कथा

रहस्यमयी अनुभव

रहस्यमयी अनुभव

“हेलो दिदी !”

“हेलो, म नादिरा बोल्दै छु ।”

“ए नादिरा, तिम्रो स्वर त मुमाको जस्तो भएछ त ।”

“हो र भन्या सानो मुमा ।”

“हो त छोरी ! म त मेरी प्यारी दिदी नै बोलेको होला भन्ठानेको, झुक्किएछु ।”

“कस्तो छ अहिले दिदी, भिनाजु अनि तिमीलाई ?”

“सबै जनालाई ठीकै छ सानो मुमा ।”

“अनि तिम्रो मामु कता हो खोइ ? एकछिन कुरा गर्नु थियो ।”

“यहीँ हुनुहुन्छ, मामुलाई फोन दिएँ है त ।”

“हुन्छ नादिरा, धन्यवाद !”

“हेलो दिज्जु दर्शन ! हजुरलाई कस्तो छ अहिले ?”

“सबै ठीक छ नानी । यस्तै त हो नि । त्यता सबैलाई राम्रै छ होला हैन ?”

पाकिस्तान छाडेर अमेरिका बसाइँ सरेपछि फतिमाका आमाबाबु तथा सासूससुरा अल्लाहका प्यारा भइसकेका थिए । उनको श्रीमान् एक्लो छोरा भएकाले घरपट्टि अब कोही बाँकी रहेनन् । माइतीतिर दुई दिदीबहिनी भएकाले पाकिस्तानमै भएकी एउटी बहिनीको बेलाबेलामा फोन आउंँछ र सुखदुःखको गाँठो फुकाउने गर्छिन् ।

“दिदी धेरै पीर नलिनुस् । भिनाजु त त्यसै थला परिसक्नु भयो । अब के गर्ने ? पीर लिएर मात्र समस्याको समाधान हुने हैन । समयको प्रवाहसँगै जस्तोसुकै घाउको पनि खाटा बस्छ । बस्नु पनि पर्दछ । फेरि तपाईंलाई साथ दिने छोरी नादिरा पनि त छ । उनलाई तपाईंको खांँचो छ । भिनाजुलाई पनि ढाडस दिनु छ दिदी । तपाईंले यसरी हातखुट्टा छोडेर त काम चल्दैन । समय परिर्वतन भइरहेछ । समयसँगै बग्न सक्नु नै बुद्धिमानी हो ।

कहिलेकाहीँ समाचार सुन्न बस्यो गतिलो र आनन्दको समाचार कहिल्यै सुन्न नपाइने । केटाकेटाबीच बिहे, केटीकेटीबीच बिहे, कलिला बालिकाको बलात्कार, एउटाको स्वास्नी अर्कोले लैजाने, एउटाको लोग्नेसँग अर्कीले बिहे गर्ने, कतै आप्mनै छोरीको बलात्कार त कतै बुहारीको । शरीर बिग्रिएला भनेर आफैँले बच्चा नजन्माई अरुलाई खेताला लगाएर जन्माउने तर मेरो छोराछोरी भन्न लाज–सरम नमान्ने परिस्थिति र विकृतिका समाचार सुन्न र देख्नमा आइरहेका छन् । अनौठा अनि अप्राकृतिक कुरा देख्नु र सुन्नुबाहेक राम्रा कुरा केही देख्न र सुन्न नपाइने भइसक्यो । वर्तमान संसार भ्रष्टपथतिर लागेजस्तो छ दिदी । तपाईंलाई मात्र होइन, तपाईंजस्ता धेरैलाई अहिले यस्तै नचाँहिदा समस्याले पिरोलिरहेको छ । कोही खुसी र सुखी देखिँदैनन् । सबैको आआफ्नै समस्या छ । समस्या नभएका मान्छे पाउन गाह्रो छ दिदी । यो धर्तीमा जन्मिएपछि एक दिन मर्नुपर्ने कुरा सत्य हो । मानिस समस्या साथै लिएरै जन्मिन्छन्, तिनीहरुलाई भोग्दै जानुपर्छ । सबैको समस्या उत्तिकै कष्टदायी, धारिलो र पेचिलो हुन्छ । त्यसलाई हेर्ने र समाधान गर्ने सोचाइमात्र फरक हो । ईश्वरीय सृष्टिमा कुकृत्यसँगै सुकृत्यको पनि जन्म हुन्छ । कुकृत्यको पीडापछि मानिस सुकृत्यको पर्खाइमा विचलित नभई बस्न सक्नुपर्छ दिदी ।”

फतिमा बहिनीको एकोहोरो सुझाव भनौं वा गन्थन सुनिरहन्छिन् । उनका आँखाबाट बलिन्द्र धारा आँसु झरिरहेका छन् । तैपनि मनलाई बाँधेर बहिनीलाई जवाफ दिन्छिन्, “हुन्छ नानी, म सकेसम्म विगतलाई बिर्सने प्रयास गर्छु । तर, नानी हाम्रो समाज उस्तै छ । अरुसँग घुलमिल हुँदा दुःख बिर्सिएला भनेर बाहिर निस्कन्छु । सबैले मेरै कुरा गरिरहेको सुनिन्छ । कोही छोरालाई तह लगाउन नसकेकी भन्छन्, कोही पुलपुल्याएर राखेको परिणाम भन्छन् । कोही मेरा जस्ता छोराछोरी कसैका छैनन् भन्थे ठीक पर्यो भन्छन् । मलाई देखेपछि मुखामुख गर्छन्, आँखाआँखाले कुरा गर्छन् । कोही कसरी सहेकी होली भन्छन् । हामी भए त मरिसक्ने थियौँ समेत भन्छन् । कुरा काट्नेलाई त कुरा काटे पुगिहाल्यो । पर्नेलाई मात्र थाहा हुन्छ, दुःख सहन कति गाह्रो हुन्छ भनेर । कहिलेकाहीँ त लाग्छ, भिनाजुलाई लिएर निर्जन टापुमा गएर बसौँ अथवा पहाडबीचको कन्दरामा बस्न जाऊँ । तर, एउटी छोरी साथमा छे । त्यसलाई त्यसै छाड्नु भएन । ठूलो सपनाको आशामा अमेरिकासम्म आइपुगियो । तर, परिणाम...! यहाँ नआएको भए सायद यस्तो घटना हुने थिएन कि ? आफ्नो नियतिमा लेखिएको कुरा कहीँ गए पनि मेटिँदैन भन्छन् । हाम्रो भाग्य या नियतिमा यही थियो होला ।”

“यसरी नसुर्ताउनु होला दिदी । मेरो पनि त को छ र तपाईंहरुबाहेक ।”

“हुन्छ नानी । काममा जाने बेला भयो । फेरि पछि कुरा गर्दै गरौँला ।”

फोन बन्द गर्दै फतिमा हतारहतार काममा निस्कन्छिन् । उनको काम घरबाट निकै टाढा छ । काम नगरी पनि भएन । लोग्ने ढाडको बिरामी । अहिले त झन् छोराको हर्कतले ओछ्यानै परेका छन् । धन्य छोरीले आफ्नो पढाइ सँगसँगै काम गरिरहेकी छे । आफ्नो खर्चसँगै घरमा पनि धेरथोर मद्दत पु¥याएकी छे । पूरै छात्रवृत्ति पाएर विश्वविद्यालयमा पढिरहेकी छे । पढाइ ज्यादै राम्रो छ । अहिलेसम्म बाबुआमालाई छोरीका तर्पmबाट राम्रै छ ।

यिनै कुरा सोच्दासोच्दै फतिमा घर नजिकैको ट्रेन स्टेसनबाट ट्रेन चढिन् । उनका आँखा नजिकैको खाली सिटमा पर्छ । फटाफट उतै लाग्छिन् र त्यसैमा बस्छिन् । त्यहाँबाट फतिमालाई काममा पुग्न एक घन्टाजति लाग्छ । उनी अगाडिको सिटमा आफ्नै छोराको उमेरको केटा कुकुर्नीलाई आफूसँगै टाँसेर बसिरहेको हुन्छ । उसलाई देखेर फतिमा झस्किन्छिन् । आँखा चिम्लिएर अगाडिको दृश्यबाट टाढा हुने प्रयास गर्छिन् । तर, कमलो मनले उनलाई केही वर्ष अगाडिको भयावह समाचारभित्र पुर्याइदिन्छ ।

एक दिन काम सकेर घर पुगेकी थिइन् फतिमा । चियाको कप हातमा लिएर टीभी हेर्न सोफामा बसिन् । टीभीको  समाचार देखेर उनको पैताला भासिएजस्तो भयो र सोफामै पल्टिन पुगिन् । टीभीमा आफ्नो प्यारो छोरा मिर्जा र एउटा कुकुर्नी अनि त्यस कुकुर्नीले जन्माएको छवटा छाउरा । समाचार सुन्दासुन्दै ओठमुख सुकेर बेहोस भएकी थिइन् । केही बेरपछि होसमा आएर सोफामा टाउको अडाउँदै मन बाँधेर पूरा समाचार सुनेकी थिइन् ।

उनको छोरो मिर्जा र त्यो कुकुर्नीबीचको सहवासबाट छवटा छाउरा जन्मिएका थिए । चारवटा छाउरा मान्छेजस्ता थिए र दुइटा छाउरा कुकुरजस्ता । टीभी पत्रकार मिर्जासँग विभिन्न किसिमका प्रश्न सोधिरहेका थिए । मिर्जाको जवाफ थियो, “केटीसँग विवाह गर्दा समयसमयमा झगडा हुने, मनमुटाव हुने, कुरा नमिल्ने, विवादै मात्र भइरहने तर कुकुर्नीसँग त्यस्तो अवस्था नआउने । एकोहोरो आफैँमात्र रिसाउन पाइने, जे गरे पनि केही जवाफ नदिने, कुनै प्रतिक्रिया नजनाउने, सधैँ वफादारिता देखाउने भएकाले कुकुर्नी मन परेको । फेरि सबैले आइमाईसँगै विवाह गर्नुपर्छ भन्ने के छ र ? नयाँ अनुभव पनि त हो । सबैको आआफ्नै विचार हुन्छ । मेरा मनमा यही लाग्यो । यही गरेँ ।”

सबैको आआफ्नो विचार भन्दैमा अमर्यादित काम गर्दा समाजमा कस्तो असर पर्न सक्छ ? समाजमा कस्तो सन्देश जान्छ ? मानिस र पशुबीचको भिन्नता मान्छेले थाहा पाउनु जरुरी छ । संसारमा जति पनि प्राणी छन्, त्यसमध्ये मान्छे सर्वश्रेष्ठ होइन र ?

फतिमा मनमनै यस्तै सोचिरहेकी थिइन् । त्यही समाचारले नै उनको परिवारमा एकाएक दुःखको पहिरो ल्याएको थियो । त्यसअघि त उनको जस्तो व्यवस्थित घरपरिवार कसको थियो र † सानो परिवार । एक छोरा, एक छोरी । मायालु श्रीमान् । पढाइमा अब्बल छोराछोरी । तर, सबैको समय सधैँ एक नास नहुने । समयको चक्रमा अहिले फतिमा र उनको परिवार पिल्सिरहेको छ ।

पढाइकै कारण मिर्जाले राम्रो काम पाइसकेको थियो । राम्राराम्रा केटीका आमाबाबु छोरी दिन उनको घर धाएका पनि थिए । तर, मिर्जाले भने त्यस विषयमा कुरै पर्न दिएको थिएन । फतिमाले बल्ल त्यसको रहस्य थाहा पाइन् । त्यसपछि मिर्जालाई नदेखेको निकै वर्ष भइसकेको थियो ।

एक दिन शनिबार २–३ बजेको बेला फतिमा घर अगाडिको पोर्चमा बसेर चिया पिउँदै पत्रिका पढिरहेकी थिइन् । मिर्जा टुप्लुक्क देखियो । एकछिन त फतिमालाई पत्यारै लागेन ।

“दर्शन गरेँ आमा । हजुरलाई कस्तो छ ?”

यसो भनेर आफ्नो गोडा समात्न आएपछि उनलाई विपना नै हो भन्ने लाग्यो । एकै वचनमा आमाको मायामा विगत पुरानो भइगयो । वर्तमान मात्र घुमिरह्यो । फतिमाले सबै कुरा बिर्सिएर मिर्जालाई अँगालो हालिन् । छोराको अँगालोमा बाँधिएर रुन थालिन् । मिर्जाले भन्यो, “आमा नरुनुस् । अब म तपाईंहरुले भनेको सबै कुरा मान्न तयार छु । मलाई मेरो गल्तीको महसुस भइसकेको छ । मैले समातेको कल्मष बाटोबाट अलग्गिसकेको छु । मभित्रको यो अधर्मी रहस्यमयी मनले सबैको परीक्षण गरिसकेको छ । अबदेखि म तपाईंहरुको सेवा गर्ने अठोट गरेर नै घर आएको हुँ ।”

मिर्जाले विगत १०–११ वर्षदेखि घर आइपुग्दासम्मको सबै कहानी आमालाई सुनायो । उसका साथीभाइका केटी साथी तथा आआफ्ना श्रीमतीसँगको झगडा, वादविवादका कारण अप्ठ्यारा परिस्थिति निम्तिएकाले त्यसबाट टाढा रहन अनि साइन्स अध्ययनमा क्रममा कुकुरको प्रजनन प्रक्रिया रहस्यमय लागेर त्यो कुकृत्य गर्न पुगेको बतायो ।

त्यो कुकुर्नी पनि अहिले मरिसकिछ । कुकुर्नीको मृत्युपश्चात उसलाई त्यो जीवन सकिएजस्तो भएछ अनि आमाबाबु सम्झेर घर फर्केको रहेछ । बितेको १०–११ वर्ष परिवार र आफ्नो अस्तित्वका खातिर व्यर्थमा खेर गएकोमा दुःखित छ मिर्जा ।

मिर्जाले नयाँ जीवन सुरु गरेको छ । आमाबाबुको हेरचाह गर्ने, बहिनीको विवाहको बस्दोबस्त गर्नमा लागि परेको छ । उसको काम राम्रो भएकाले घरव्यवहारका लागि कुनै कठिनाइ थिएन ।

यसैबीचमा उसको सम्पर्क जारा नाम गरेकी केटीसँग हुन पुग्छ । जारा निकै राम्री र सुशील थिई । पढाइ सकेर काम गर्दै थिई । दुवैको घरमा पनि आवतजावत हुँदै थियो । एक दिन विवाहको कुरा उठ्यो र दुवै परिवारको सहमतिमा विवाह पनि भयो । जारासँगको उठबस, हाँसखेल तथा सहवासमा मिर्जा निकै रमाउन थाल्यो ।

अहिले फतिमा पनि सुखी र खुसी छिन् । उनलाई लाग्यो— सुख बाटोमा फल्दैन, कर्म गर्नुपर्छ भनेको सही नै रहेछ । खुसी कसैले दिने हैन रहेछ, आफैँले सन्तोष मान्नुपर्ने रहेछ । दुःखको बेला कसैले साथ दिदैन, आप्mनो मन बुझाउन सक्नुपर्ने रहेछ । हामीले ती सबैलाई आफैँमा समाहित गराउँदै पार गरिसकेछौ । जीवन सुख र दुःखको सङ्गम रहेछ । हामी यसको बीचबाट हामी अगाडि बढ्दै जानुपर्ने रहेछ । अनि त्यही टीभी समाचारको कुरा सम्झेर सोचविचारमा लीन हुन पुग्छिन् । वर्तमान समाज कतातिर जाँदै छ ? अझै के देख्नुपर्ने हो, के सुन्नुपर्ने हो र के भोग्नुपर्ने हो ? उनी आँखा चिम्लिएर अल्लाहसँग प्रार्थना गर्दै पुकारिरहन्छिन्– अब उप्रान्त आफू र आफ्ना परिवार, चिनेजानेका छरछिमेकी अझै भनौँ,  संसारमै कसैले पनि यस्ता विकृतिका कुरा सुन्न, देख्न र भोग्न नपरोस् । अल्लाहले सबैलाई सद्बुद्धि देऊन् ।

यसरी मनमनै पुकारा गरिरहेका बेला ट्रेन घच्याक्क रोकिएको आवाज आउछ । “दिस इज इस्ट ब्रोर्ड वे,” ट्रेनको स्पिकरबाट आवाज आयो । उनी ओर्लने स्टेसन आइसकेको रहेछ । फतिमा ट्रेनबाट बाहिर आइन् । उनलाई छाडेर ट्रेन त्यहाँबाट विलीन भइगयो ।