उपत्यकामा संक्रमितको संख्या १ हजार ५७३ पुग्यो, यी २५ स्थान गरियो सिल

उपत्यकामा संक्रमितको संख्या १ हजार ५७३ पुग्यो, यी २५ स्थान गरियो सिल

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १५७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित काठमाडौं जिल्लामा १२७२ जना, ललितपुरमा १९० जना र भक्तपुरमा १११ जना रहेका छन् । उपत्यकामा विहीबार मात्रै १२७ जना संक्रमित थपिएका थिए ।

उपत्यकामा विभिन्न क्षेत्रमा कोरोना संक्रमित फेला परेपछि सिल गरिएका छन् । वडावडामा संक्रमित देखिएका स्थानहरू सिल गर्ने क्रम पनि जारी राखेका छन् । अहिलेसम्म २५ स्थान सिल भइसकेका छन् । महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले उपत्यकाका २५ स्थान ७ देखि १० दिनका लागि सिल गरिएको बताए ।

उनका अनुसार काठमाडौंमा ६ स्थान, भक्तपुरमा १८ स्थान र ललितपुरमा १ स्थानमा सिल गरिएको बताए । १५ दिनका लागि काठमाडौं महानगरपालिका–१४ सिल गरिएको छ । कलंकी, कुलेश्वर, बल्खुलगायत १४ वडाभित्र पर्ने सबै स्थान सिल गरिएको वडा कार्यालयले जनाएको हो। गत शुक्रबार मध्यरातिदेखि उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिएको छ । काठमाडौंको महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई शनिबारदेखि सिल गरिएको छ ।

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र पनि शनिबार ‘सिल’ गरिएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोना भाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको छ । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको थियो ।