यौनः जाने स्वर्ग, नजाने नरक

यौनः जाने स्वर्ग, नजाने नरक

सृष्टि रचनाको प्रमुख कारक हो यौन । हरेक प्राणी भाले-पोथीबीचको यौनप्रक्रियाबाट सृष्टि रचनाको बीज धारण हुन्छ र अन्य प्राणीका यौनले प्राकृतिक जीवन प्रक्रियामा पुस्ता कायम गर्ने उद्देश्य मात्रै पूरा गर्ने आधार हुन्छ भने मानवीय यौन भरपुर मनोरञ्जन लिएर जीवन तृप्त गराउने विषय पनि हो । अन्य प्राणीका लागि क्षणिक समयभरि मात्रै भाले-पोथीलाई प्रेममा बाँध्ने यौनले मानिसका हकमा नारीपुरुषका बीचमा लामो समयका लागि समधुर सम्बन्ध कायम राख्ने एक अति नै आवश्यकता पनि हो । संसारमा भएका जति पनि प्राणीलाई भाले र पोथी गरी दुई वर्गमा छुट्याउने र सबै प्राणी जातिमा नभई नहुने एक प्राकृतिक गुण पनि हो ।

मानवको सबैभन्दा आधारभूत आवश्यकतामा यौन पनि पर्दछ र यौन स्पर्शले जीवनमा ऊर्जा शक्ति दिन्छ । यौनबिनाको जीवनमा मानसिक रोग तथा डिप्रेसनको समस्या पनि हुन सक्छ । यौनलाई सही रुपमा व्यवस्थित गर्न जान्दा जीवन गुणस्तरीय बन्छ, व्यवस्थित गर्न नजान्दा जीवन बर्बाद हुन्छ ।

हरेक प्राणीको जीवनको महत्त्वपूर्ण स्थान लिएर रहेको यौनलाई हाम्रो समाजमा कुन्ठ्याइएका कारण धेरै विकृतिहरु मौलाउँदै आइरहेका छन् । यसबाट पुरुष-स्त्री दुवै वर्ग पीडित छ तापनि ती विकृतिको यातनाको भागिदार सर्वप्रथम महिलाहरु छन् । पश्चिमा यौनउदार मुलुकतिर भन्दा, पूर्वेली यौनअनुदार मुलुकमा धेरै यौनविकृतिको सास्ती महिलाहरुले ज्यादा खेपिरहेको देखिन्छ । पुरुषहरुमा महिला मनोविज्ञान एवं संवेदनशीलताको ज्ञान नहुँदा वा भईकन पनि बुझ पचाएर पेस हुँदा कैयौं महिला यौन वितृष्णाको मारमा परेका पनि छन् ।

सबैभन्दा पहिला उदाहरणका लागि एउटा छोटो कथा प्रस्तुत गर्न गहिरहेको छु– एकादेशमा एक जना राजा थिए, राजाकी एउटी छोरी राजकुमारी थिइन् । उनी अति नै सुशील, शालीन थिइन् । पातली सर्लक्क परेकी अलिकति लामो मोहोडा, गोरी उज्याली, ठुलठुला आँखा, पातलो ओठ, हेर्दा पनि राजकुमारी निक्कै आकर्षक, स्वर्गकै परी जस्ती देखिन्थिन् ।

निक्कै सुन्दरी राजकुमारीलाई लामो समयसम्म विवाह गर्ने इच्छा भएन । धेरै देशका राजकुमारहरु उनीसँग बिहा गर्ने इच्छा गर्दथे र माग्न पनि आउँथे । उनको इच्छा के छ भन्ने बुझ्न र पूरा गर्न पनि चाहन्थे तर राजकुमारी कसै गरे पनि विवाह गर्ने कुरामा सहमत हुन्नथिइन् । राजकुमारीले धेरै लामो समयसम्म विवाह गर्न नमानेपछि राजा निक्कै चिन्तित भए । राजाले विभिन्न डाक्टर विद्वानहरुसँग छोरीको परामर्श गराए ।

विद्वानहरुले धेरै लामो समयसम्म राजकुमारीको मनोविज्ञानको अनुसन्धान गरेपछि पत्ता लाग्यो । राजाको घरमा बहुत सङ्ख्यामा कुखुरा पालिएको रहेछ । प्राकृतिक र पशु पन्छीसँग रमाउने बानी सानैदेखि रहेको हुनाले राजकुमारीले जहिले पनि कुखुराको भालेले पोथीलाई लखेटीलखेटी सम्भोग गरेको देख्थिन् । त्यो देख्ता राजकुमारीको कोमल हृदय र मस्तिष्कमा संसारमा भएका जुनसुकै भाले जातिहरुले पोथी जातिहरुलाई यस्तै दुःख दिने रहेछन् भन्ने नकारात्मक छाप पर्यो । उनलाई मनमा वितृष्णा जाग्नुको मुख्य कारण नै त्यही भयो । त्यही कुखुराको सम्भोगको दृश्य देखेर नै उनलाई विवाह गर्ने इच्छा हरायो । उनका मनमा भाले जातिप्रति नै नकारात्मक भावना पैदा भयो । त्यसबाट उनलाई विवाहप्रति नै वितृष्णा जाग्यो ।

लामो समयको अनुसन्धान पश्चात् ती सुन्दरी राजकुमारीको मनोविज्ञान पत्ता लगाएर विद्वानहरूले राजालाई घरमा परेवा पाल्ने सल्लाह दिए । राजाले कुखुरालाई हटाएर घरमा धेरै परेवा पाले । राजकुमारीले त्यसपछि सधैँ ती परेवाका जोडीको एकअर्काप्रति भएको प्रेमको स्पर्श देखिन् । परेवाको मिठासपूर्ण प्रेम स्पर्शले राजकुमारीलाई विवाह गर्ने रहर जाग्न थाल्यो । उनले आफ्ना बाबुको विवाह गरिदिने इच्छामा समर्थन गरिन् । वास्तवमा उनलाई विवाह गर्न इच्छा लाग्यो र उचित ठाउँबाट सम्बन्ध आउँदा विवाह गर्ने राय प्रकट गरिन् ।

पुरुषहरुलाई अति कोमल नारी संवेदनशीलताको विषयमा राम्रो ज्ञान नहुँदा अर्थात् नारीको मनोविज्ञान बुझ्न नसक्दा हाम्रो नेपाली समाजमा पनि राजकुमारीलाई जस्तै धेरै महिलालाई विवाह र यौनप्रति वितृष्णा जागेको हुन सक्छ । समाजमा विवाहबाट विमुख हुने मनसाय भएका महिला हिजोआज प्रशस्तै भेटिन्छन् ।

यौन शिक्षा अर्थात् ज्ञानको कमी हुनुको कारण नै परिपक्व उमेरका महिलाहरु के चाहन्छन् ? कस्तो किसिमको व्यवहार गर्नुपर्छ ? भनेर उति राम्ररी ठम्याउने गरिएको छैन । यही कुरो अर्को शब्दमा भन्दा महिलाका कोमल भावनालाई बुझ्न पुरुषले कोसिस गरेको पाइँदैन । हाम्रो समाजमा अधिकांश पुरुषहरुले आफ्नो खुसीलाई मात्र प्राथमिकता दिएको पाइन्छ ।

विश्व मानव समाज २१औँ शताब्दीमा आइपुग्दा नेपाली समाजका ८० प्रतिशत महिलाहरु अझै पनि यौन र माया, ममताका क्रियाकलाप र व्यवहारमा असन्तुष्ट छन् भने २० प्रतिशत महिला मात्रै पूरारुपमा आफ्नो जीवन साथीसँग खुसी होलान् । हाम्रो नेपाली संस्कारले महिलालाई दबाएर राखेको हुनाले र महिलाहरु लजालु स्वभावका नै छन् । यसो भएकै कारण उनीहरुले आफ्ना इच्छा अर्थात् मनको चाहनालाई कुण्ठित गरेर राखेका हुन्छन् । उनीहरुले जीवन साथीसँग सम्पूर्ण आफ्ना भावना र चाहनालाई खुलेर प्रकट गर्न सकिरहेका हुँदैनन् । यौन चाहनाका विषयमा पनि पुरुषले जसरी व्यक्त गर्न सक्छन्, महिलाले त्यसरी व्यक्त गर्न सकिरहेका हुँदैनन् । जीवन सँगिनीलाई खुसी बनाउने तरिका पुरुषले अपनाइरहेका हुँदैनन् ।

एकातिर पुरुष उन्मत्त साँढेझैँ अगाडि सरेको हुन्छ र त्यस बेलामा स्त्रीलाई एउटा भाँडोका रुपमा प्रयोग गर्न चाहन्छ । उता स्त्री एकपटक आफ्नो सम्पूर्ण सौन्दर्यलाई मन लगाएर हेरिदिए हुन्थ्यो, एक-दुई वाक्यमै भए पनि प्रशंसा गरिदिए हुन्थ्यो भन्ने मनमनै सोच्दै हुन्छन् । पुरुष र स्त्री यौनको विषयमा निक्कै फरक प्रकृतिमा प्रस्तुत हुन्छन् । आफ्नो इच्छा वीर्यपतन भएपछि पुरुष अर्का्तिर फर्कन्छ, उसलाई अहिले केही मिनेट मनको प्यास मेट्न साथ दिएकी र उसकै छेउमा पल्टिरहेकीको मनको हाल के वा जिउको माग कति छ भन्ने ख्याल गर्नै बिर्सन्छ र अथवा त्यो आवश्यक नै ठान्दैन । मुखको एक वाक्य आँखाको नजर हेराइ र जिउको एक स्पर्शको अर्थ महिलाका लागि कति महत्वको हुन्छ, त्यसको ख्याल नै नगर्ने भएर नै त्यही स्त्रीको फरक प्रकृतिलाई धेरैजसो पुरुषले बुझ्न सकिरहेका हुँदैनन् ।

(१) जस्तै पुरुष स्त्रीको नग्न शरीरद्वारा प्रभावित हुन्छन्, स्र्त्री मिठो बातचित मिठा शब्दद्वारा प्रभावित हुन्छिन् । (२) यौनमा पुरुष शारीरिक रुपमा तयार हुन्छन्, स्त्री भावनात्मक रुपमा तयार हुन्छिन् । (३) पुरुष छिटो यौनको निम्ति तयार हुन्छन्, स्त्री लामो समयको स्पर्शमा तयार हुन्छिन् । (४) पुरुष छिटो यौनतृप्त हुन्छन्, स्त्री लामो समयमा तृप्त हुन्छिन् ।

महिलाहरु जहिले पनि प्रशसाको भोका हुन्छन्, रुपको होस् या गुणको होस् । खुलेर आफ्नो श्रीमानले प्रशंसा गरिदिएमा महिला अति नै प्रफुल्ल हुन्छन् । कुनै पनि कपडा लगाउँदा होस् अथवा मेकअप गर्दा तिमी कति सुन्दरी देखिएकी भनेर आफ्नो श्रीमानले खुलेर प्रशंसा गरिदियो भने महिला अझ बढी खुसी हुन्छन् । त्यसै गरी गुणको पनि प्रशंसा गरेर जीवन सँगिनीलाई खुसी राख्न सकिन्छ । जन्म दिन होस् अथवा अरु कुनै दिन होस्, बेलाबेलामा सानोतिनो नै किन नहोस् उपहार दिएमा अझ बढी मख्ख बनाउन सकिन्छ ।

कतिपय पुरुषहको बानी मनमा माया भए पनि देखाउन नसक्ने अथवा देखाउन नचाहने हुन्छ । तर, महिलाहरुलाई स्पष्ट तरिकाले मनमस्तिकमा प्रभाव पर्ने गरी प्रशंसा तथा माया गरेर देखाउनै पर्ने हुन्छ किनभने महिलाका मनले खोजेको त्यही हो । जब महिलाले माया पाएको महसुस गर्न सक्छिन्, तब नै पूर्ण रुपमा आफ्नो जीवन साथीसँग समर्पित हुन सक्छिन् । त्यसपछि मात्र यौनलगायत सबै कुरामा आफ्नो जीवन साथीलाई पूर्ण रुपमा सन्तुष्ट बनाउन सक्छिन् । नारीको कोमल हृदयलाई पारदर्शी प्रेमको स्पर्शले नै जित्न सकिन्छ ।

महिलाहरुले पनि आफ्ना श्रीमानको इच्छा आकाङ्क्षाको कदर गर्न सक्नुपर्छ । महिलाहरुले आफ्ना श्रीमानको मनको भावना र चाहना बुझ्न नसक्दा अर्थात् कदर गर्न नसक्दा पुरुषहरुले अरु कुनै नराम्रो विकल्प रोज्न सक्छ्न् । किनभने यौन इच्छाले छटपटिएको पुरुष आफ्नो इच्छा पूरा गर्ने उपाय खोजेर जति सजिलै सुरक्षित रहन सक्छ, महिलाले त्यति सजिलै उपाय पनि पाउँदिनन् र पुरुष जति ढुक्क हुन पनि सक्तिनन् । त्यसैले पुरुषले स्वार्थसिद्ध गर्छन् भने धेरैजसो महिलाले मनलाई कुँज्याएर खप्न बाध्य हुनुपर्छ । त्यसैले महिलाहरुले पनि आफ्नो श्रीमानको इच्छा आकाङ्क्षालाई गम्भीर भएर बुझ्नुपर्ने हुन्छ ।

आजभोलि निक्कै तडकभडकको जमनामा छ । बाहिर जाँदा पुरुषहरुले निक्कै सुन्दरी देखेका हुन्छन् । त्यसमाथि सुराले मात्ने बानी छ भने त झनै सावधान हुनुपर्छ । त्यस्तो अवस्थामा आफ्ना श्रीमानको ध्यान अन्तै परस्त्रीसँग नखिचियोस् भन्नका लागि पनि महिलाले आफूलाई निक्कै मेन्टेन गर्नुपर्ने हुन्छ । श्रीमान् र श्रीमती एकअर्काका परिपूरक हुन् । दुवैले दुवैको भावना बुझ्न सक्यो भने मात्र जीवन प्रेममय बन्छ र एक सुन्दर उत्तम घर बन्छ अनि खुसीको सफल जीवन त्यहीँ पाइन्छ ।