निषेधाज्ञा थप्नेबारे निर्णय गर्न उपत्यकाका तीन सीडीओको बैठक बस्दै

निषेधाज्ञा थप्नेबारे निर्णय गर्न उपत्यकाका तीन सीडीओको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा जारी साताव्यापी निषेधाज्ञाको समीक्षा गर्न  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्दैछ । बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख उपस्थित हुनेछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक हप्ता लामो निषेधाज्ञाको अवधि सकिनै लागेकाले अब के गर्ने भन्ने विषयमा छलफल हुने बताए । निषेधाज्ञा अहिल्यै हटाउने वा थप्नेबारे भन्ने निर्णय बैठकले गर्नेछ । तर, स्रोतले भने थप एक साता निषेधाज्ञा गर्ने निर्णय हुनसक्ने बतायो ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।