सधैं सुरक्षित राखौं स्वास्थ्यको गोपनीयता

सधैं सुरक्षित राखौं स्वास्थ्यको गोपनीयता

कोरोना महामारीको संक्रमणमा परेका अमेरिकाका नेपाली व्यक्ति र परिवारहरुको अर्को गुनासो बाहिर आएको छ- हाम्रो रोग निको भए पनि समाजले हामीलाई अझै स्वीकार गरेको छैन, हामीसित मानिसहरु अझै सशंकित छन्, उनीहरु गएको ठाउँमा हामीलाई नआए हुन्थ्यो जस्तो गर्छन्।

यसबारे न्युयोर्कबाट प्रकाशित हुने अनलाइन पत्रिका खसोखासले गत हप्ता एउटा लामो समाचार सम्प्रेषित गरेको थियो। कोरोना पोजेटिभ भएका बेला आफूलाई सार्वजनिक गर्नेहरुले त्यो बेला यस्तो होला भन्ने थाहा पाएको भए शायद आफ्नो स्वास्थ्य अवस्था अर्थात् 'हेल्थ प्राइभेसी' लाई सार्वजनिक गर्दैनथे होला। उः बेला 'कोरोनालाई जितेको' भनेर मिडियामा उनीहरुले नै अन्तर्वार्ता दिएका थिए।

हालै चितवनको एउटा अस्पतालका प्रमुख डाक्टर विश्वबन्धु बगाले कोभिड-१९ बिरामीको सेवा गर्दा संक्रमित भए, उनको श्रीमतीलाई पनि भाइरस सर्यो। उनले आफू संक्रमित भएको सबैलाई जानकारी गराएर घर बसे। तर, स्थानीय वडाध्यक्षसहितको जुलुसले उनको घरमा 'कोरोना संक्रमित' को घर, सावधान भन्ने आशयको ब्यानर टाँग्न गए र डाक्टरी पेशाको अवमूल्यन र डाक्टरको अपमान गरे।

नेपाली समाज 'प्राइभेसी' प्रति त्यति संवेदनशील छैन। प्राइभेसी अर्थात् आफ्नो व्यक्तिगत मामिला आफैंमा राख्न पाउने कानुनी अधिकार। यो अधिकार हरेक प्रजातान्त्रिक देशमा व्यक्तिलाई संविधान र कानुनले प्रत्याभूत गरेको हुन्छ। कानुनले हरेक नागरिकलाई अरुको जिज्ञासाबाट निरपेक्ष बस्न पाउने अधिकार दिएको छ ताकि हरेक मान्छे स्वतन्त्र जीवन जिउन पाउन। निजी मामिला, निजी सूचना वा निजी जीवनचर्या अरुले थाहा पाए अनावश्यक रुपमा शोषण गर्ने वा तनाव दिने सम्भावना हुन्छ र स्वतन्त्र जीवन बाँच्न पाइँदैन।

तपाईं बस्ने घर, सम्पत्ति, आम्दानी, खर्च, परिवार अनि निजी जीवनशैली, प्रेम सम्बन्ध, स्वास्थ्य अवस्था गोप्य राख्न पाइन्छ र कसैले हनन गर्न पाउन्नन्। सरकारले पनि केही विशेष परिस्थितिमा बाहेक हस्तक्षेप गर्न पाउँदैन। नेता र सार्वजनिक पदमा बस्ने मानिसको भने आफ्ना आयस्रोत बताउनुपर्ने हुन्छ, बिरामी भए जनतालाई सामान्य जानकारी दिने चलन छ ।

अन्जानमा आफ्नो स्वास्थ्यको बारेमा आवेशमा आएर क्षणिक सहानुभूति लिन केही मानिसहरु फेसबुक, सोसल मेडियामा बिरामी हुँदाको फोटो पोस्ट गर्ने वा पत्रपत्रिकालाई अन्तर्वार्ता समेत दिन्छन् नेताले जस्तो, जुन पछि आफैंलाई घातक हुन्छ । एकचोटि बिरामी भएको मानिसलाई हाम्रो समाजले सधैंको बिरामी देख्छ। सधैंको प्रश्न, सधैंको सहानुभूति! मानिसहरु हैरान नै पार्छन्। डिप्रेसन वा मानसिक रोगलाई जितेको महिला वा पुरुष, ब्रेस्ट क्यान्सरलाई जितेकी महिला होस् कि मुटु शल्यक्रिया गरेर ठीक भएकाहरुलाई, ठीक भएको दसौं वर्षपछि पनि मानिसहरु अझै खासखुस गर्छन्, रोगी सम्झिन्छन्। सार्वजनिक ठाममा नै प्वाक्क सोधिदिन्छन्- 'तपाईंको त्यो रोग कस्तो छ आजभोलि ?'

कुनै पनि मानिसको हेल्थ प्राइभेसी बाहिर आयो भने धेरै झन्झट व्यहोर्नुपर्छ। मानसिक वा अरु रोगीले आफ्नै परिवारबाट पनि अपहेलना र तिरस्कार भोग्नुपर्छ भने आफ्नो स्कुल, काम, अफिस वा समाजले पनि विभिन्न तरिकाले तिरस्कार, अपहेलना र डिस्क्रिमिनेसन (विभेद) गर्न सक्छ। हाम्रो समाजमा त स्वास्थ्यको कारण वा वंशानुगत स्वास्थ्यको सूचना लिक भएको कारण केटा केटीको बिहे नै रोकिन पनि सक्छ। तपाईंको रोगबारे रोजगारदाता र बीमा कम्पनीहरुलाई त कुनै हालतमा सूचना चुहाउनु हुँदैन। फेसबुकमार्फत तपाईं गम्भीर बिरामी भएको कुरा कामको म्यानेजर वा रोजगारदाताले थाहा पाए भने अर्कै कारण देखाएर तपाईंलाई सेवामुक्त गर्न सक्छन्। प्रेमी-प्रेमिकाको सम्बन्ध टुट्न सक्छ।

आफ्नो प्राइभेसी खोल्दा पर्न जाने समस्याको मुकाविला गर्न तयार हुने, समाज परिवर्तन गर्न तयार रोल मोडल र समाजको ज्योति बन्न चाहनेहरुलाई भने म कहिल्यै निरुत्साहित गर्दिनँ।

सजग बनौं, स्वास्थ्यको गोपनीयता सधैं सुरक्षित राखौं।