राजधानी काठमाडौंसहित देशैभर बढिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि भावी रणनीति तय गर्न आज विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्ने भएको छ ।
पुन: लकडाउन गर्ने, निषेधाज्ञा नै जारी गर्ने वा संक्रमित क्षेत्रमा मात्र सिल गर्दै अघि बढ्ने भन्ने विषयमा सीसीएमसीले निर्णय लिने स्रोतले बतायो ।
सोमवार बसेको मन्त्रिपरिषद्को नियमित बैठकले पनि मंगलवार (आज) बस्ने सीसीएमसी बैठकको सिफारिशका आधारमा बुधवार मन्त्रिपरिषद् बैठक बसेर निर्णय लिने निर्णय गरेको छ ।
कोरोना संक्रमण फैलिएका क्षेत्रमा लकडाउन गर्ने, कर्फ्यू लगाउने वा निश्चित ठाउँ सिल गर्ने भन्नेबारे सीसीएमसीको प्रस्तावको आधारमा बुधवार पुन: अर्को बैठक बसेर निर्णय लिइने एक मन्त्रीले जानकारी दिए ।
संक्रमण बढ्दै जाँदा सरकारले कुनै न कुनै प्रतिबन्धात्मक कदम चाल्ने सम्भावना छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगिसकेको छ, जसमध्ये १ सय ७ जनाले ज्यान गुमाएका छन् ।