काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको मृत्यु हुनेक्रम निकै बढेको छ । बुधबार बिहानै थप ५ जनाको कोरोनाकै कारण निधन भएको पुष्टि भएको छ । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी १ जना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।
काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको गएराति सवा १ बजे मृत्यु भएकोमा उनको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।
ज्वरो, पखाला र वान्ताको समस्या देखिएपछि अस्पताल पुगेकि उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो। ‘अन्य अस्पतालले भर्ना नलिएपछि भौंतारिदा भौंतारिँदै पाटन अस्पताल हुँदै हामीकहाँ आउनु भएको थियो,’ पाठकले भने, ‘आईसीयुमा राखेर उपचार गर्दागर्दै उहाँको देहान्त भयो।’
उनले भने, ‘किस्ट अस्पतालले कोभिड वार्ड चलाइसकेको छैन, तर हामीले कोभिड शंकास्पद विरामीलाई पनि भर्ना लिएर उपचार गर्दै आएका छौं। रिफर गर्ने हाम्रो नीति छैन।’
बुधबार नै ललितपुरको पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया एक महिलाको मृत्यु भएको छ। त्यस्तै बुटवलका २ जना र सप्तरीका १ जना संक्रमित पनि बुधबार मृत्यु भएको पुष्टि भएको छ। यससँगे नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ ।