काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन २ सयभन्दा बढीमा संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तीनवटै जिल्लामा मानिसहरुको आवागमनलाई ठप्प पार्ने गरी नयाँ आदेश जारी गर्ने पूर्व तयारीमा जुटेका छन् ।
सरकारले कुनै निश्चित क्षेत्र वा जिल्लाभर निषेधाज्ञा जारी गर्ने अधिकार लिएसँगै त्यसको शीघ्र कार्यान्वयनमा सीडीओहरु जुटेका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारबाट आवागमनमा कडाई गर्ने निर्देशन आएको र अधिकार समेत आफूहरुमा आएपछि सकेसम्म चाँडो उपत्यकाको आवागमनलाई ठप्प पार्ने गरी कुनै निर्णय वा आदेश जारी गर्ने गरी आवश्यक तयारी भइरहेको जानकारी दिइन् ।
काठमाडौं उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना गरी जम्मा २०५ जना संक्रमित थपिएका छन् ।
नेपालभर मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ५८० पुगेको छ ।
मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । पछिल्लो २४ द्दण्टायता ७ जनाको निधन भएको हो ।