नेकपा कार्यदलको बैठक सकियो, के भयो आजको बैठकमा ?

नेकपा कार्यदलको बैठक सकियो, के भयो आजको बैठकमा ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान कार्यदलको बैठक सकिएको छ । महासचिव विष्णु पौडेलको भैंसेपाटीस्थित निवासमा बसेको बैठकमा संयोजकसहित ६ जना सदस्य उपस्थित थिए ।  

बैठकमा आज विषयगत छलफल भएको बताइन्छ । छलफलपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डबीच सहमत भएका विषयलाई लिखित रुप दिने र सहमति जुट्न नसकेका विषयमा मध्यमार्गी बाटो खोज्नेमा कार्यदलका नेताहरु सहमत भएका छन् ।  कार्यदललाई पार्टी विवाद समाधान खोज्ने जिम्मेवारी दिइएको छ। 

कार्यदलले समस्या के हुन् र समाधान के हुन सक्छ भन्ने विषयमा विस्तारपूर्वक छलफल गरेर प्रतिवेदन तयार पार्ने छ। ओली र प्रचण्डबीच बिहीबार र शुक्रबारको छलफलपछि शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। महासचिव पौडेलको नेतृत्वमा गठित कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन्।

कार्यदलको बैठक भोलि पनि बस्नेछ । कार्यदलको समयसीमा तोकिएको नभए पनि छिट्टै प्रतिवेदन तयार गरेर अध्यक्षद्धयलाई बुझाउनेगरी तयारी गरिएको बताइएको छ ।