ओली र प्रचण्डबीचको वार्ता सकियो, भयो यस्तो सहमति

ओली र प्रचण्डबीचको वार्ता सकियो, भयो यस्तो सहमति

काठमाडौं । लामो समयको मौनतापछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा जारी विवाद समाधानको लागि अध्यक्षद्धयबीच सहमतिको ड्राफ्ट तयार भएको बालुवाटार स्रोतले जानकारी दियो । 

यसअघि अध्यक्षद्धय ओली र प्रचण्डबीच दर्जन बढीपटक वार्तामा बसेर सहमतिको प्रयास गरेपनि उक्त प्रयास सफल हुन सकेको थिएन । तर नेकपाका दोस्रो तहका नेताहरुले दुई अध्यक्षबीच विवाद अन्त्यको लागि मध्यस्थकर्ताको काम गरेका थिए । विशेषगरी महासचिव विष्णु पौडल, सुवास नेम्वाङ र जनार्दन शर्माको पहलकदमीपछि नेकपामा सहमतिको खाका तयार भएको बताईएको छ । 


आज ओली र प्रचण्डबीच वार्तामा दोस्रो तहका नेताहरुले तयार गरेको खाकालाई अन्तिमरुप दिने प्रयास गरेका थिए । महाधिवेशनको मिति तोक्ने, दुई अध्यक्षले राजीनामा दिने, केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटीमा परिणत गर्नेलगायतका विषयमा ओली र प्रचण्ड सहमति नजिक पुगेका छन् । दोस्रो तहका नेताहरुले तयार गरेको सहमतिको ड्राफ्टलाई थप अध्ययन गरेर अन्तिम रुप दिनेबारे दुई अध्यक्षबीच सहमति भएको छ । 

त्यसैगरी ओलीलाई सर्वोच्च नेता बनाउने, महाधिवेशनमा प्रचण्डलाई एकल अध्यक्षको उम्मेद्वार बनाउने र निर्वाचनपछि माधव नेपाललाई प्रधानमन्त्री र झलनाथ खनाललाई राष्ट्रपतिको रुपमा अगाडि सार्नेमा पनि ओली र प्रचण्ड सहमति नजिक छन् । उनीहरुबीच भोलि थप वार्तामा बसेर बृहत सहमति गर्ने तयारी छ ।