दिनभरि कोठामा बसिरहँदा दिक्क लाग्न थालेको थियो । किताब लेखिन्जेल त समय बितेको थाहै नहुने । लेखिरहेको किताब पूरा भएपछि एक प्रकारले दिमाग खाली भएजस्तो लाग्छ । कुनै विचार आउँदैन । गीत सुन्न, फिल्म हेर्न, फोन गर्न वा मानिसहरुसँग भेट्न पनि मन लाग्दैन । दिउँसो सुते राति निदाउन नसकिने हुँदा दिउँसो निदाउने खतराबाट जोगिनु पनि थियो । चिया पनि कति पिउनु ! भर्खरै लेखिसकेको थिएँ, ‘तल्लो बाटो’ । त्यसका पात्रहरु दिमागबाट उत्रिसकेका थिएनन् । त्यत्रो दुःख गरेर अमेरिका छिरिसकेपछि रोहितले आत्महत्या गरेको कुराले निकै पिरोलिएको थियो मन । रीता जसको उक्साहट र सहयोग पाएर त्यत्रो कष्ट गरीकन अमेरिका छिरी अनि किन ऊ विजयसँग सम्पर्कविहीन बनी ? विक्रम अमेरिका आइपुग्यो कि पुगेन ? आफ्नै कथाका पात्रहरुका यी रहस्यले मलाई अनौठो तनावजस्तो बनाइरहेको थियो ।
त्यत्तिकै टेबलमा कुइनो टेकेर हत्केलामा चिउँडो अड्याइरहेका बेला प्रेरणाजीको फोन आयो । उनी कुनै कारणवश हर्नडन वरिपरि आइपुगेको भए प्रायः सधैँ फोन गर्थे अनि आफ्नो गाडीमा राखेर कुनै रेस्टुराँमा पु¥याउँथे । प्रायः उनले पु¥याउने भनेको कफी सप हुन्थ्यो र त्यो पनि एउटै ब्रान्डको स्टारबक्स ।
म उति कफी मन नपराउने मान्छे तर उनको सङ्गतले बिस्तारै त्यो पिउन रमाउन थालेको थिएँ । हुन पनि अरुतिरको कफीभन्दा स्टारबक्सको कफीको स्वादै फरक रहेछ भनेर छुट्याउन सक्ने पनि भएँ । उनी भन्थे– कफी खाने नै हो भने स्टारबक्सकै खाने हो । मजै अर्कै । नभन्दै म त्यस कफीसपको नियमित ग्राहक हुँदै गएँ । तर, त्यो दिनको उनको फोनलाई भने मैले आफू व्यस्त रहेको भनी टारिदिएँ । किनकिन त्यो दिन मलाई एक्लै कफीसपमा जान मन लागेर आयो ।
कति लेख्नु ? किन लेख्नु ? लेखे पनि के लेख्नु ? नलेखी नहुने भन्ने पनि के छ र ? लेख्नु मेरो अनिवार्य जागिर पनि त होइन अनि लेख्ने विषय पनि त हुनुप¥यो । अनि ताता लुगा लगाएर निस्केँ बाहिर । धेरै टाढा पनि थिएन कफीसप । हिँडेरै पुग्न सकिन्थ्यो ।
त्यो कफीसपको एउटा राम्रो विशेषता के रहेछ भने कफी खान आउने मान्छे कुनातिर बसेर आफ्नो ल्यापटपमा घन्टौँ लेखपढ गरिरहँदा रहेछन् । त्यहींबाट जागिर पनि खाँदा रहेछन् । मलाई पनि त्यो तरिका मन परेको थियो । तर, तत्कालै कुनै नयाँ किताब लेख्न मन लागेको थिएन नत्र ल्यापटप बोकेर म पनि त्यहाँ पुग्दो हुँ ।
म पुग्दा कफीसपमा पातलै थिए मानिसहरु । अलिक कुना पट्टिको खाली कुर्सीमा आँखा लगाउँदै कफीका लागि लाइन लागेँ । हुन त त्यस कुर्सीका छेउमा अरु पनि कुर्सी खाली नै थिए तर किन हो मलाई त्यही कुनाको कुर्सी नै मन परेको थियो । त्यसको छेउमा ठूलो सिसाको झ्याल पनि थियो । गएर त्यही कुर्सीमा बसेँ र एकपल्ट गोजीबाट मोबाइल निकालेर सररर फेसबुक कुदाएर हेरेँ र बन्द गरेँ । आँखा चिम्म गरेँ, मजा लागेन । मनले भन्यो– कफी सपमा आएर पनि के आँखा चिम्लिरहनु हौ † एकपल्ट सरसर्ती सबैतिर आँखा घुमाएँ । मानिसहरु पस्दै, बस्दै, निस्कँदै गरिरहेका थिए । त्यत्तिकै मन बिथोलिएको थियो । किन बिथोलिएको होला, कारण थाहा थिएन ।
एकातिर टोलाउँदै आफ्नै धुनमा बसिरहेका बेला एउटा सुरिलो आवाज कानमा आएर ठोकियो ।
“एक्सक्युज मी, मे आई सिट हियर ?”
आँखा उठाएर हेरेँ । एउटी अर्धबैँसे महिला मतिर हेरेर मुस्कुराउँदै थिई ।
“ओके । स्योर,” मैले भनेँ ।
ऊ त्यो खाली कुर्सी देखेर बस्न नै आएकी थिई । मसँग अनुमति लिनु त औपचारिकता मात्र थियो । उनले नसोधी बसेकी भए पनि हुने नै हो तर यतातिरको चलन हो, शिष्टता पनि । मेरो स्वीकृति पाएपछि मुस्कुराउँदै अगाडिपट्टिको कुर्सीमा बसी बाफिँदै गरेको तातो कफीको कप एउटा हातमा समात्दै ।
सजिलो गरी बसिसकेपछि झोला काँधबाट निकालेर काखमा राखी । त्यसबाट ल्यापटप निकाली र खोल्न थाली । त्यो देख्दा मनमा एउटा कौतूहल उठ्यो, साँच्चै यहाँ आएका मानिसहरु यी ल्यापटपहरुमा कामै गर्छन् कि यो एउटा फेसन मात्र हो कफी सपको ? यस्तो लाग्थ्यो, सबै काममा व्यस्त छन् र म मात्र बेकामेजस्तो टुलुटुलु हेरिरहेको छु । आफ्नै धुनमा परेझैँ सुरुपसुरुप कफीको चुस्की लिँदै कतैतिर टोलाउन थालेँ ।
बेलाबेला यो टोलाउनु पनि मजै लागिरहेको थियो । मनमा उस्तो कुनै तनाव वा दबाब नहुनु पनि एक किसिमको तनाव जस्तै हुँदोरहेछ । कुनै प्रकारको काम नहुनु पनि आफैँमा एउटा समस्या हुने रहेछ । म आफ्नो एकोहोरिनुलाई उसको ल्यापटपतिर केन्द्रित गरिरहँदो रहेछु । ल्यापटप हुँदै बिस्तारै उसका हातका औँलातिर, पाखुरातिर, छातीतिर, गर्धन, कुम, अनुहार र कपालतिर बहकिइरहँदा रहेछन् आँखा । उसका ती सुरिला औँला ल्यापटपमा तरङ्ग उत्पादन गर्दै तीव्र गतिमा चलिरहेका थिए । एकपल्ट औँलालाई विश्राम दिई कफी सुक्र्याई । उसले मतिर हेर्दा आँखा जुधिहाले । भित्रैदेखि असजिलो लागेर आयो ।
अनुमानित ४२–४३ वर्षकी लाग्ने उसको अनुहारमा बाक्लै काला कोठीजस्ता टीकैटीका भरिएका थिए । कुनै प्रकारको शृङ्गार वा गहना नलगाएकी, छोटो कपाल, सामान्य लवाइ । झट्ट हेर्दा उसमा महिलामा देखिने आभूषण र शृङ्गार खासै केही थिएन । नाक अलिक चुच्चो र ठाडो, माथिल्लो ओठ र नाकको दूरी निकै देखिन्थ्यो । भर्खरै झोलाबाट पावरवाला चस्मा निकालेर लगाएपछि अघिकी भन्दा अलिक भिन्दै पनि देखिई ।
कतिबेरसम्म मानिसहरुको भीडमा नबोली बस्न सकिन्छ र ! हुन त यहाँ अरुको विषयमा अनावश्यक चासो राख्नुलाई असभ्य मानिन्छ । तर, अरुलाई वाक्कदिक्क दिने गरी बोलिरहने बुढाबुढीहरुलाई पनि यहाँ मैले नबेहोरेको होइन । सोचेँ, मान्छेसँग नबोले कोसँग बोल्नु ? फेरि गमेँ तर के निहुँ बनाएर बोलुँ ? अनि एकपल्ट घाँटी साफ गरेर बोलेँ, “एक्सक्युज मी ।” उसले मतिर पुलुक्क हेर्दै मुसुक्क ओठ फैलाउँदै भनी, “एस् ।” मसँग बोल्नैपर्ने खासै विषय थिएनन् । तैपनि कुरालाई निरन्तरता दिन बोलेँ, “म यो ठाउँका लागि नयाँ मान्छे हुँ । वास्तवमा म नेपाली हुँ ।”
यति भन्न पनि मलाई निकै गाह्रो भएको थियो । तर, मैले चिताएभन्दा सहज तरिकाले मेरो कुरालाई ध्यान दिंदै भनी, “ओ † तिमी नेपाली ? म धेरै पहिले नेपाल पुगेकी थिएँ । मैले काठमाडौँ, भक्तपुर, पोखरा र धनकुटा देखेकी छु । मलाई नेपाल राम्रो लाग्छ ।”
ऊसँग कुरा गर्न सजिलै हुने भो भन्ने लाग्यो । मभित्र निदाएको मान्छेले बिस्तारै आँखा खोल्यो । कैयौँ दिनदेखि लाटिएको चेतना ब्युँझिएझैँ भयो । उसले दोहो¥याई, “हाउ क्यान आई हेल्प यु ?”
मैले भनेँ, “मलाई खासै त्यस्तो कुनै मदत चाहिएको छैन । यसै तपाईसँग परिचय गर्न मन लाग्यो । म कृष्ण ।” हात बढाएँ । उसले पनि आफ्नो हात बढाउँदै नाम बताई, “क्रिसिया ।” यो मित्रताको पहिलो प्रस्थान थियो ।
त्यो दिन धेरै गफ भएन । मैले पनि उसको काममा बाधा पु¥याउन चाहिनँ । आफ्नो कफी समाप्त गरेर बिदा मागी निस्केँ ।
०००
घर पुग्दा मञ्जुजी कामबाट फर्किसक्नुभएको थियो ।
“कहाँ जानुभएको थियो ? फोन किन उठाउनु भएन ?”
“फोन साइलेन्समा गएछ । सुन्दै सुनिनछु ।”
थपेँ, “बस्दा बस्दा दिक्क लागेर एकछिन् डुल्न निस्केको थिएँ ।”
“यस्तो चिसोमा टोपी पनि नलगाई हिँड्ने हो त ? अस्तिजस्तै लडाउला नि अमेरिकी चिसोले ।”
मैले कफी हाउसको कुरै गरिंनँ । क्रिसियाको त झन् कसरी गर्दो हुँ †
०००
तीन दिनपछि म फेरि कफीसपमा पुगेँ । हेरेँ, अस्तिको कुनोतिर । मन हँसिलो भएर आयो । सायद अनुहार पनि त्यसरी नै उज्यालिएको थियो होला । कुनोको कुर्सी रित्तो थियो र अर्को कुर्सीमा बसेर क्रिसिया ल्यापटपमा ती सुरिला औँला चलाइरहेकी थिई । मैले हतारहतार कफी लिएर उसको छेउमा पुगेँ र अस्ति उसले जस्तै अनुमति लिएर बसेँ । ल्यापटपमा दौडिरहेका औँलालाई रोकेर टाउको उठाउँदै हर्षित अनुहारले स्वागत गर्दै बोली, “ओ कृष्ण † हाउ आर यु ?”
“आई एम गुड । एन्ड यु ?” ऊ फेरि मुस्कुराई मात्र । सायद त्यही थियो होला, उसको आफू पनि ‘गुड’ भन्ने जवाफ ।
अनि निहुरिएर पहिलाकै जसरी आफ्ना औँलाहरु चलाउन थाली ल्यापटपमा । म पनि सजिलो गरी बसेर आरामले कफी सुक्र्याउन थालेँ । उसले सहजै स्वागत गरेपछि अब त्यहाँ बसिरहन मलाई अप्ठ्यारो थिएन । यसै पनि म हतार बोकेर आएको पनि होइन । आज मनमा कतै ऊ आएकी होली कि नहोली भन्ने जिज्ञासा बोकेरै आएको थिएँ । चुपचाप कफी पिइरहेको मलाई हेर्दै उसले फेरि आफ्ना औँला रोकेर बोली, “मैले तिमीलाई हिजोअस्ति पनि हेरेँ तर देखिनँ । तिमी आएनौ कि गइसकेका थियौ ?”
उसको पछिल्लो कुराले मन त्यसै फुर्किएजस्तो भयो । उसले मेरो चासो राखेको कुरा महत्वपूर्ण हो जस्तो लागेको होला । भनेँ, “हो, यी तीन दिन म आउँदै आइनँ ।”
उसले संवादलाई निरन्तरता दिँदै भनी, “म त प्रायः सधैँ यस्तै बेलामा आउँछु । एक–दुई घन्टा बस्छु । केही लेख्छु । कफी पिउँछु र जान्छु ।”
एकछिन रोकिई । बोली पनि एउटा लत नै हो । पिउन थालेपछि ठीक समयमा तलतल लागिहाल्छ ।
सोधेँ, “तिम्रो बसाइ यतै नजिकै हो ?”
भनी, “हो । म यहीँ पर एन्टिक एभिन्युमा बस्छु ।”
“म डाकोटा ड्राइभमा छु,” फेरि उसको सजिलोका लागि थपिदिएँ, “मेरो एक छोरो र श्रीमती छन् । छोरा सानै छ, पढ्दै छ । श्रीमती काममा जान्छिन् ।”
सोचेको थिएँ, उसले पनि आफ्नो परिवारबारे भन्ली तर मेरो कुरालाई खासै महत्व नदिएझैँ आफ्नै काममा लागिरही । निकैबेरसम्म उसले मेरो कुरालाई महत्व नदिएजस्तो बुझेपछि मनमनै आफैँसँग लाजजस्तो लागेर आयो । अरुले कुनै चासै नराखेको कुरा फररर भन्नुको के अर्थ † आखिर उसले मेरो परिवारबारे केही सोधेकी पनि त थिइन ।
मनमनै सोचेँ, भोलिदेखि म पनि ल्यापटप लिएर आउँछु र यसले केही सोधी भने म पनि कुनै वास्ता गर्दिनँ । यस्तै सोच्दै गर्दा उसले चलिरहेका औँला नरोकी, टाउको पनि नउठाई सोधी, “तिमीचाहिँ के गर्छौ ?”
आरामले एक घुड्की कफी निलेर बिस्तारै बोलेँ, “म त केही गर्दिनँ । दिनभरि घरैमा बस्छु । कहिलेकाहीँ यी यसरी कफीसपतिर आउँछु ।”
मेरो उत्तरले अचम्मै लागेजस्तो गरी मतिर हेर्दै बोली, “तिमी किन काम गर्दैनौ ? तिमी त्यति बुढो पनि देखिँदैनौ । तिम्रो शरीरमा कुनै समस्या छ र ?”
अमेरिकामा काम गर्दिन भन्नु निकै ननिको कुरो हो । तर, म यस्तो कुरा सजिलैसँग अरुतिर पनि भनिदिन्छु । त्यसपछि उनीहरुको मप्रतिको आकर्षण बिस्तारै घट्दै गएको पनि अनुभव गर्छु । तर, ती कुराले मलाई खासै असर गर्दैनन् । किनभने काम गर्ने, नगर्ने मेरो आफ्नो स्वतन्त्रता हो । सायद मेरो त्यस कुराले क्रिसियालाई अझै चित्त बुझेको रहेनछ । उसले निकैबेरपछि फेरि सोधी, “अनि कसरी तिम्रो जीविका चल्छ त ? खर्च केले पु¥याउँछौ ?”
मैले फेरि चित्तबुझ्दो नलाग्ने उत्तर दिएँ, “म रिटायर्ड हुने उमेरको बूढो त हैन तर म काम गर्दिनँ ।”
मेरो उत्तरले उसको अनुहारमा असन्तुष्टिका रेखा कोरिएको प्रष्ट देखियो । अनुहार नउठाई लगातार आफ्ना औँला झन् छिटोछिटो चलाउन थाली । भनेँ, “सबै खर्च श्रीमतीको कमाइबाट चलेको छ ।”
लाग्यो, अब त यो पक्कै पनि मसँग बोल्दिन होला । पत्नीको कमाइमा पालिने अल्छी लोग्नेमान्छेलाई कसले भलो भन्छ र ? निकैबेरसम्म पनि उसले टाउको नउठाएपछि र नबोलेपछि एकपल्ट घाँटी साफ गर्दै भनेँ, “खासमा म एउटा लेखक हुँ, पूर्णकालीन लेखक ।”
मेरो पछिल्लो कुराले उसका चलिरहेका औँला एकछिन अडिए । यसपल्ट उनको अनुहारले फेरि अर्कै रुप फेर्ने दुःख पाएको थियो । अनुहारसँगै उसका आँखा पनि मेरा अनुहारमा नाचेजस्ता भए । केही वर्षअघि रिनेक्लिफबाट फर्किंदा रेलमा भेटिएकी लाउराले अचम्म मानेझैँ गरी उसले पनि । भनी, “अनि अघि नै किन नभनेको त तिमीले ? के लेख्ने काम हैन र ? त्यो त झन् ठूलो काम हो । त्यस्तो काम जोसुकैले कहाँ गर्न सक्छ ?”
“मेरो देशमा लेख्ने कामलाई कसैले काम मान्दैनन् । त्यहाँ त सरकारी जागिर खानु, खेतबारीमा काम गर्नु वा व्यापार आदि गर्नुलाई मात्र काम मान्छन्,” मेरो कुराले उसलाई गम्भीर बनाएजस्तो देखियो । भनी, “तर, लेखक हुन सक्नु सानो कुरा होइन । तिमीसँग परिचय गर्न पाएर मलाई धेरै खुसी लाग्यो । के विषयमा लेख्छौ तिमी ?”
मैले भनेँ, “म त साहित्य लेख्छु । कथा, उपन्यास, निबन्ध । कहिलेकाहीँ कविता पनि ।”
“कुन भाषामा छन् तिम्रा किताब ?”
“नेपालीमा ।”
“मैले कसरी पढ्न सक्छु र नेपाली ?” अलिक निराशजस्तो देखियो अनुहार ।
भनेँ, “मेरो एउटा उपन्यास यदि तिमीले चाह्यौ भने अङ्ग्रेजीमा पनि पढ्न सक्छ्यौ अमेजनबाट ।”
फेरि उज्यालियो उसको अनुहार, “के नामको किताब छ ?”
मैले आफ्नो बिजिनेस कार्ड नै निकालेर दिएँ । त्यसमा मेरो सामान्य बायोडाटा र किताबको विवरण पढेर निकै खुसी देखिई । सायद अब उसलाई पूर्ण विश्वास भएको थियो होला ।
फारु गर्दै पिउँदा पनि कफी रित्तिसकेको थियो । उसको पो काम थियो । मेरो के काम † बिदा मागेर हिँडेँ ।
०००
भर्जिनियामा एकाएक चिसो बढेको थियो । केही दिनदेखि माथि न्युयोर्क र बोस्टर्नतिर हिउँ पर्न लागेको थियो । यता त हिउँ परिहाल्ने बेला भएको हैन तर अमेरिकाको मौसमको खासै अनुमानै गर्न सकिँदैन । हिजो चिरिक्क हुने गरी घाम लागेको छ भने भोलि दाह्रा किट्नुपर्ने चिसो आउँछ । चिसो सिरेटोकै कारण म केही दिन कफीसपतिर निस्किन सकिनँ । मनमा भने बारम्बार क्रिसियाको सम्झना आइरहेको थियो । ऊ त्यहाँ फेरि आई कि आइन होला ? उसले किताब किनेर पढी कि पढिन होला ? मैले उसको फोन नम्बर नलिएको भए पनि मेरो कार्डमा त फोन नम्बर थियो । उसले चाहेकी भए अवश्य गर्न सक्थी । अर्को मनले भन्थ्यो– त्यस्ता हजारौँ मानिससँग भेट र परिचय भइरहन्छ । बिनासरोकारका मानिससँग निरन्तर सम्बन्ध बनाइराख्नुको के काम हुन्छ र ! मजस्ता कति मानिस उसले त्यो कफीसपमा चिनेकी होली । के साध्य हुन्छ तिनलाई सम्झेर ।
अर्को मनले भन्यो– मैले पनि त उसको फोन नम्बर मागेको भए हुने । तर, मैले मागे पनि उसले दिने पनि थिई कि थिइन ? फेरि लौ उसले मलाई आफ्नो फोन नम्बर दिएकै भए पनि मैले ऊसँग फोनमा के नै कुरा गर्थें होला र † उहिले केटाकेटीमा प्रेम पर्ने–पर्ने बेलाको जस्तो झल्को पनि आउन खोज्थ्यो । अनि आफैँ हाँसेँ मनमनै ।
मानिस व्यक्तिगत रुपमा सधैँ अराजक हुँदोरहेछ । उसलाई बाँधेको हुँदोरहेछ सामाजिक, पारिवारिक र राज्यको कानुनले । नैतिकता भन्नु पनि देखाइने चारित्रिक अनुहार मात्रै रहेछ । आफू एक्लैमा त मानिस अमिवाजस्तो निराकार भावनाले बनिएको हुँदो रहेछ, जतै पनि जति बेला पनि तन्किन वा खुम्चिन सक्ने ।
पहिलेकै समय पारेर निस्केँ निकै दिनपछि । पेटी पेटी बिस्तारै हिँडेर जाँदै गर्दा मनमा अनेक स्मृति आइरहेका थिए । क्रिसियालाई सम्झँदै गर्दा लाउराको पनि सम्झना आइरहेको थियो, दीपमालाको पनि । आना र एलिसालाई पनि घुर्मैलो सम्झिरहेको थिएँ ।
ढोकैबाट पहिला कुनोतिर हेरेँ । त्यहाँ क्रिसिया थिइन । अर्कै कुनै मानिस बसिरहेको थियो । उतापट्टिको कुर्सीमा पनि एउटी बुढी महिला मोबाइलमा कसैसँग मस्किरहेकी थिइन् । तुरुन्तै एकपल्ट चारैतिर आँखा घुमाएँ । कतै पनि देखिइन क्रिसिया । त्यहाँसम्म आइपुग्दाको जाँगर फर्किनका लागि पनि मरिसकेको थियो । अल्छी मान्दै लस्करमा उभिएँ र कफीको कप समातेर अर्कै पट्टिको कुनोमा गएर बसेँ । त्यहाँ पनि एउटा खाली कुर्सी थियो । भित्र मनमा त्यो खाली नै रहोस र फुत्तै क्रिसिया आइपुगोस् भन्ने लागिरहेको थियो । तर, मेरो इच्छाको हत्या हुन उति धेरै बेर नै लागेन । एउटा निकै मोटो अफ्रिकन मूलको मानिस फोनमा ठूलठूलो स्वरले बोल्दै आएर बस्यो । बस्नुअघि मलाई टाउकोले ‘हाई’ गर्दै बस्ने स्वीकृति माग्यो । मैले अनिच्छापूर्वक नै ‘वेलकम’ गरेँ ।
सधैँभन्दा बढी नै बसेँ आज तर उसको आउने समय र सम्भावना टरिसकेको थियो । सम्पूर्ण अपरिचितहरुका बीचमा म एक्लै त्यतिञ्जेल किन बसेछु होला ? भरे सम्झेँ ।
तीन दिनसम्म त्यता जाने जाँगर नै चलेन । त्यो जाँगर नचल्नुका केही कारण थिए । जस्तै ः म बेकारमा कुनै महिलातिर आकर्षित हुँदै थिएँ, जुन बेमौसमी थियो । म अनावश्यक रुपमा कफीको लती हुँदै जाँदै थिएँ, जो स्वास्थ्यका लागि पनि अनुकूल थिएन । घरमा बसेर लेख्ने, पढ्ने समयलाई म बित्थामा नष्ट गरिरहेको थिएँ आदि । अनि सोच्न थालेको थिएँ– कफी त घरमै बनाएर पनि त खान सकिन्छ नि ।
०००
मोबाइल खोलेर फेसबुक हेर्दै गर्दा फोनको घन्टी बज्यो । नचिनेको नम्बर । विज्ञापनका अनेक फोनले दिक्क लगाइरहन्थे । पूरा घन्टी बजेर फोन काटियो । एकछिनपछि फेरि त्यही नम्बरबाट आयो । उठाएर ‘हेलो’ भनेँ । चिनेजस्तै महिलाको आवाज थियो । चिन्न छिनै लागेन । बोल्ने क्रिसिया थिई ।
“तिमी हर्नडनमै छौ त ? किन नआएको अचेल ?”
“म आएको थिएँ एक–दुई पल्ट तर तिमीसँग भेट हुन सकेन ।”
“म यहाँ नै थिइनँ नि त ।”
“कता गएकी थियौ ?”
“म त्यस्तै जरुरी कामले आउट अफ स्टेट थिएँ । आउँछौ आज ?”
“तिमी आइसक्यौ ?”
“छैन । तिमी आउँछौ भने म पनि आउँछु । तिमीसँग केही कुरा पनि गर्नु छ ।”
“हुन्छ नि त । त्यहीँ भेटौँ ।”
उत्साहितजस्तै भयो मन र तन । अस्ति उसमाथि उठेको वितृष्णा कपूरझैँ बिलाएर गयो । न्याना लुगा लगाएँ र निस्केँ । आज मेरा पाइला सधैँका भन्दा अलिक हतारिएजस्ता थिए । बाटोभरि मैले एलिनालाई सम्झिरहेँ । उसले पनि केही वर्षअघि यस्तै छोटो परिचयमा गहिरो मित्रता गाँसेकी थिई । उसको प्रेमको कथाको टुङ्ग्याउनी बडा पीडादायी थियो । चार वर्षको गहिरो सम्बन्धलाई उसको केटाले एकाएक तोडेको थियो सानो कारणले । त्यो पनि उसले मागेको पैसा दिन नसकेपछि । उसले भनेकी थिई, “केटाहरु सुरुमा खुब खर्च गरेजस्तो गर्छन्, आफ्नो गहिरो मायामा पार्छन् अनि बिस्तारै केटीहरुबाट फकाउँदै पैसा असुल्न थाल्छन् ।”
उसको कथाले भावुक भएको मलाई एक दिन खुबै माया दर्शाउँदै भनी, “म सिङ्गल मदर हुँ । मलाई तिमीजस्तो कुरा बुझ्ने पुरुष मन पर्छ ।” उसलाई मन पर्नु राम्रै कुरा थियो तर म उसको पुरुष बन्ने कुनै सम्भावनाभित्रै थिइनँ । त्यसको भोलिपल्टदेखि मैले एलिनाको फोन कहिल्यै उठाइनँ ।
म पुग्दा क्रिसियाले मेरा लागि पनि कफी लिएर पर्खिरहेकी रहिछे । म पुगेपछि उभिएर हात मिलाई ।
“आज मेरा तर्फबाट तिमीलाई कफीको निमन्त्रणा ।”
सजिलो गरेर बसेपछि केहीबेर मेरो अनुहारमा हेरिरहेर भनी, “वास्तवमा तिमी राम्रो लेखक रहेछौ । मलाई खुब मन पर्यो तिम्रो किताब । कुरा हाम्रोतिर नमिल्ने भए पनि कथा खुब राम्रो लाग्यो । खासमा तिम्रो प्रेमसम्बन्धी धारणा खुब मन पर्यो ।”
“एउटा लेखकलाई यो भन्दा बढी के चाहिन्छ र ! धन्यवाद !”
“वास्तवमा तिमी राम्रो लेखक रहेछौ । तिम्रा अरु पनि किताब पढ्न मलाई मन छ तर के गर्नु ?”
त्यसको उत्तर मसँग थिएन । एकपल्ट कफी सुरुप्प पारेर भनी, “तिम्रो किताब पढिसकेपछि तिमीलाई केही कुरा भन्न मन लागेको छ ।”
मैले ऊतिर कान मात्र थापिरहेँ । केही बोलिनँ । मौनता जति बढ्दै जान्थ्यो, त्यति नै कफीको मात्रा घट्दै । मौनता उसैले तोड्ली भन्ने लामो प्रतीक्षामा थिएँ म । त्यसका अनुहारमा छिनछिनमा फेरिइरहने रङले उसको मनभित्रको चर्काचर्कीको सङ्केत गथ्र्यो । निकै बेरपछि मौनतालाई तोड्दै बोली, “अस्ति म कहाँ गएकी थिएँ, सोध्दैनौ ?”
“तिम्रो निजी कुरामा मैले कसरी प्रश्न गर्नु ?” मैले असजिलो मान्दै भनेँ ।
हुन त हो । यति भनेर फेरि लामो मौनताको बाटो समाई । कफी सेलाउँदै र घट्दै गइरहेको थियो ।
म उसैलाई पर्खिरहेँ निकै बेर ।
केही गाह्रो÷अप्ठ्यारो मानेझैँ निकै बेरपछि बोली, “किन हो, मलाई तिमीसँग मनका कुरा गर्नु हुन्छ जस्तो लाग्न थालेको छ । तिमीलाई खै कसरी हो, भरपर्दो साथीजस्तो लागेको छ । मित्रता विश्वासपूर्ण हुन सकेमा निजी कुराहरु पनि साझा समस्या वा उपलब्धि हुन पुग्छन् । छोटै समयमा पनि मैले तिमीमा भरपर्दा केही गुण देखेँ ।”
ऊ एकोहोरो कतै टोलाएझैँ गरेर बोलिरहेकी थिई ।
“तिम्रा कुरा सुन्नमा मलाई खुसी लाग्ने छ । मैले गर्न हुने केही सहयोग भए अवश्य गर्ने छु ।”
उसको अनुहार झलक्क उज्यालियो र फेरि अँध्यारियो ।
कफी सकिएको थियो । भनेँ, “अब एकपल्ट कफी थपौँ है ।” उसले स्वीकृतिमा टाउको हल्लाई । मैले दुई कप कफी लिएर आएँ ।
उसले भन्न चाहेको कुरा सुन्न मन हतारिइरहेको पनि थियो । पहिलेकै ठाउँमा बस्दै भनेँ, “तिमी केही कुरा भन्न खोज्दै थियौ । त्यसलाई पूरा गर्न मिल्दैन ?”
“स्योर । किन नमिल्नु † तर, तिमीसँग मेरो कुरा सुन्ने समय छ त ?”
“पक्का । म आज तिम्रा कुरा सुनिसकेर मात्र जानेछु ।”
ऊ खुसीजस्ती देखिई । थपेँ, “ठीक छ । मलाई तिमीले मन खोलेर भन । म तिमीले चाहेजस्तै श्रोता बन्न सक्ने सामथ्र्य राख्ने छु ।”
‘एकछिन पर्ख है’ भन्दै उठेर बाहिर निस्की । पार्किङमा रहेको गाडीको ढोका खोली । हातमा एउटा मोटै खाता बोकेर भित्र पसी । तर, अहिले फर्किएर आउँदा उसको अनुहारमा अघिको जस्तो ऊर्जाशील उत्साह थिएन । ऊ त एकदमै निभेकी जस्ती थिई । थाकेजस्तै भएर कुर्सी मेरो नजिकै सारेर बस्दै खाता पल्टाउन थाली ।
“यी मेरा अक्षर हुन् । तिमीलाई कस्ता लाग्छन् ?” ऊ लगातार बोल्दै गई, “मलाई पनि खुब लेख्न मन लाग्छ तर निरन्तर लेख्ने धैर्य छैन । केही दिन जोसिएर लेख्न थाल्छु अनि कहिलेदेखि लेख्न छोड्छु, थाहै हुँदैन ।” फेरि मतिर फर्केर मुस्कुराउँदै भनी, “तिमीजस्तो लेखकले भेटे मेरो जीवनको पनि अनौठो कथा बनाउन सक्छौ ।”
“हरेक मान्छेको जीवन सुन्दर कथा नै हो लेख्न सके ।”
“सुन्दर हैन, कुरुप हो,” उसले सच्याई ।
उसले एकएक गर्दै खाताका पाना पल्टाउँदै भनी, “हुन त यी सबै कुरा ल्यापटपमा पनि लेख्न सकिन्थ्यो तर किनकिन मलाई हातैले लेखेको कुरा मात्र आफ्नै हो जस्तो लाग्छ । ती अक्षरमा आफू छु जस्तो लाग्छ । बालककालदेखि सबैभन्दा बढी चिनेको भनेको पनि आफ्नै अक्षर त हो ।”
कस्तो मीठो कुरा गरी उसले । वास्तविक भए पनि याद नगरिएको कुरा गरेकी थिई । मलाई आफ्ना अक्षर अरुका जस्ता राम्रा छैनन् जस्तो लागिरहन्थ्यो तर वास्तवमा ती अक्षर त आफ्नै अनुहार पो रहेछन् ।
अनि अलिक खुलेर मैले सोधेँ, “लौ भन अब । तिमी अस्ति कहाँ गएकी थियौ ?”
उसले एकछिन मेरो मुखमा हेरिरही । उसको अनुहारमा केहीबेर पहिले देखिएको उत्साह थिएन । निराशाका रेखाहरु सलबलाउन थाले । रुने पो हो कि जस्ती पनि देखिई । केही गम्भीर कुरा भन्न लागी भन्ने सोच्दासोच्दै एकाएक जुरुक्क उठी र झोला बोकी ।
“माफ गर लेखक । यो कुरा बिस्तारपूर्वक भन्न मलाई केही समय देऊ । आज हामी छुटौँ । कुनै अर्को दिन पक्कै पनि बिस्तारपूर्वक बताउने छु ।”
म अलमल्ल भएर ऊ गएको हेरिरहेँ ।
०००
लगातार तीन–चार दिनसम्म मैले आफूलाई कफीसपको नियमित समयको ग्राहक बनाइरहेँ । तर, ऊ आउँदै आइन । उसको फोन पनि आएन । अचम्मकी पात्रसँग भेट भएको अनुभव भइरहेको थियो मलाई । केही कथा– उपन्यासमा यस्ता अनौठा चरित्रहरु पढेको स्मरण पनि हुन थालेको थियो ।
बीचमा नेपाल गएँ । लेखिसकेको उपन्यास ‘तल्लो बाटो’ प्रकाशित गरेँ । पाँच महिनाजति बसेर फर्केको धेरै भएको थिएन । एक दिन बिहानै मञ्जुजीले दिउँसो कोस्कोमा गएर आवश्यक सामान ल्याउने कामको जिम्मा दिनुभएको थियो । केही उहाँका विशेष वस्तु पनि किन्नु थियो । उहाँले लामै लिस्ट राखिदिनुभएको थियो हातमा । सामान भेला गर्दागर्दै ट्रली भरिन लागेको थियो । अन्त्यमा मञ्जुजीको लिस्टको सामान खोज्दै स्याम्पु र साबुनको लबीतिर पुगेको थिएँ । भनेकै ब्रान्ड खोज्न र भेट्न पनि कहाँ सजिलो थियो र †
यस्तैमा कसैले छेउबाट ‘एक्सक्युज मी’ भनेको सुनेँ । फर्केर हेरेँ । मेरो अगाडि क्रिसिया मुस्कुराएर उभिएकी थिई । ‘हाई कृष्ण’ भन्दै अँगालो फैलाई । पहिलोपल्ट हग गरिरहेको थिएँ म ऊसँग । ऊ निकै उत्साहित र खुसी भएकी थिई । उसले पनि आधाजति भरिएको ट्रली छेउमा उभ्याएकी थिई । ऊबाट छुट्टिएर म फेरि सामान खोज्न लागेँ । उसले सोधी, “के खाजिरहेका छौ ?” मैले उसलाई लिस्ट देखाएँ । मेरा हातबाट लिस्ट लिएर हाँस्दै भनी, “के म खाजिदिन सक्छु ?”
“पक्का पनि । मैले धेरै बेरदेखि भेटिरहेको छैन ।”
“लेडिज सामान तिमी पुरुषहरुले हत्तपत्त कहाँ भेट्छौ र †”
उसले एकैछिनमा फटाफट सामान निकालेर मेरो ट्रलीमा हालिदिई । दुवै आआफ्ना ट्रली ठेल्दै लाइनमा बस्यौँ, पैसा तिर्ने पालो कुर्दै । आज पनि ऊ पहिलेकै जस्तो मसँग केही कुरा भन्न उत्ताउलीजस्ती भएकी थिई । के–के भनौँला जस्तो गर्थी तर मलाई उसको त्यो उत्तेजनामा आउने बानी थाहा भएकाले खासै जिज्ञासु बनिरहेको थिइनँ ।
पैसा तिरेर केही अगाडि बढेपछि मतिर फर्केर मुस्कुराउँदै बोली, “के आज मसँग बसेर कफी खाने मन छैन ? तिमी मसँग रिसाएका पो छौ कि ?”
मैले पनि हाँसेर भनेँ, “तिमीजस्ती साथीसँग यतिपछि भेट हुँदा पनि के मलाई त्यस्तो मन नहुँदो हो त ?”
अनि हामी एक किनारमा ट्रलीलाई पार्क गरेर कफीसपको अघि उभिन पुग्यौँ । उसैले दुई कप कफीको पैसा तिरी । नजिकैको टेबल कुर्सीमा आफूलाई बिसाउँदै मैले नै सोधेँ, “तिमीले त्यो दिन अधूरै कुरा छाडेर फेरि कहिल्यै नफर्किने गरी मलाई किन झुक्याएकी ? म कत्ति दिनसम्म तिमीलाई भेट्न भनी त्यहाँ गइरहेँ ।”
केही गम्भीर जस्ती भएर पनि आज ऊ पहिलेजस्ती थिइन । भनी, “मलाई त लागेको थियो, तिमी पक्कै पनि त्यहाँ गयौ होला । तर, खै किन हो त्यसपछि मलाई तिमीसँग भेट्न मनै लागेन ।”
उसका कुराले म एकछिन अल्मलिएँ ।
भनी, “तर, आज म तिमीलाई त्यो दिनजस्तो आधामै छोडेर हिँड्दिनँ ।”
आजको भेट निकै नै सहज प्रकारको थियो । लामो समयपछि भेटिएका पुराना साथी थियौँ हामी । त्यस्तो अनावश्यक सङ्कोच पनि थिएन अब ।
उसले भनी, “वास्तवमा म त्यो दिन तिमीलाई निकै कुरा भन्ने मुडमा थिएँ तर पछि खै के भो, मुखमा आइसकेका कुरा गलामै अड्किए । त्यहाँ बसिरहेमा मैले त्यस्ता कतिपय अनावश्यक कुरा पनि भन्न सकुँला भन्ने आफैँसँग डर लागेर उठेकी थिएँ ।”
आज पनि म इमानी श्रोताकै भूमिका निर्वाह गरिरहेको थिएँ । ऊ मेरा आँखामा एकछिन राम्रै गरी अडिएर आफ्नो कथामा अघि बढ्न थाली ।
“वास्तवमा म त्यस बेला निकै भावुक अवस्थामा थिएँ । मेरो जीवनको निकै महत्वपूर्ण अध्यायको अन्त्य भएको बेला थियो । मलाई गहिरो सहानुभूतिको खाँचो त थियो तर त्यो खाँचो पूरा गर्ने तिमी हुन सक्दैनौँ भन्ने दिमागमा झिलिक्क बल्नासाथ म त्यहाँबाट उठेर हिँडेकी थिएँ ।”
एकछिन अडिएर बोली, “जीवनमा प्रायः सबै कुरा रहर र आवश्यकताले सुरु हुन्छन् । तिनको सुरुवात जीवनको सबैभन्दा सुन्दर क्षण बन्छ तर बिस्तारै त्यही क्षण अँध्यारिँदै जान्छ र एक दिन तेल सकिएझैँ निभ्छ । मेरो जीवनमा पनि त्यस बेला त्यस्तै भएको थियो । त्यस बेला तिम्रो किताबले मलाई निकै ऊर्जा त दिएको थियो तर पनि म जुन तनावमा थिएँ, त्यसबाट पाखा निकाल्न त्यो पर्याप्त थिएन ।”
“के थियो त त्यस्तो कुरा, जुन मैले त्यस बेला सुन्न नमिल्ने थियो ?”
“तिमीले सुन्नै नमिल्ने त थिएन तर त्यसलाई म सजिलरी भन्न नसक्ने अवस्थामा पुगेँ र एकाएक उठेर हिँडिहालेँ । त्यसपछि मलाई लाग्यो, अब मैले तिमीसँग भेट्नु आवश्यक छैन । र, मैले कफीसप नै फेरेँ, जहाँ तिमी पुग्दैनथ्यौ ।”
उसको कुराले म झन् अन्योलमा परेँ ।
ऊ भन्दै थिई,
“झन्डै सात वर्षको गृहस्थीपछि मेरो पति र म अलग भएका थियौँ । त्यस्तो साह्रै ठूलो कारण पनि थिएन हामीबीच छुट्टिनुपर्ने । दुवैका केही विशेष अहम् थिए । डिभोर्स पेपरमा सही गर्ने अन्तिम बेलामा पनि मैले उसलाई अझै सोच भनेर सम्झाएकी थिएँ । तर, उसले मानेन । डिभोर्सपछि छोरी मसँगै बस्ने भई ।
ऊ हप्तैपिच्छे छोरीलाई लान्थ्यो । बाटोमा भेट हुन्थ्यो, सपिङमा भेट हुन्थ्यो । कहिलेकाहीँ छोरीका बारेमा जानकारी लिन फोन पनि गथ्र्यो । मलाई उसको माया लागिरहेको थियो भित्रभित्रै । ऊ त्यति खराब पनि थिएन । तर, किन उसले त्यसरी मसँग छुट्टिने निर्णय ग¥यो, त्यो चाहिँ मैले कहिल्यै बुझिनँ । मैले सोचेकी थिएँ, उसको कुनै गर्लपे्रmन्ड होली तर पछि त्यो पनि सावित भएन । लामो समयसम्म एक्लै बसेपछि एक दिन मैले नै फोन गरेर उसलाई भनेँ, ‘अझसम्म तिमी किन एक्लै बसेको ? किन बिहे गर्दैनौ ?’
उसले मेरो कुरालाई हाँसेरै उडायो त्यो दिन । ऊ हाँसे पनि मैले मनैदेखि भनेकी थिएँ । डिभोर्स नै गरिसकेपछि अब उसलाई केले छेकेको थियो र बिहे गर्नलाई !
जब जब उसको फोन आउँथ्यो, अन्त्यतिर म उसलाई बिहे गर्ने सल्लाह दिन्थेँ । धेरै पल्ट हाँसेर टार्ने उसले एक दिन भन्यो, ‘सल्लाहका निम्ति तिमीलाई धन्यवाद छ तर तिमी सिङ्गल हुँदाहुँदै म कसरी अर्को बिहे गर्न सक्छु ? मैले बिहे गर्नुपर्छ भने पहिले तिमी बिहे गर ।’ मैले भनेँ, ‘म किन गर्नु ? मसँग छोरी छे । मैले उसको स्याहार गर्नु छ । हुर्काउनु छ । उसै पनि मैले तिमीजस्तो वा तिमीभन्दा असल अर्को साथी पाउँला भन्ने के आधार छ र ? मैले तिमीलाई छोडेको थिइनँ । तिमीले नै छोडेको हो । म किन बिहे गर्नु ?’ त्यो दिन उसले त्यत्तिकै फोन राखिदियो ।
यसै गरी हाम्रा धेरै वर्ष बिते । हामी एकअर्काको बिहेका दिन पर्खेरै बसिरह्यौँ । छोरीले बाबुको खबर ल्याउँथी । मेरा पनि लान्थी होला । हुर्किंदै गरेकी छोरीले एक दिन भनी, ‘ममी, तपाईंहरु दुवै किन रिम्यारिज गर्नुहुन्न ? बाबा पनि तपाईंको धेरै माया गर्नुहुन्छ । तपाईं पनि बाबाको उत्तिकै माया गर्नुहुन्छ ।’
पहिलोपल्ट छोरीको कुराले म झसङ्ग भएँ । कतै ऊ मसँग फेरि बिहे गर्न त चाहिरहेको हैन ? तर, त्यस्तो जीवनमा त म अब कसरी फर्किन सक्छु र ? अब त ऊ अरुजस्तै परपुरुष हो मेरा लागि । ऊ मेरी छोरीको बाबु भए पनि अब ऊ मेरो पति हुन सक्दैन । यदि मैले ऊसँग बिहे नै गरे पनि ऊ मेरो दोस्रो पति बन्दा मेरी छोरीको पनि दोस्रो बाबु नै बन्ने छ ।
मैले छोरीको कुरालाई धेरै दिनसम्म दिमागमा घुमाइरहेँ । मेरा तनावका कारण तिनै थिए । त्यसले मलाई माइग्रेनको उपहार पनि प्रदान ग¥यो । छोरी हुर्की । उसले आफ्नो पढाइ पूरा गरी । मन परेको केटोसँग बिहे गरी । राम्रो कमाइ गर्छे । हामी दुवैलाई उत्तिकै माया गर्थी । छोरीको बिहेपछि पनि उसले मसँगको फोन सम्पर्क कायम नै राख्यो । मेरो स्वास्थ्यको निकै ख्याल गथ्र्यो । पैसा चाहिए दिन्छु पनि भन्थ्यो । कहिले उसको फोन मन पथ्र्यो, कहिले दिक्क लाग्थ्यो । कुरा लम्बेतान हुन्थे । फोनमा पछि पनि उसले धेरैपल्ट मलाई विवाह गर्ने सल्लाह दिइरह्यो । म भन्थेँ, ‘मैले बिहे गर्नै परे पनि पहिले तिमी गर, त्यसपछि म विचार गरौँला ।’ यस्तै जुहारीमा बिते झन्डै १० वर्ष ।”
बोल्दाबोल्दै रोकिई र एक लामो घुड्की कफी निली । अब उसका आँखा केही रसिला भएका थिए ।
“तिमीसँग भेटेको केही दिनपछि म बाहिर गएकी थिएँ । त्यो मेरो पीडादायी यात्रा थियो । तिमीबाट छुटेर घर नपुग्दै बाटैमा छोरीको फोन आएको थियो । ऊ उताबाट रुँदै बोल्दै थिई । मैले हतार हतार गाडीलाई वाल्स फार्गोको पार्किङमा लगेर रोकेँ । ऊ उताबाट रुँदै बोलिरहेकी थिई, ‘ममी, बाबाको सडक दुर्घटनामा मृत्यु भएको खबर छ । म त जान लागेकी । तपार्इं के गर्ने ?’ त्यो समाचार मेरा लागि साह्रै पीडापूर्ण थियो । म जानुपर्ने कुनै कारण थिएन । तर, ऊ मैले माया गरिरहेको मान्छे पनि थियो ।
मैले मन थामेर भनेँ, ‘तँ जा नानी । म जान्नँ ।’ र, फोन काटिदिएँ ।
उसको अन्त्येष्टि सकियो । छोरी आएर धेरै रोई मसँग । उसले उसको बाबुको अन्त्येष्टिमा नगएकोमा मसँग नराम्रो गरी चित्त दुखाई । मैले उसलाई फकाउन कुनै शब्द प्रयोग गरिनँ । छोरीले बाबुको मृत्युपछिका सबै कुरा भनी र बाबुको चिहान कहाँ राखिएको छ पनि भनी । छोरी मसँगबाट छुट्टिएर गएको भोलिपल्ट म उसको बाबुलाई चिहानमा भेट्न गएकी थिएँ । चिहान खोज्न पनि धेरै बेर लाग्यो । थुप्रै आला चिहानहरुकै माझमा एउटा ढुङ्गोमा उसको छोटो परिचय पनि कुँदिएको थियो । एक गुच्छा फूल लिएर गएकी थिएँ, चढाइदिएँ । धेरै रोएँ चिहानकै छेउमा बसेर । भनेकी थिई छोरीले, ‘बाबाकै चिहानको छेउमा तपाईंका निम्ति पनि जमिन किनेकी छु ।’
निकै बेरसम्म हेरिरहेँ मैले त्यो खाली जमिनलाई, जहाँ कुनै दिन मैले आएर सुत्नुपर्ने छ । जीवनमा सँगै बाँच्न नपाए पनि मरेपछि एकै ठाउँ पार्ने भइछ छोरीले ।
आँखाबाट झरिरहेका आँसु सँगै बगिरहेका थिए, आफूभित्रका सबै अहम् र घमण्डहरु । हार्न मन नलाग्ने अडानहरु ।
त्यहाँबाट फर्किंदा म रित्तिएकी थिएँ । अब म साँच्चै सबै गुमाएकी जस्ती भएकी थिएँ । ऊ मेरो जीवनबाट सधैँका लागि निस्केर गएको थियो । उसले छोरीमार्फत पठाएका प्रस्तावलाई पनि मैले कहिल्यै महत्व दिइनँ । मेरो जीवनबाट निस्किएर गएको पुरुषलाई मैले कहिल्यै फर्केर हेरिनँ । तैपनि ऊ सधैँ मसँगै थियो । रिसाउनु पर्दा, घुक्र्याउनु पर्दा । शत्रु सम्झनु पर्दा, कसैसँग आफ्नो जीवनको वियोग कथा गाउनु पर्दा । मैले जीवनमा जति सङ्घर्ष गरेँ, सबै उसैलाई देखाउनका लागि गरेँ । मेरो प्रगतिको पछिल्तिर ऊसँगको बदला भावना थियो । ऊ थियो । त्यसैले ममा ठूलठूलो जोस र जाँगर थियो । उसलाई हराउनका लागि मैले सधैँ जितिरहनु परेको थियो । ऊ एक किसिमको ऊर्जा थियो मेरो । तर जब ऊ म¥यो, ऊसँगै मरेछ मभित्रको ऊर्जा पनि । महत्वाकाङ्क्षा पनि । कृष्ण, मलाई एकाएक बुढी भएको अनुभव भयो । त्यसैले त्यो दिन मैले तिमीलाई त्यत्तिकै छोडेर हिँडेकी थिएँ ।”
उसको कथाले म आफैँ पो भावुक भइसकेछु । गृहस्थी बन्ने र भत्किने कथा त जताका पनि उस्तै हुने रहेछन् । मेरो गम्भीरतालाई देखेर उसले थपी, “तर, तिमी चिन्ता नगर । अब म त्यो ट्रमाबाट बाहिर आइसकेकी छु । मैले बिहे गरेँ ।”
ऊ जुरुक्क उठी र मलाई पहिले कहिल्यै चिन्दै नचिनेझैँ आफ्नो ट्रली ठेल्दै बाहिर निस्की । म आफ्नो ट्रली समातेर उभिइरहेको थिएँ ।