक हुन्छ ।”

अनि उसले मलाई मुरीका मुरी धन्यवाद दिएकी थिई ।

म धीर भएर उसका कुरा सुनिरहेको छु । अनि ऊ बोल्दै गई, “तर... तर डाक्टरहरुले उसलाई बचाउन हरसम्भव उपाय गरे, सकेनन् । बाँच्नका लागि निरन्तर सङ्घर्ष गर्दागर्दै एक हप्ताअघि उसले यस धर्तीबाट अन्तिम सास लिएर बिदा भयो ।” मिलीले सकिनसकी यति मात्र भनी र चुप लागी । मैले फेरि क्षमायाचना गरेँ । उसको आत्माको चिरशान्तिका लागि श्रद्धाञ्जली पनि दिएँ । उसले फेरि धन्यवाद दिई ।

मिली छोटी कदकी आइमाई हो । त्यतिका हिउँद खाएर पनि उसको जीवन उत्साहपूर्ण छ । ऊ सधैँ उत्साही रहन्छे । “जीवन उत्साहपूर्ण भएन भने त मरेजस्तै त भयो,” ऊ बरोबर भन्छे । ऊ पत्येक हप्ता ब्युटी पार्लर जान्छे र थुप्रै पैसा खर्च गरेर हात र खुट्टाको नङमा रङ–बेरङका रङ भर्छे र चाउरी परेको हात मलाई देखाउँदै सोध्छे, “हेर त यसपालि यो रङ लगाएँ ।”

“यो रङ कस्तो लाग्यो तिमीलाई ?” उसले सोधी ।

“एकदमै राम्रो लाग्यो,” मैले भनेँ ।

ऊ मख्ख हुन्थी ।

भाग्यमा उसको ठूलो विश्वास थियो । त्यसैले त ऊ भयानक हिउँ परेको बखत होस् वा प्रचण्ड गर्मी होस्, ऊ पर्वाह नगरी आउँथी, लोग्ने र आफ्नो नाममा चिट्ठा किन्थी र जान्थी । र, भोलिपल्ट आएर त्यसको परिणाम हेर्थी र खिस्स पर्थी । पर्ला कि भनेर फेरि किन्थी । फेरि हिस्स पर्थी । चिट्ठा किन्ने उसको दैनिकी थियो । ह्विलचेयरको आवश्यकता नपर्दासम्म त डेनी पनि त्यसै गर्थ्र्यो, आउँथ्यो, घन्टौँ बसेर खेल्थ्यो र निराश हुँदै फर्कन्थ्यो । मिली कहिलेकाहीँ मसँग सोध्थी, “यो चिट्ठाबाट १० लाख डलर प-यो भने म के गर्छु, थाहा छ ?”

तर, मेरो उत्तरको प्रतीक्षा नगरी आफैँ उत्तर दिन्थी, “डेनीलाई लागेको पार्किन्सन रोगको उपचारका लागि भनेर च्यारिटी खोल्थेँ । अलिअलि चर्चलाई दान दिन्थेँ र बाँकी रकम मप्रति हार्दिकता देखाउने सबैलाई बाँडिदिन्थेँ । म एक पैसा पनि राख्थिनँ । किनकि पैसा बोझ र अहङ्कार दुवै हो । त्यसैले यसलाई सकेसम्म बाँडिहाल्नुपर्छ । यो जीवनपछि पनि त अर्को जीवन छ । त्यसका लागि पनि त सत्चरित्रता देखाउनुपर्छ ।” तर, उसको यो कल्पना कहिल्यै पूरा भएन । अहँ ।

चिट्ठा पर्ला कि भन्ने त्यही आशाको त्यान्द्रोमा उसको जीवन झुन्डिएको थियो । “जीवनमा आशा गरिरहनुपर्छ, उत्साहले जिउनुपर्छ । निराशाले त जीवन खत्तम बनाउँछ । निस्सार जीवनको के नै अर्थ हुन्छ र ?” ऊ भनिरहन्थी ।

बानीव्यहोरा राम्रो भएकाले ऊ सबैकी प्रिय थिई । सबैले उसलाई ‘हाय मिली’ भनेर सम्बोधन गर्थे । ऊ खुसी हुन्थी र सबैलाई मुन्टो नबटारीकन हाँसीहाँसी लामो जवाफ फर्काउँथी । उसको यो व्यवहार देखेर मैले उसको नयाँ नाम न्वारान गरिदिएथेँ, ‘ब्युटी लेडी अफ दि टाउन’ । जब ऊ ढोकाबाट भित्रिन्थी वा बाहिरिन्थी, म त्यही उपमा दिन्थेँ । ऊ मुसुक्क हाँस्थी र मैले जुराइदिएको विशेषणयुक्त नाम अरुलाई पनि हाँस्दै सुनाउँथी, “हेर न, यो क्रिस मलाई यसो भन्छ ।”

“यतिका वर्ष बितेछन् । मैले त बल्ल पो थाहा पाएँ,” उसले औँला भाँच्दै विवाह भएदेखिका वर्ष गन्दै गई, “४८ वर्ष भएछन् एकसाथ बिताएको ।”

उसले गुनगुन गर्दै काँपेका हात कालो झोलाभित्र घुसारी । त्यहाँबाट उसले तीनवटा पुराना श्यामश्वेत फोटो निकालेर मेरो हातमा थमाई । तीेमध्ये दुइटामा सान्निध्यता थियो । दुवैले भिन्दाभिन्दै पोजिसनमा सानो भोटे कुकुर च्यापेका थिए भने तेस्रो चाहिँ डेनी र उसले गालामा चुम्बन स्पर्श गरेको थियो । मैले केही बेर हेरेँ र ऊतिर बढाएँ । उसले फेरि एकटकले त्यो फोटो हेरी र जतनले झोलामा राखी ।

मैले एकपटक उसलाई जिस्क्याएर सोधेको थिएँ “मिली, तिम्रो जीवनमा ऊसँग सर्वाधिक खुसीको क्षण कहिले थियो ?”

उसले केही पनि सोचिन र तुरुन्तै उत्तर दिई, “सधैँ ।”

उनीहरुको जोडी चखेवाचखेवीको जस्तै थियो । टोलका मानिसहरु उनीहरुको प्रेमकहानीका किस्सा पनि हाल्थे । एकपटक डेनी नुहाउन भनेर बाथरुम छिरेको थियो रे । चिप्लिएर लडेछ । मिलीसँग उसलाई उठाउन सक्ने ताकत थिएन । अनि उसले टबमै सिरानी लगेर राखिदिएकी थिई रे । उनीहरुको जीवन गुनासोरहित थियो । ठूलो स्वरबिनाको जीवन । उत्साहपूर्ण जीवन । उसले मुन्टो घुमाएर भन्दै गई, “अहँ, कहिल्यै पनि मसँग उसले एक शब्द पनि ठूलो स्वरले बोलेन । न त मैले नै ठूलो स्वरले जवाफ फर्काएँ । लोग्ने रिसाउँदा स्वास्नी र स्वास्नी रिसाउँदा लोग्ने नरिसाउने हो भने त्यसको जीवन सुखदायी हुन्छ । उसले आफूमा रहेका प्रेमका भण्डारहरु निरन्तर ममाथि रित्याइरह्यो । कहिलेकाहीँ लाग्थ्यो, प्रेमको भण्डार रित्तिएपछि भोलिभोलि के प्रेम गर्ला र ? अहँ, प्रेम त नसिद्धिने रहेछ । जति दियो, त्यति बढ्ने । सायद त्यसैले होला । मैले जीवनभर उसको प्रेम पाइरहेँ ।”

“त्यसको बदलामा तिमीले के दियौ त ?” मैले सोधेँ ।

“मसँग उसलाई दिने अरु चिज नै के थियो र ? मैले पनि त्यही दिएँ, जुन उसले मलाई दिएको थियो ।  ऊ मेरो लोग्ने मात्र थिएन, मेरो असल साथी पनि थियो । मेरो सुखदुःखको चश्मदीद गवाह र मेरो जीवनयात्री । अब यो यात्रामा पूर्णविराम लाग्यो । अब यो धर्तीमा ऊ छैन । ऊ बस्ने धर्ती बदलिएको छ । मेरो जीवनको त्यान्द्रो चुँडिएको छ,” बोल्दाबोल्दै उसका गला अवरुद्ध भए । एकछिन चुप लागी र फेरि पुराना यादहरु कोट्याई, “हामी थुप्रै स्थान गयौँ छुट्टी मनाउन ।”

फ्लोरिडादेखि अलास्कासम्मका यादहरु उसले सुनाई । गालाजस्तै मुजामुजा परेका पुराना स्मरणहरु जति कोट्याउँथी, त्यति नै उसलाई गाह्रो भइरहेको लाग्थ्यो । “अबका दिनहरु अझ गाह्रा हुनेछन् । वैधव्य जीवन बिताउन गाह्रो हुनेछ । बाहिरबाट फर्कंदा अझै पनि ऊ घरमै छ जस्तो भान पर्छ तर ऊ छैन । निराश हुन्छु । अस्पतालमा थियो त के भयो ? ऊ त थियो, उसको नश्वर शरीर त थियो । उसलाई भेट्न जाँदा जब मैले निधारमा हात राखिदिन्थेँ, मेरो हात च्याप्प समाउँथ्यो । कहिलेकाहीँ त चुप्पा पनि गथ्र्यो । मैले उसको टाउकोमा हात राखिदिँदा ऊ मेरो हातको राप पाएजस्तो गरी बौरिन्थ्यो  आँखै्रआँखाका इसारामा हामी बोल्थ्यौँ । कुनै दिन घर फर्केर आउँछ भन्ने आश त थियो तर आएन । हो, ऊ फर्केर आएन । निष्ठुरी कालले उसलाई खायो । उसले यो धर्तीबाट बिदा लिएको खबर मात्र थाहा पाएँ । अन्तिम सास लिनुअघि उसले मलाई भेट्न चाहेको थियो रे । तर, म पुग्न सकिन । म बाटोमै थिएँ । त्यहीँ ऊ मरेको खबर आयो । म गाडीको सिटमै डङ्रङ्ग पल्टिएँ । त्यसपछि के भयो ? मलाई नै थाहा भएन ।”

मिलीले आफ्ना कुरा सिध्याई । मिलीका विरहका क्षणहरु सुन्दा मलाई पनि साह्रै नरमाइलो लाग्यो । मेरा आँखाबाट पनि आँसुका थोपाहरु झरे अनि उसले उत्साहपूर्ण जीवनबाट एकैपटक छलाङ मारेर निस्सार निस्सार जीवनको बोध गर्न थाली र भनी, “क्रिस, जीवन यस्तै रहेछ । कोही चाँडो, कोही ढिलो सबै जानु नै पर्ने रहेछ । अब म पनि यो निस्सारमय जीवन धेरै दिन बाँच्न सक्दिनँ होला । म पनि ८४ वर्ष पुगेँ । ऊ मभन्दा दुइ वर्ष कान्छो थियो ।”

“होइन मिली के भन्या यस्तो ? कसको जीवन दुबोको जस्तो हरियैहरियो छ र ? कसको जीवनमा दुःख आएको छैन र ? सुख त कताकति भोगिने चिज मात्र हो । जीवन नै दुःखमय छ । प्रारब्धको खेल भने नि प्रकृतिको नियम भने नि यही सत्य हो...जीवन र मृत्यु,” मैले भनेँ ।

उसले स्वीकारोक्तिमा टाउको हल्लाई ।

मिलीका सन्तान थिएनन् ।

मैले सोधेको थिएँ, “किन नि छोराछोरी नपाएका ?”

उसले सोझो जवाफ फर्काई, “सन्तान पाउने चाहना भएन । हाम्रो बिहे पनि ढिलै भएको थियो । सन्तानप्राप्तिमा भन्दा कामप्रति बढी लगनशील भएको र कामलाई नै माया गर्ने भएकाले त्यतातिर हामी दुवैको ध्यान गएन । उसको भर म र मेरो भर ऊ भयो । त्यही भरकै लागि त हो सन्तान पाउने पनि । हामी एकअर्काको भर भएकाले सन्तानप्राप्ति हाम्रो प्राथमिकतामा परेन । त्यसैले सन्तान भएनन् ।” उसले भन्दै गई, “अहिले ऊ मेरो सपनामा कहिलेकाहीँ आउँछ र सोध्छ– मिली, कस्तो छ तिमीलाई ? हामी अर्को जन्ममा पनि लोग्ने–स्वास्नी भएरै जन्मनुपर्छ है । ...तिमीलाई स्वर्गमा म पर्खिरहेको हुनेछु । तिमी आफ्नो प्रारब्ध भोगेर आऊ है । उसको प्रस्तावलाई समर्थन गर्न नपाउँदै म ब्युँझिन्छु । झसङ्ग हुन्छु ।”

मिलीलाई स्वर्ग र नर्कको पनि राम्रो ज्ञान छ । उसले भनी, “मलाई लाग्छ, उसले मलाई स्वर्गमै पर्खिरहेको होला ।” स्वर्ग र नर्कबारे मैले सोधेको थिएँ र उसले यसरी जवाफ दिएकी थिई, “ऊजस्तो असल मान्छे पनि स्वर्गमा गएन भने को चाहिँ स्वर्गमा जान्छ र ? हामी कोही पनि जाँदैनौँ । ऊ अहिले त्यहीँ शान्तिसँग बसेको छ । सायद मेरो बाटो हेर्दै होला ।” ऊ धेरैपटक च्वँच्वँ गर्दै टाउको घुमाउँदै थिई । म भने उसको आगत सम्झेर दुःख मानिरहेको थिएँ, “तिम्रो बूढेसकालको सहारा छिन्यो... अब के गछ्र्रौ त ?” उसले तत्काल जवाफ फर्काई “मेरो सहारा म नै हुँ । मलाई सहाराको जरुरत पर्दैन, भगवान् नै काफी छन् ।”

म निःशब्द भएँ ।

बोस्टन, अमेरिका