काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलले आजदेखि सहमतिको खाका तयार गर्ने भएको छ । हिजो ललितपुर भैंसेपार्टीस्थित पार्टी महासचिव विष्णु पौडेलको निवासमा बसेको कार्यदलको बैठकले आजैबाट सहमतिको खाका तयार पार्ने निर्णय गरेको थियो । सोहि तयारी अनुरुप आजको बैठकमा विषयगत छलफल गर्दै सहमतिको खाका तयार गरिने भएको छ ।
कार्यदलले हिजो पहिलो दिन आफ्नो कार्यविधि तयार गरेको थियो । जतिसक्यो छिटो सहमतिका लागि सुझाव पेश गर्ने जिम्मेवारी पाएको कार्यदलले आजदेखि दिनभर छलफल थाल्नेछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति उन्मुख छलफल गरेपछि महासचिव पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य रहेका छन् । कार्यदलले महाधिवेशन केन्द्रित भएर अध्यक्षद्वयबीच अनौपचारिक छलफलमा भएको सहमति अनुसारका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार गर्नेछ ।
कार्यदलले चैतमा महाधिवेशन गर्नेगरी सहमतिको खाका तयार गर्ने भएको छ । केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने र अहाधिवेशनपछि प्रचण्डलाई एकल अध्यक्षको रुपमा अगाडि सार्नेमा कार्यदलमा सहमति भएको बताइन्छ ।
आजको बैठकमा महाधिवेशनपछि प्रधानमन्त्री ओलीलाई पार्टीमा सम्मानजनक पद तयार गर्नेबारे छलफल हुने भएको छ । साथै वरिष्ट नेताद्धय माधव नेपाल र झलनाथ खनालको भूमिकाबारे पनि आज छलफल हुने भएको छ । सरकारलाई निर्देश गर्नेगरी पार्टीमा एक समिति बनाउनेबारे पनि कार्यदलमा छलफल हुने स्रोतको दाबी छ ।