विदेशमा कोरोना संक्रमणबाट १९२ नेपालीको मृत्यु

विदेशमा कोरोना संक्रमणबाट १९२ नेपालीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट विदेशमा १९२ जना नेपालीको निधन भएको छ । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ ।  संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा थप एकजनाको मृत्यु भएको हो । 

शनिबार साँझसम्म विभिन्‍न १६ मुलुकमा रहेका १९२ नेपालीहरुको मृत्यु भएको हो । स्वास्थ्य समितिका अनुसार यो साता पनि अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार अस्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो दोस्रो लहर सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजग रहन आग्रह गरे ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।