कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ११३ पुग्यो

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ११३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टायता नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। कास्कीमा २ जना र ललितपुर, काभ्रे, मोरङ र बाँकेमा एकरएक जनाको मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संद्यया ११३ पुगेको छ । 

कास्कीमा आज विहान  पौने ११ बजे ८७ वर्षीय वृद्धको मृत्यु भएको छ। पोखरा महानगरपालिका १६ का ती वृद्ध कोरोना पुष्टि भई हिजो पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार केन्द्रको आइसीयुमा भर्ना भएका थिए। उनको उपचारका क्रममा आज मृत्यु भएको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ। मधुमेह, मृगौला लगायत दीर्घ रोगबाट पीडित उनी उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए। योसहित गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको  छ। 

यस अघि आज विहान पोखरामा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको छ। तनहुँ ब्यास नगरपालिका–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका सञ्चालक डाक्टर पदम खड्काले जानकारी दिए । उनको कोरोना परीक्षणको रिपोर्ट आज विहान आएको हो। महिलामा मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या र निमोनिया रहेको डाक्टर खड्काले जानकारी दिए। ती महिलाकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।

यसै गरी ललितपुर स्थित पाटन अस्पतालमा पश्चिम नवलपरासीका ३७ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। उनमा प्रादेशिक अस्पताल भैरहवामा साउन २८ गते कोरोना पुष्टि भएको थियो। उनको पाटन अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको हो । उनी नवलपरासी पश्चिमका नेपाली कांग्रेसका उपसभापति रहेका थिए ।

यसैगरी, बाँकेमा कोरोना संक्रमणले गएराति एक जनाको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतकमा निमोनियाको समस्या थियो। 

कोरोनाका कारण काभ्रेको धुलिखेल अस्पतालमा आज विहान एक वृद्धको मृत्यु भएको छ। धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए।   

यस्तै कोशी अस्पतालमा  ४७ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ। आइतबार साँझ अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका ८ का संक्रमितको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चुमनलाल दासले बताए।