गोंगबु हत्याकाण्डः नग्न तस्वीर सार्वजनिक गरेपछि हत्या

गोंगबु हत्याकाण्डः नग्न तस्वीर सार्वजनिक गरेपछि हत्या

काठमाडौं । प्रहरीले गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ । काठमाडौंको गोंगबु गणेशस्थानमा बस्दै आएका दाङका कृष्णबहादुर बोहराले नक्कली फेसबुक आईडी बनाएर नग्न तस्वीर सार्वजनिक गरेपछि आवेशमा आएर हत्या गरेको अभियुक्त पौडेलले बयानमा बताएकी छन् । साथै उनले आफ्नी छोरीमाथि पनि बोहोराले आँखा लगाउने गरेको बताएकी छिन् । 

प्रहरीसँगको बयानमा पौडेलले मृतक बोहोराले नक्कली फेसबुक आईडी बनाएर नग्न तस्वीर सार्वजनिक गरेपछि शनिबार कोठामा बोलाएर दहीचिउरासँगै भोड्कामा नशालु पदार्थ मिसाइ खुवाएर हत्या गरेको बयान दिएकी छन् । नशामा लट्ठ भएपछि अण्डकोषमा प्रहार गरी बेहोस बनाएको, बेहोस भएपछि घाँटी थिचेर हत्या गरेको उनले बयान दिएकी छिन्  । 

हत्या गरिसकेपछि किचेनमा भएको धारिलो हतियारले  शव टुक्राटुक्रा पारेपछि आफैँसँग भएको झोला र सुटकेसमा शव हालेर सडकमा लगेर फालिदिएको उनको बयानमा उल्लेख छ । हत्या आफू एक्लैले गरेको र शव व्यवस्थापनमा भने  १७ वर्षीया छोरीले सहयोग गरेको उनले बयानमा भनेकी छन् ।  

हत्यापछि काठमाडौंबाट चितवन पुगेकी कल्पना कलाकार रहेको खुलेको हो । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् । 

गोंगबुको गणेशस्थान नजिकै सडक छेउ सुटकेसभित्र आइतबार शव भेटिएको थियो। उक्त सुटकेसभित्रको शवमा टाउको र खुट्टा भने छुट्टिएको थियो।

प्रहरीले कुकुर लगाएर खोजतलास गर्दा उनको अन्य अंग समेत फेला परेको थियो । शव बरामद भएपनि पहिचान खुल्न नसकेपछि प्रहरीले बोहोराको तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरेसँगै उनको पहिचान खुलेको थियो ।