काठमाडौं । कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएपछि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास पूर्ण रुपमा बन्द गरिएको छ । काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पनि पूर्ण रूपमा बन्द गरिएको छ।
गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो। अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन।
गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो। यससँगै काठमाडौं भित्रिने नागढुंगा नाका सुनसान भएको छ । पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउने छन्।