काठमाडाैं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको कोभिड–१९ अपडेट गराएको १८ घण्टा पनि नबित्दै शुक्रबार बिहानसम्म थप ६ संक्रमितको मृत्यु भएको छ । जसमध्ये आज बिहान मात्रै ४ जनाको मृत्यु भएको हो । तीमध्ये पाटन अस्पतालमा २ जना र रुपन्देही र चितवनमा गरी २ जना छन्।
यस्तै बिहीबार साँझ काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको छ। यसैगरी विराटनगरमा पनि बिहीबार राति कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।
होम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिएका छन्।
यी सबै गर्दा हिजो बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको १८ घण्टा पनि नबित्दै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ ।