काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् पुर्नगठनबारे आजको सचिवालय बैठकमा पनि छलफल भएको स्रोतको दाबी छ । यस पटकको मन्त्रिपरिषद् पुर्नगठनमा पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ दुबैलाई उपप्रधानसहित आकर्षक मन्त्रालय दिने तयारी गरिएको छ ।
त्यसो त गौतम र श्रेष्ठ दुबैजना निर्वाचनमा पराजित भएका थिए । चुनाव हारेकाले उनीहरुलाई मन्त्री बनाउन कानुनी अड्चन रहेको छ । निर्वाचन हारेकालाई राष्ट्रियसभामा मनोनित गरी ल्याउँदा सरकारमा जिम्मेवारी दिन मिल्ने वा नमिल्नेबारे कानुन व्यवसायीसँग परामर्श गरेर निर्णय लिने ओलीले बताएका छन् । ओलीले पछिल्लो समय आफू अफ्यारोमा परेको बेला गौतमले साथ दिएको भन्दै उनलाई सरकारमा ल्याउन थोरै बलमिच्याइ गर्न पनि पछि नपर्ने गौतमसँगै बताएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीले हिजोमात्र उपाध्यक्ष गौतमलाई बालुवाटारमा बोलाएर यसबारे छलफल गरेका थिए । छलफलमा गौतमले कानुनले नरोके सरकारमा सहभागी हुने बताएका थिए । ओलीले सचिवालय सदस्य श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीसहित सरकारमा लाने चाहना राखेका छन् । श्रेष्ठ पनि प्रतिनिधिसभा चुनावमा गोरखाबाट पराजित हुन् । उनी पछि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । श्रेष्ठको हकमा पनि बामदेवलाई जस्तै लागू हुन्छ ।
कानुनका विज्ञहरु भने संविधानत चुनाव हारेको व्यक्ति सरकारमा जान नमिल्ने बताउँछन् । संविधानले उनलाई पनि मन्त्री बन्नबाट रोक्ने अवस्था बन्न सक्छ । तर, कानुनको व्याख्या र संवैधानिक व्यवस्थाबारे परामर्श गरेर प्रधानमन्त्री ओली अगाडि बढ्ने तयारीमा छन् ।